ई–आर्थिक, काठमाडौं । के तपाईले बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिनुभयो ? छैन भने उक्त हाइड्रोपावरमा सेयरको लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । उक्त आईपीओमा आवेदन गर्ने ढिलो अवधि असोज २५ गतेसम्म रहेको कम्पनीले जनाए पनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै आज विक्री बन्द हुन लागेको हो ।
उक्त कम्पनीमा बुधवार साँझ ५ बजेसम्म १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन दिएको विक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । जुन आवेदन माग भन्दा २७ दशमलव २९ गुणा बढी हो ।
कम्पनीले असोज ११ गतेदेखि रू। ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचाराहरुको लागि, ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् ।
आवेदकले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
साथै धितोपत्र बोर्डबाट सि(आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् भने मरो शेयर मार्फत पनि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।