यज्ञ कार्की, संखुवासभा । संखुवासभामा एकै परिवारको ६ जनाको विभत्स हत्या गरिएको छ । जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ ओम्लिङ खोलागाउँमा रहेको बौद्धिमान कार्कीको परिवारलाई विभत्स हत्या गरिएको हो ।
हत्या हुनेमा ८४ बर्षिय हजुरआमा पार्वता कार्की, ५२ बर्षका छोरा तेजकुमार कार्की, ५० बर्षिय बुहारी कमला कार्की, २५ बर्षिय नातिनी बुहारी रञ्जना कार्की, ११ बर्षिय नाति दिपेन कार्की र ७ बर्षिय नातिनी गोमा कार्की रहेका छन् ।
आइतबार राती भएको घटना भएको हुनसक्ने अनुमान लगाइएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी दर्दानाक हत्या गरिएको स्थानीयहरुले बताएका छन् । बस्ति भन्दा अलगै खोँचमा रहेको उक्त ठाउँमा घट्ना घटेको हुनाले स्थानीय समेतले थाहा नपाएको स्थानीय वडाअध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए ।
हजुरआमा पार्वता कार्कीको लास घरमै रहेको छ भने अन्यको लास घर देखि १०० मिटर आसपास यत्रतत्र छरिएर रहेको अवस्थामा रहेको छ । यसरी हेर्दा लखेटी लखेटी हत्या भएको हुनसक्ने प्रारम्भीक अनुमान लगाइएको छ । देख्दै आतेस लाग्ने सो घटना पछि पुरै गाउँ त्रसित छ ।
स्थानीय जनप्रतिनिधि तथा प्रहरीहरु घटनास्थलमा पुगिसकेको छ । तर घटनाको पूर्ण विवरण लिइसकेको छैन । आर्थिक लेनदेन वा अन्य केही कारण पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।
९ जनाको परिवारमा नाति रमेश कार्की हाल बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका बुझिएको छ ।
८८ बर्षको हजुरबा बौद्धिमान कार्की भने घरमै जिवितै भेटिएका छन् । हजुरबुबा बौद्धिमान कार्की आँखा नदेख्ने, कान नसुन्ने अवस्थाका अवस्थ रहेको स्थानीहरुले जानकारी दिएका छन् ।