२०८३ साउन ९ शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जेठ २ बाट नियमित उडान गर्ने

ई आर्थिक    सोमबार, फाल्गुन ९ २०७८
11.2K
Shares
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जेठ २ बाट नियमित उडान गर्ने

ई–आर्थिक, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै जेठ २ गतेदेखि नियमित उडान गर्ने तयारी थालिएको छ ।

उडानका लागि आवश्यक पर्ने अत्यावश्यकीय कार्यालय स्थापनाको काम अघि बढाइ सकिएको सो विमानस्थलले जानकारी दिएको छ । कार्यालयका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा निकाय लगायतका अत्यावश्कीय कार्यालय स्थापनाको काम अगाडि बढाइएको छ ।

विमानस्थलमा केही निकायले आफ्ना कर्मचारी खटाइसकेको र केही कर्मचारी तथा सुरक्षाकर्मीहरु आउन बाँकी रहेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिए । सबैसँग हाम्रो समन्वय भइरहेको छ । सेनाको दरबन्दी पनि भइसक्यो, नेपाल प्रहरीको दरबन्दी सिर्जना भएर आउन थालिसकेको दाहालले बताए । विमानस्थलमा चाहिने निकायहरू तयारी अवस्थामा राखिरहेको उनको भनाई छ ।

दाहालकाअनुसार ७०–८० जना प्रहरी काममा खटिसक्नु भएको छ । “एक सय जनालाई हामी व्यवस्थापन गर्न सक्छौं, विमानस्थलको सुरक्षाका लागि १७६ जनाको प्रहरी दरवन्दी सिर्जना गरिएको छ” उनले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो जेठ २ गतेदेखि नियमित उडान सुरू गरिने बताइएको छ । अत्यावश्यकीय कार्यालय स्थापनाको काम तीव्र रुपले अगाडि बढाइएको महाप्रवन्धक दाहालले बताए ।

विमानस्थल सञ्चालनका लागि अध्यागमन, भन्सार, क्वारेन्टीन, तीनवटा सुरक्षा निकाय, हुलाक, हेल्थ डेस्कलगायतका निकायका कार्यालय राख्नुपर्ने हुन्छ महाप्रबन्धक दाहालले बताए । भन्सार र अध्यागनका लागि कार्यालय भवन तयार भइसकेको र सुरक्षाकर्मी बस्न आवश्यक थप भवन बनिरहेको दाहालले जानकारी दिए ।

“विमानस्थलमा राष्ट्रिय सुरक्षा, देशको अर्थतन्त्रको विकास र मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी अध्यागमनको रहने भएकाले यसलाई व्यवस्थित बनाउने गरी तयारी भैरहेको छ” उनले भने, “यो अन्तर्राष्ट्रिय विमानस्थल आयात निर्यातसहित वैदेशिक व्यापार हुने केन्द्र समेत हो । सोहीकारण विमानस्थलमा भन्सार कार्यालय स्थापना गरी त्यससम्बन्धी काम हुनेगरेका छन् ।”

गौतमबुद्ध विमानस्थलमा पनि भन्सार कार्यालय स्थापना गर्ने निर्णय दुई वर्षअघि नै अर्थमन्त्रालयले गरेको थियो । सोहीअनुसार कार्यालय भवन निर्माण भैसकेको महाप्रवन्धक दाहालले बताए । त्यस्तै, जल तथा मौसम विज्ञान विभागको लागि उपसचिवको नेतृत्वमा १७ जनाको दरवन्दी छ । विमानस्थलका लागि आवश्यक पर्ने फ्लाईट क्याफे सञ्चालनका लागि काठमाडौंको सोल्टी होटलसँग कुराकानी भैरहेको महाप्रबन्धक दाहालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij