२०८३ साउन ९ शनिबार

विद्युत् हब बन्दै दोलखा

ई आर्थिक    शनिबार, बैशाख ११ २०७८
11.1K
Shares
विद्युत् हब बन्दै दोलखा

चरीकोट । दोलखा जिल्ला जलविद्युत् उत्पादनको हब बन्दै छ । हाल जिल्लामा डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना रहेका छन् । तीमध्ये छवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर ७७.५३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने एक दर्जन आयोजना निर्माणाधीन छन् ।

यस जिल्लामा जलविद्युत् उत्पादनका लागि सहज भौगोलिक अवस्था, काम गर्ने वातावरण, पहुँच मार्ग, लगानी सुरक्षण, जिल्लावासीको जलविद्युत्प्रतिको चेतना अभिवृद्धिका कारण हब बन्न लागेको जलविद्युत् प्रवद्र्धक लगानीकर्ताको भनाइ छ । नेपालमा उत्पादन गर्न सकिने करिब आठ हजार मेगावाट विद्युत्मध्ये करिब दुई हजार मेगावाट बिजुली दोलखामा मात्रै उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ ।

देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, ४० मेगावाटको माथिल्लो खानीखोला ३० मेगावाटको खानी खोला, ११ मेगावाटको तल्लो खोला चालू आवभित्रै सम्पन्न हुँदै छन् ।

त्यस्तै पाँच मेगावाटको घट्टेखोला, सात मेगावाटको सुरीखोला, एक मेगावाटको तिनेखु, २५ मेगावाटको सिँगटी, १२ मेगावाटको उपल्लो खिम्ती १ र सात मेगावाट खिम्ती २ र तीन मेगावाटको सानो मिल्तीखोला पनि यसै वर्ष सम्पन्न हुने अवस्थामा पुगेका छन् । यी आयोजनाबाट ५९७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

तामाकोसी–३ (६३० मेगावाट) १०१ मेगावाटको तामाकोसी पाँचौँ, खिम्ती–२ मा (४८ मेगावाट), जुमखोला (५६ मेगावाट), तल्लो जुमखोला (१६३ मेगावाट), माथिल्लो लप्चे (५६ मेगावाट), रोल्वालिङ (८० मेगावाट) त्यसकै डाइभर्सनबाट (२२ मेगावाट) माथिल्लो सुरी (सात मेगावाट) सुरी साँघु (३० मेगावाट)मध्ये खारेखोला (२५ मेगावाट) माथिल्लो घट्टेखोला (छ मेगावाट) बिगुखोला (१० मेगावाट) र चर्नावती खोला (छ मेगावाट) गरी कुल एक हजार २६० मेगावाट निर्माण प्रक्रियामा रहेका छन् ।

दोलखाको कुल दुई हजार १९१ वर्ग किलोमिटर क्षेत्रफलमध्ये पानीले ढाकेको क्षेत्र ७०६८ हेक्टर अर्थात् ३ दशमलव ३० प्रतिशत रहेको छ । जिल्लाको मुख्य तामाकोसी नदीको विभिन्न बेसिन तथा सहायक खोलाहरू रोल्वालिङ, सिँगटी, खानी, खारे, दोल्ती, गुमु, गोपी, घ्याङ, अँधेरी, चर्नावती, खिम्ती, मिल्तीखोलालगायतका बेसिनहरू दोलखामा उत्पादन हुने जलविद्युत्का मुख्य स्रोत हुन् । यी खोला, नदीहरूबाट उत्पादन हुने जलविद्युत् आयोजनाहरूमा करिब एक हजार दोलखालीले दीर्घकालीन रोजगारी पाउनेसमेत आकलन गरिएको छ ।

विद्युत् विकास विभागको पछिल्लो तथ्याङ्कअनुसार एक हजार ४२० भन्दा बढी कुल उत्पादन क्षमताका १३ भन्दा बढी आयोजनाले विभिन्न क्षमताको विद्युत् सर्वे अनुमति लिएका छन् । दोलखाका विभिन्न नदीमा ‘रन अफ रिभर’ तथा जलाशययुक्त आयोजनाका लागि विभिन्न कम्पनीले सर्भे लाइसेन्स लिएका छन् । छ सय पचास मेगावाट क्षमताको तामाकोसी तेस्रोको डीपीआरसमेत नर्वेजीयन कम्पनी स्टेटक्राफ्ट नरकन्सल्टले तयार गरिसकेकोमा सो कम्पनीले आयोजना छोडेपछि अहिले टीवीआई एसएस होल्डिङ कम्पनीले पुनः सर्भेको अनुमति लिएको छ ।

यस्तै दोलखा र रामेछापमा संरचना निर्माण हुने ठोसे–खिम्ती छ सय मेगावाटको जलाशययुक्त आयोजनाको पनि सर्भे अनुमति दिइएको छ । सर्भे अनुमति प्राप्त अन्य प्रस्तावित आयोजनामा २० मेगावाटको साङखोला, १० मेगावाटको घ्वाङखोला, सात मेगावाटको गुरुम्फीखोला, छ मेगावाटको झ्याँकुखोला, छ मेगावाटको तल्लो चर्नावती, पाँच÷पाँच मेगावाटका स्याँखुखोला, टेबुखोला र घट्टे खोला (श्यामा) र तीन मेगावाटको कोटखोलालगायतका रहेका छन् ।

स्थानीयलाई सेयर दिने नजिर

जलविद्युत् आयोजनामा स्थानीयलाई सेयर लगानीको अवसर दिने नजिर दोलखाबाटै सुरु भएको हो । रािष्ट्रय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट स्थानीयलाई सेयर लगानीको अवसर दिन सुुरु भएको हो । आयोजना प्रभावितले १० प्रतिशत सेयर लगानी गरिसकेका छन् । धितोपत्र ऐन २०६३ को संशोधित ऐन २०७३ मा यसलाई सुनिश्चित गरिएको छ । हाल जलविद्युत् आयोजनाले नजिर र संशोधित ऐनअनुसार स्थानीय प्रभावितहरूलाई १० प्रतिशत सेयरको प्रावधानले कानुनी मान्यता प्राप्त गरेको छ ।

जलविद्युत् पर्यटनको सम्भावना बढ्दो

जलविद्युत् पर्यटनको दृष्टिले पनि दोलखा उत्कृष्ट गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्वदेश तथा विदेशका जलविद्युत्सँग सम्बन्धित सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा भूगर्भसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरू तथा जलविद्युत् उत्पादनका क्षेत्रमा चासो राख्नेहरू आयोजनाका संरचनाको अध्ययन गर्न आयोजना स्थलमा आउने गरेको विभिन्न आयोजनाको तथ्याङ्कले देखाएको छ । जलविद्युत् पर्यटनको सम्भावना बढ्दै गइरहेको जिल्लाका पर्यटन व्यवसायीको अनुभव रहेको छ । जलाशययुक्त तामाकोसी तेस्रोको निर्माण हुने हो भने यसबाट दोलखाको पर्यटन विकासमा कायापलट हुने दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इन्द्र श्रेष्ठको भनाइ छ ।

४७ किलोमिटर लामो गोँगर–खिम्ती २२० केभी डबल सर्किट प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा भएको ढिलाइका कारण आफूहरूले उत्पादन गरेको विद्युत् खेर जाने त्रास उत्पन्न भएको विद्युत् उत्पादकको भनाइ छ । विद्युत् उत्पादनमा गरेको लगानी प्रसारण लाइनका कारण खेर जाने अवस्था आउन नदिन सम्बन्धित पक्षले गम्भीर ध्यान दिनुपर्ने उनीहरूको माग रहेको समाचार बाबुराम शर्माले आजको गोरखापत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij