ई–आर्थिक, काठमाडौं । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ ।
चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ ।
उपत्यकामा घोडेजात्रा मनाउने परम्परा मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ । पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथनसमेत रही आएको छ । हाल हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा मनाउने गरिएको छ ।
जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीको कमाण्डिङ अफिसरको नेतृत्वमा घोडाघोडीबाट कौशलपूर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ ।
यो पर्वको दिन काठमाडौं उपत्यकामा सार्वजानिक विदा दिने गरिन्छ । सोही अनुरुप काठमाडौं उपत्यकामा आज सार्वजानिक विदा दिइएको छ ।