दिपेशकुमार वैद्य
प्रमुख कार्यकारी अधिकृत, एनएमबी क्यापिटल लिमिटेड
एनएमबी क्यापिटल लिमिटेडको बारेमा बताइदिनोस् न ?
एनएमबी क्यापिटल पुराना मर्चेन्ट बैंकिङ कम्पनी मध्ये एउटा कम्पनी हो । मर्चेन्ट बैंकिङ सम्बन्धी छुट्टै कम्पनी हुनुपर्ने नियम लागू भएपछि यो कम्पनी एनएमबी क्यापिटलको रुपमा सञ्चालनमा आएको १५ वर्ष भइसकेको छ । तर करिव ३० वर्ष अगाडि नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको स्थापनाकालदेखि मर्चेन्ट बैंकिङको काम गर्दै आएका थियौं । हामीले नेपाल धितोपत्र बोर्डले तोकेको कार्यक्षेत्र भित्र रहेर मर्चेन्ट बैंकिङ सम्बन्धी सबै प्रकारका कामहरु गरिरहेका छौं । म्युचुअल फण्ड सम्बन्धी काम गर्ने हामी दोस्रो ठूलो कम्पनी हौं ।
मर्चेन्ट बैंकिङ सम्बन्धी काम गर्न कत्तिको गाह्रो छ ? अथवा समस्याहरु के कस्ता छन् ?
अप्ठयारोको कुरा गर्दा ‘रेगुलेटरीको क्लायरिटी’ नै मुख्य कुरा हो । जस्तो हामीले बुक बिल्डिङ गर्छौ भन्छौं । तर कसरी गर्ने भन्ने कुरा नै स्पष्ट छैन । यसरी रेगुलेटरी वडीले स्पष्ट नीति नियम बनाइदिन आवश्यक छ । नेपाल धितोपत्र बोर्डले स्पष्ट नीति नियम बनाइदिने हो भने यो क्षेत्रमा अवसरहरु धेरै छन् । र, हामीलाई काम गर्न सजिलो हुन्थ्यो । धितोपत्र बोर्ड नीति नियम सम्बन्धी काम गरिरहेता पनि अझ दूरदर्शी रुपमा नियम बनाइदिने हो भने हामीलाई काम गर्न अझ सजिलो हुन्थ्यो । अर्को भनेको हामीले उपलब्ध गराइरहेको सेवाका बारेमा बजारमा बुझाउन पनि आवश्यक छ ।
विजनेस सानो भयो, प्ययरर्स बढी भए भन्ने गरिन्छ । अहिले बजार चाँही कस्तो छ ?
हो, अहिले बजारको माग भन्दा बढी प्ययरर्स भएजस्तो लाग्छ । बजार सानो छ, बढेको छैन । त्यही बजारमा सबै जना ‘फाइट’ गरिरहेका छन् । बजार बढाउने तिर कोही पनि लागेका छन् जस्तो लाग्दैन । जसरी कम्पनीहरुको वृद्धि भयो त्यो अनुरुप बजार बढेको पाइदैन । यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । अस्वस्थ प्रतिस्पर्धा गर्नु भनेको आफूले आफूलाई नै सिध्याउने बाटोमा लाग्नु हो । भइरहेको बजारमा मात्र रामाउने हो कि अझ बजार विस्तार गर्ने भन्ने कुरा मात्र हो । हामीले गुणस्तरीय सेवा उपलब्ध गराएर ग्राहकलाई सन्तुष्ट पादैं अगाडि बढ्नुपर्ने हुन्छ ।

अहिले सबै कम्पनीहरु काठमाडौं केन्द्रित छन् । अहिलेको अनलाइनको जमानामा सबै ठाउँमा फिजिकल्लि उपस्थिति हुनुपर्छ भन्ने पनि छैन । काठमाडौं बाहिरका ग्राहकलाई चाँही कसरी सेवा उपलब्ध गराइरहनुभएको छ ?
आहिले हामी मुख्यरुपमा अनलाइन वेसलाई नै आधार मानेर अगाडि बढिरहेका छौं । अनलाइनले गर्दा सबै ठाउँका ग्राहकलाई सजिलै समेट्न सकिन्छ । जहासम्म फिजिकल्लि उपस्थितिको कुरा छ । यसका लागि हामीले काठमाडौं बाहिरका ग्राहकहरुलाई हाम्रो आफ्नै एनएमबी बैंकको शाखा सञ्जालमार्फत सेवा उपलब्ध गराइरहेका छौं । काठमाडौं बाहिर छुटै नै अफिस स्थापना गरेर सेवा उपलब्ध गराउँदा धेरै कस्ट पर्ने हुन्छ । यसरी कस्ट सेयरिङको हिसाबले पनि सस्तो हुने भएकाले हामीले एनएमबी बैंकको शाखामार्फत नै काठमाडौं बाहिरका ग्राहकलाई सेवा दिइरहेका छौं । अनसाइनमार्फत नै सबै काम हुने भएकाले यसरी बैंकको शाखा नै प्रयोग गरेर सेवा दिने कार्य चाँही थोरै मात्रामा रहेको छ ।
एनएमबी क्यापिटलले वार्षिक कति रेभिन्यु कलेक्सन गर्छ ?
हामीले ग्राहकको काम गरेवापत उनीहरुबाट फि लिने गर्दछौं । यसरी हेर्दा हामीले गत वर्ष ३० करोड रुपैयाँ जति रेभिन्यु कलेक्सन गरेका थियौं ।
एनएमबी क्यापिटलको भावी योजना के छ ?
अझै पनि हामी नेपालभरी पुगेका छैनौं । देशैभरी नै पुग्ने योजना रहेको छ । अर्को भनेको म्युचुअल फण्डलाई अझ शसक्त बनाएर अगाडि बढ्ने छौं । त्यस्तै इस्यु मेनेजरमा पनि राम्रो कम्पनी कसरी ल्याउन सकिन्छ भनेर ‘एक्सरसाइज’ गरिरहेका छौं ।