२०८३ साउन १४ बिहिबार

नवनियुक्त मन्त्रीहरुले लिए सपथ, २५ जना मन्त्रीको भागमा कुन मन्त्रालय ? (सबैको नाम सहित)

ई आर्थिक    बिहिबार, जेष्ठ २७ २०७८
5.7K
Shares
नवनियुक्त मन्त्रीहरुले लिए सपथ, २५ जना मन्त्रीको भागमा कुन मन्त्रालय ? (सबैको नाम सहित)

ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा आज नियुक्ति, हेरफेर र विस्तार गरी पूर्णता दिनुभएको थियो ।

नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको हो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । पछिल्लो पटक गत वैशाख ३० गते ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री हुनुभएका ओलीले वैशाख ३१ गते पहिलो र यही जेठ २१ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

शपथ लिनेमा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री रहेका छन् ।

यसैगरी राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन मन्त्रालयका राज्यमन्त्री पदको शपथ गराएका छन् । यो सहित २५ जना मन्त्री बनेका छन् ।
सपथ ग्रहण समारोहमा राज्यका उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij