२०८३ साउन ९ शनिबार

‘उदयपुर सिमेन्ट उद्योगको मेगा प्रोजेक्ट थालनी गर्दैछौं’

ई आर्थिक    शुक्रबार, चैत्र २७ २०७७
34K
Shares
‘उदयपुर सिमेन्ट उद्योगको मेगा प्रोजेक्ट थालनी गर्दैछौं’

गोपीकृष्ण न्यौपाने उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक भएर गएको तीन महिना पनि पुरा भएको छैन । न्यौपाने महाप्रबन्धक भएर आउँदा व्यवस्थपकीय नेतृत्व अभावमा उद्योग अस्तव्यस्त रहेको थियो । उक्त उद्योगमा महाप्रबन्धक न्यौपाने आएपछि सुधारका धेरै प्रयासहरू भएका छन् । विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितलाई सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने जस्ता विषयमा महाप्रबन्धक न्यौपाने योजनाबद्ध ढंगले लागि परेका छन् । उद्योग समग्र अवस्थालाई गति दिने गरी उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत दिन थालेको छ । महाप्रबन्धक न्यौपाने गएपछि उद्योगले २०७७ साल फागुन महिनामा बर्षकै सर्वाधिक सिमेन्ट बिक्री गर्न सफल भयो । छोटो समयमै पनि व्यवस्थापकीय नेतृत्वले योजना र रणनीतिक ढंगबाट प्रयास गर्दा उद्योगले हरेक उपब्धिहरू हात पार्न सक्ने रहेछ भन्ने उहाँ उदाहरण बन्नु भएको छ । उहाँको छोटो कार्यकालमा उद्योगमा एक पछि अर्को त्यस्ता धेरै उल्लेखनिय कार्य भएका छन् । उद्योगलाई आगामी दिनमा अगाडी बढाउन उहाँको योजना तथा कार्यक्रमका बारेमा ई–आर्थिक डटकमले विस्तृत कुराकारानी गरेको छ । उक्त कुराकानीका क्रममा उहाँले उद्योगको मेगा प्रोजेक्ट समेत थालनी गर्ने बताउनुभयो । प्रस्तुत छ महाप्रबन्धक न्यौपानेसँग गरेको विशेष कुराकानी :

० तपाई महाप्रबन्धक भएर गएपछि उदयपुर सिमेन्ट उद्योग अवस्था कस्तो थियो ?
– म गत माघ १ गते उद्योगमा आइपुग्दा कोइला अभावको कारण उद्योग बन्द अबस्थामा थियो । सरसफाइ थिएन, करीब ६५ करोड भन्दा बढीको चालू दायित्त्व थियो, कर्मचारीमा निरासा थियो । वरिपरिका नागरिक समाजले पनि अब उद्योग चल्दैन होला भनेर एक किसिमको निरास देखिन्थे ।

० अहिले के कस्ता योजना र रणनीति बनाएर काम थाल्नुभएको छ ?
– मैले आएकै दिनदेखि सिमेन्ट उत्पादनमा जोड दिएँ । कोइला र सिमेन्टको बस्तु बिनिमय प्रथा रोकें । अधिकृत बिक्रेतालाई लक्ष्य निर्धारण गरी सो को आधारमा कमिसन दिने नीतिगत व्यबस्था गरें । ट्रेड युनियनका मित्रहरूलाई विश्वासमा लिए, तलब सुबिधा समयमै दिएर आम कामदार कर्मचारीको मन जित्न सफल भएँ । जसको कारण माघ र फागुन महिनामा उत्पादित गैंडाछाप सिमेन्टको बिक्री बढ्यो । नीतिगत रुपमा निर्णय गरिदिएर मार्ग प्रशस्त गर्नुहुने संचालक समितिको पनि यसमा महत्त्वपूर्ण भूमिका रहेको छ । अनावश्यक खर्च कटौती र बिक्री बढौती यी दुबै काम संगसंगै लगेर अघि बढ्ने रणनीतिक योजना बनाएको छु ।

० तपाईले थाल्नु भएको उद्योग सुधार अभियानको छोटो समयमै परिणाम देखिन थाल्यो नि यो कसरी संभव भयो ?
– मेरो लामो समयसम्मको औद्योगिक क्षेत्रमा काम गरेको अनुभव, ट्रेड युनियन लगायत कामदार कर्मचारीको उत्साह, परिपक्व संचालक समितिको टीम, आम नागरिक समुदाय, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिज्यूहरुको सकारात्मक सहयोगको परिणामले सकारात्मक भूमिका खेलेको हो भन्ने लाग्छ ।

० उद्योगका खास समस्याहरु के–के छन् ? उद्योगमा दीर्घकालिन समाधान नहुने समस्याहरु पनि छन् ?
– सबैभन्दा प्रमुख समस्या कारखाना ब्रेक डाउनको नै हो, कच्चापदार्थ लगायत बस्तुहरुको आपूर्ति व्यवस्थापनमा समेत ऐन कानुनको पालना गर्नुपर्दा ढिलो र महंगो पर्ने देखिन्छ । कर्मचारीको उमेर ढल्किदै जांदा काममा लगनशिलताको कमी पनि समस्याको रुपमा देखिएको छ भने प्राविधिक जनशक्तिको कमी पनि समस्या रहेको छ ।

० उद्योग सञ्चालनमा स्थानीय कच्चा पदार्थको अवस्था कस्तो छ ?
– चूनढुंगा आफैमा स्थानीय कच्चा पदार्थ हो, ९५ प्रतिशत चूनढुंगा प्रयोग हुने भएको कारण मूल्य अभिवृद्धिमा सबैभन्दा बढी योगदान हुन्छ । बांकी ५ प्रतिशत कोइला, जिप्सम, आइरन ओर आदिको आपूर्ति व्यवस्थापन स्थानीयस्तरमार्फत आयात भैरहेकोले अप्रत्यक्ष रुपमा समेत राजस्व र रोजगारी दुबैबाट महत्त्वपूर्ण योगदान रहेको छ ।

० उद्योगमा काम गर्न दक्ष कामदार र कर्मचारीको पर्याप्तता कत्तिको छ ? हाल यो उद्योगबाट कतिले रोजगारी पाएका छन् ?  
– हाल ३४० कामदार कर्मचारीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन । धेरैजसो दक्ष प्राविधिक जनशक्ति रिटार्यड हुंदैजादा खास-खास ठाउँमा जनशक्ति अभाव खड्किएको छ ।

० उद्योग सञ्चालनमा स्थानीय सर्वसाधारण, राजनीतिक दल, सञ्चालक र कर्मचारीहरुको साथ सहयोग कस्तो रहेको छ ?
– म आएपछि प्राय: सबै माननीयज्यूहरु, मेयरज्यू, उपमेयरज्यू, वडाध्यक्षज्यूहरु लगायत स्थानीय समाजसेवी आदरणीय व्यक्तित्वहरु सबैसंग सम्पर्क र सहकार्यको वातावरण बनेको छ । स्थानीय प्रहरी प्रशासनको पनि ठूलो सहयोग छ । उच्च व्यवस्थापन र कर्मचारीको महत्त्वपूर्ण योगदान रहेको छ । नीतिगत निर्णय लगायत अघि बढ्नुहोस भनेर संचालकज्यूहरुले दिनुभएको हौसला पनि उल्लेखनीय छ ।

० सरकारी तवरबाट के कस्तो सहयोग रहेको छ ? उद्योगले राम्रो गतिमा काम गर्न सरकारले यस्तो गरिदिए हुन्थ्यो भन्ने केही लागेको छ ? 
– सरकारले यो उद्योग संचालन गर्नुपर्छ भन्ने मनसायले नै खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको मद्दत लिएर मलाई छनौट गरि पठाएको हो । यसबीचमा माननीय उपप्रधानमन्त्रीज्यू, पूर्व उद्योग मन्त्रीज्यू, योजन आयोगका माननीय सदस्यज्यू, माननीयज्यूहरु लगायत दर्जनौं आदरणीय व्यक्तित्वहरुको आगमन भएको छ । ट्रेड युनियन र व्यवस्थापनले स्वागत गरेको छ । समस्याहरु राखेको छ । समस्या समाधानको लागि पहल गरिदिने आश्वासन पाएका छौं ।

० गुणस्तरको दृष्टिकोणमा नेपालमा उत्पादित सिमेन्टमा गैंडा छाप सिमेन्ट कुन स्तरमा पर्दछ ?
– हामीले उत्पादन गर्ने सिमेन्ट उच्च गुणस्तरको छ । तौलमा फरक पर्दैन । अरु सिमेन्ट आठ बोरा लाउंदा गैंडाछाप सिमेन्ट ६ बोरा मात्रै लाए पुग्छ भनेर प्राबिधिकहरु भन्नुहुन्छ । यस अर्थमा झट्ट हेर्दा अलिक महंगो जस्तो देखिए पनि समग्रमा सस्तो पर्न जान्छ । यसमा प्रयोग हुने कोइला, जिप्सम लगायतका कच्चा पदार्थ समेत उच्च गुणस्तरको हुने र सबैभन्दा महत्त्वपूर्ण कुरो कच्चापदार्थ चूनढुंगानै अहिलेसम्म उत्खनन भएका चूनढुंगा खानी मध्ये सबैभन्दा अव्वल श्रेणीको रहेको छ । त्यसैले गुणस्तरीय उत्पादन नै गैंडाछाप सिमेण्टको प्रमुख विशेषता हो ।

० उदयपुर सिमेन्ट उद्योगले दैनिक कति उत्पादन गर्दै आएको छ ? उद्योगको क्षमता अनुसार उत्पादन भएको छ कि छैन् ?
– हाल उद्योगको उत्पादन क्षमता दैनिक ८ सय मेट्रीक टन हो । तर मर्मतसम्भारको कारण त्यसको आधाभन्दा कम क्षमता मात्रै उपयोग भइ उत्पादन भैरहेको छ ।

० उद्योगको क्षमता अनुसार सिमेन्ट उत्पादन गर्न के कस्ता सुधारको योजना अगाडी बढाउनु भएको छ ?
– पहिलो कुरो उद्योगको नियमित मर्मतसम्भारमा ध्यान दिएको छु । २८ बर्ष पुरानो उद्योग भएकोले मेसिनको लाइफ नै सकिएको अबस्था हो । किल्नको अबस्था नाजुक छ, लगभग २० मिटर फेर्नुपर्ने अवस्था छ । त्यसको कार्य योजना अघि बढाएको छु । त्यसैगरी हालको मेसिनरी प्लाण्टमा अपग्रेडिङ्ग गरि रिइन्फोर्समेण्ट सस्पेण्सन प्रेहिटर जडान गर्ने कार्यलाई पनि संगसंगै अघि बढाउदैछु । पावर व्याकअपको लागि १ मेगावाटको सोलार प्लाण्ट लगाएर बिद्युत खर्च कटौती समेत गर्नेगरी अल्पकालीन कार्य योजना बनाएको छु । यसबाट दैनिक ११ सय मेट्रीक टन उत्पादन हुनेछ । यसबाहेक लाइमस्टोन गुणस्तरीय भएको र लाइमस्टोन स्टोक समेत धेरै रहेकोले दैनिक १० हजार मेट्रीक टनको प्लाण्ट लगाउन सकिन्छ कि भनेर प्रदेश सरकारसंग मिलेर अध्ययन अघि बढाइएको छ । सरकार, उदयपुर सिमेण्ट, असरग्रस्त जिल्ला उदयपुरबासी, कर्मचारी र सर्वसाधारणबाट शेयर लगानी र नपुग रकम बैक लगानी गर्न सकिने गरी स्रोत जुटाइनेछ ।

० गुणस्तरमा नं. १ भएकै कारण गैंडा छाप सिमेन्टको माग उच्च भएकाले बजारको माग धान्न नसकेको कुराहरु सुनिन्छ । बास्तविकता के त्यस्तै हो त ?
– हो, अत्यन्तै माग छ । तर हाललाई मेरो लक्ष्य एक नंबर र दुई नंबर प्रदेशको बजार हो र बांकी बागमती प्रदेश रहेको छ । बर्दिबास-ढल्केबर देखि कांकडभिट्टासम्म स्थापित बजारहरुमा नयाँ अधिकृत बिक्रेता थप गर्ने कार्य लगभग अन्तिम चरणमा रहेको छ । यसबाट उपभोक्तालाई सहजीकरण हुने आशा गरेको छु ।

० नेपाली बजारमा गैंडाछाप सिमेन्टको बजार हिस्सा कति प्रतिशत रहेको छ ? तपाईको कार्यकालमा कति प्रतिशत बजार हिस्सा पुरयाउने लक्ष्य छ ?
– अहिलेको सिमेण्ट उत्पादनको हिसाबले हाम्रो उत्पादन नै कम भएको कारण हामी पछि परेका छौं तर जति दिन सकेका छौं, गैंडाछाप सिमेण्ट अग्र स्थानमा छ ।

० नेपालमा सिमेन्टको बजार कस्तो छ ? हाल समग्र उत्पादन र खपतको अवस्था कस्तो छ ? 
– सिमेन्टको बजार माग छ । तर ठूला प्रोजेक्ट बन्न सकेनन वा सडक निर्माणमा प्रयोग गर्ने नीति आएन भने चै अहिलेको उत्पादनको तुलनामा माग कम हुन सक्ने अनुमान गर्न सकिन्छ ।

० गैंडा छाप सिमेन्टलाई अन्तर्राष्ट्रिय बजारमा निर्यातको संभावना कत्तिको छ ?
– खासगरी भारतको बिहार क्षेत्रमा संभावना बढी छ । अरु मुलुकमा संभावना देखिदैन ।

० राम्रो संभावनाका बीच पनि नेपालका अधिकांश सरकारी उद्योगहरुले गति लिन सकिरहेको पाइदैन । यसको खास कारण तपाईले के विश्लेषण गर्नुहुन्छ ?
– लिडरसिपको कमी मूख्य कारक तत्व हो भन्ने मलाई लाग्छ । झण्झटिलो र महंगो खरिद प्रक्रिया, दक्ष जनशक्तिको अभाव र राजनीतिक हस्तक्षेपको भूमिका पनि त्यत्तिकै छ ।

० उदयपुर सिमेन्टको हकमा यो नियति व्यहोर्ने संभावना कत्तिको रहेको छ ?
– म आएपछि सुशासनमा जोड दिएको छु । आर्थिक पारदर्शितामा जोड दिएको छु । सबै कामदार कर्मचारीको हितमा समान व्यवहारको नीति लिएको छु । अनावश्यक दबाब नस्वीकार्ने भएको कारण सायद उद्योगको भविष्य उज्ज्वल हुनेछ र कुनै गलत नियती भोग्नु नपर्ला भन्ने अपेक्षा छ ।

० तपाईको कार्यकालमा उद्योगलाई कस्तो बनाउने लक्ष्य रहेको छ ? भावि योजनाहरु बताइदिनोसन् ?
– मैले माथि उल्लेख गरेजस्तै सरकार, संचालक समिती र नियमनकारी निकायले बनाएका नीति, नियम र निर्देशन अनुरुप हाललाई उत्पादन बृद्धि गरी बिक्री बढाउदै लाने र आगामी बर्षको यो बेलासम्म किल्न सेल फेर्ने, रेनफोर्समेन्ट सस्पेन्सन पर हिटर (आरएसपी) जडान गर्ने गरी अघि बढेको छु । किल्न सेल र आरएसपी लगाएपछि अहिलेको पूर्ण क्षमता उपयोग हुन्छ र थप ३०० मेटन क्षमता बढ्नेछ । यसको लागि नेपाल सरकार संग लगानीको श्रोत जुटाइदिन अनुरोध गरेकोमा सकारात्मक आश्वासन पाएको छु । सरकारबाट हुन सकेन भने बैंकबाट कर्जा लिएर भए पनि अघि बढ्ने लक्ष्य लिएर कार्यान्वयनको लागि अघि बढेको छु । त्यसपछि उद्योगको मेगा प्रोजेक्टको थालनी गर्ने गरी कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij