ई–आर्थिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहिबार आफूनिकट जनसंगठनहरुका पदाधिकारीहरुको भेला गरी ०७५ साल जेठ २ मा फर्कन निर्देशन गरेका छन् ।
पार्टी एकताको लागि जेठ २ मा फर्कनु परेको बाध्यतामाथि प्रकाश पार्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन । प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेलामा उनीनिकट सबै जनबर्गीय संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । भेलामा अध्यक्ष ओलीले ०७५ जेठ २ मा कायम रहेका पदाधिकारीबाहेक अन्यलाई बिदाई समेत गरेको स्रोतले जानकारी दिएको छ ।
सर्बोच्च अदालतले एमालेलाई पूर्बवर्ती अबस्थामा फर्काएपछि एकलौटीरुपमा पुनर्गठन गरी जिम्मेवारी प्रदान गरेका जनसंगठनका नेताहरुलाई समयमै उपयुक्त जिम्मेवारी दिने पनि अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए । ‘जेठ २ मा जादा यहाँ उपस्थित कतिपय कमरेडहरुको जिम्मेवारी नहोला । तर तपाईहरु खडेरीमा पलाएको पालुवा हुनाले मैले त्यसलाई मर्न दिने छैन, जोगाउँछु ।’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै अनेरास्वबियुका एक पदाधिकारीले भने ‘तपाईहरु नै जबजको खास सिपाही र पार्टीको खास स्पिरिट बोक्ने कार्यकर्ता भएको हुनाले पार्टीलाई समृद्ध बनाउने उपयुक्त जिम्मेवारी दिइने छ ।’
एमाले पूर्बवत अबस्थामा फर्किपछि ०७७ साल फागुन २८ पछि अध्यक्ष ओलीकै निर्देशनमा पार्टी र जनसंगठनहरुमा एकलौटीढंगले पुनर्गठन गरिएको थियो । पुनर्गठित कमिटिहरुमा झलनाथ–माधब समूह निकटलाई हटाएर एकलौटी जिम्मेवारी दिइएको थियो । जनसंगठनहरुमा बिधान, बिधि र पद्धतिलाई बेवास्तै गर्दै ठूलो संख्यामा पदाधिकारी मनोनयन गरिएको थियो । जेठ २ मा जाने निर्णयले यिनीहरुको पद कायम हुने छैन । त्यसैले अध्यक्ष ओलीले यिनीहरुलाई सान्त्वना दिदै उपयुक्त जिम्मेवारी दिने बताएका थिए ।
अध्यक्ष ओलीको यो निर्देशनले पार्टी एकता अन्तिम चरणमा पुगेको सन्देश गएको छ । एकता कार्यदलले पार्टीको बिबाद समाधानका लागि प्राबिधिक र राजनीतिक गरी दुई पक्षमाथि छलफल गरिरहेको छ । प्राबिधिक पक्षमा जेठ २ मा फर्कने, सर्बोच्चबाट हस्ताक्षर फिर्ता गर्ने, जेठ २ पछि गरिएका दुबै पक्षका निर्णयहरु खारेज गर्ने र प्रक्रियामा कसरी प्रबेश गर्ने भन्ने बिषय परेका छन् । राजनीतिक पक्षमा भने पावर सेयरिङ र पार्टीका निर्णयहरुको बैधानिकताको बिषय समेटिएको छ । यि बिषयहरुमा लगभग सहमति जुटेको कार्यदलका सदस्यहरुले जानकारी गराएका छन् ।
माधब नेपालले माग बढाए
भेलामा अध्यक्ष ओलीले बरिष्ठ नेता माधब नेपालले माग बढाएको जानकारी दिएका थिए । जेठ २ मा फर्कन सहमत भए पनि माधब नेपालको थप मागले समस्या पारेको भन्दै त्यो पनि केही दिनमा टुंगो लाग्ने बताएका थिए । अध्यक्ष ओलीले दिएको जानकारी अनुसार माधब नेपालले पार्टी एकतापछि पावर सेयरिङमा लिखित र बैधानिक सहमति हुनुपर्ने प्रस्ताब गरेका छन् ।
खासगरी भूगोलमा जिम्मेवारी प्रदान गर्दा, निर्बाचनमा टिकट बितरण गर्दा र कुनै निर्णय गर्दा आफ्नो समेत हस्ताक्षरमा मात्र बैधानिक हुनुपर्ने माधब नेपालको प्रस्ताब रहेको ओलीले आफूनिकट कार्यकर्ताहरुलाई जानकारी गराएका थिए ।
कार्यदलमा पनि ओली र माधबको पावर सेयरिङ्लाई बिशेष प्राथमिकताका साथ उठाइएको छ । माधब नेपाल पक्षलाई ओलीप्रति बिस्वासको संकट रहेकाले यो बिषयलाई जोडदाररुपमा उठाइएको छ । अहिले अन्य कुरामा सहमति भए पनि भोलीका दिनमा पार्टी सन्चालनको तरिका बिगतकै जस्तो एकलौटी र मनोमानी नहुने कुरालाई सुनिश्चित गर्न माधब पक्षले पावर सेयरिङमा जोड दिएको कार्यदलकै एक सदस्य बताउँछन् । ‘अहिले संकट परेको बेला एकता गरौं भन्ने ओलीले भोली फेरि बिगतकै झै बिधि, पद्धति र बिधान मिचेर पार्टी चलाउन नसकुन भनेर पावर सेयिरिङको कुरा उठेको हो ।’ उनी भन्छन् ।
यसमा ओली र माधबको सहमतिमा मात्र पार्टीको निर्णय हुने बैधानिक ब्यबस्था खोजिएको उनले जानकारी दिए । यसका लागि बिधानै संशोधन गर्नुपर्ने उनको भनाई छ । ‘पार्टीको जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा, मनोनित र कारबाही गर्ने सन्दर्भमा, राजकीय जिम्मेवारी र टिकट बितरणमा दुई नेताहरुको हस्ताक्षरमा मात्र मान्य हुने र पार्टीको निर्णय हुने ब्यबस्था हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’ उनी भन्छन् ‘हिजो ओली र प्रचण्डका बिचमा पनि यस्तो सहमति भएको थियो ।
त्यो सहमति ओलीले कार्यान्वयन नगरेको हुदा बैधानिक ब्यबस्था गर्नमा जोड दिइएको छ ।’ तर ओली समूहले यसलाई अस्वीकार गरिरहेको छ । ‘अध्यक्ष ओलीका हात, खुट्टा बाँधेर एकता गर्ने हो भने त्यो त्यस्तो एकता चाहिदैन ।’ ओलीनिकट एक स्थायी समिति सदस्य भन्छन् ‘यो आज, भोली कहिले नै संभब छैन ।’