२०८३ भाद्र ३० मंगलबार

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

ई आर्थिक    सोमबार, भाद्र २९ २०८३
304
Shares
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा तथा आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिएन) प्रतिवेदनले बाढीबाट धान, तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति पुगेको देखाएको हो।

बाढीबाट विशेषगरी कृषि उत्पादनको मुख्य आधार मानिने धान खेतीमा ठूलो क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार बाढी प्रभावित विभिन्न स्थानीय तहमा १ हजार ६६९ हेक्टर धान खेती प्रभावित भएको छ। यसबाट करिब ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ।

भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदुर, लिखु तथा बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, रसुवाको गोसाइँकुण्ड र उत्तरगया तथा गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह बाढीबाट प्रभावित भएका छन्।

नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित भएको छ। यसबाट करिब २ हजार ४५० टन धानमा क्षति पुगेको छ। त्यस्तै, लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर क्षेत्र प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।

धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको छ। बाढीले धान उत्पादन हुने क्षेत्रमै ठूलो क्षति पुर्‍याएपछि प्रभावित किसानको उत्पादन र आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

१३७ हेक्टर तरकारी खेती प्रभावित

बाढीबाट तरकारी खेतीमा पनि ठूलो क्षति पुगेको छ। प्रतिवेदनअनुसार १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब १ हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ।

तरकारीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा मात्रै ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित १ हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ।

त्यस्तै, धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।

धान तथा तरकारी खेतीमा भएको क्षतिले बाढी प्रभावित क्षेत्रका किसानलाई तत्काल राहत र पुनःस्थापनाका साथै आगामी उत्पादनका लागि आवश्यक कृषि सामग्रीको समेत आवश्यकता बढाएको छ।

पशुपक्षीमा एक अर्ब ११ करोडको क्षति

बाढीबाट पशुपक्षी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार कुल २ लाख ५२ हजार ४४५ पशुपक्षी प्रभावित भएका छन्। पशुपक्षीको क्षतिको अनुमानित मूल्य १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ रहेको छ।

संख्याका आधारमा कुखुरा सबैभन्दा धेरै प्रभावित भएका छन्। बाढीबाट करिब २ लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्। यो कुल प्रभावित पशुपक्षीको ८५.१ प्रतिशत हो। तर मूल्यका आधारमा कुखुराको हिस्सा कुल पशुपक्षी क्षतिको ४.८ प्रतिशत मात्रै रहेको छ।

बाढीका कारण ४ हजार ५७२ भैंसी प्रभावित भएका छन्। भैंसीमा मात्रै ४५ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान छ। यो कुल पशुधन क्षतिको ४१ प्रतिशत हो।

त्यस्तै, बाख्रा तथा च्याङ्ग्रामा ३९ करोड १३ लाख रुपैयाँ अर्थात् कुल क्षतिको ३५.१ प्रतिशत र गाईगोरुमा १७ करोड ९२ लाख रुपैयाँ अर्थात् १६.१ प्रतिशत क्षति भएको छ।

प्रतिवेदनअनुसार अन्य पशुमा १ करोड ४ लाख, बङ्गुर तथा बँदेलमा १ करोड ९६ लाख, भेडामा २५ लाख, कुखुरामा ५ करोड ३७ लाख र अन्य चरामा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

भैंसी, बाख्रा र गाईगोरुमा मात्रै ९२.३ प्रतिशत क्षति

कुल पशुधन क्षतिको विवरण हेर्दा भैंसी, बाख्रा/च्याङ्ग्रा र गाईगोरुमा मात्रै ९२.३ प्रतिशत क्षति भएको देखिन्छ।

ग्रामीण क्षेत्रमा पशुपालन कृषकको आम्दानी र जीविकोपार्जनको महत्वपूर्ण आधार भएकाले यी पशुमा भएको क्षतिले प्रभावित परिवारको आर्थिक अवस्थामाथि गम्भीर असर पार्ने देखिएको छ।

विशेषगरी भैंसी, बाख्रा/च्याङ्ग्रा र गाईगोरुमा भएको ठूलो आर्थिक क्षतिले बाढीले कृषि उत्पादनसँगै ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारमा समेत गहिरो प्रभाव पारेको देखाएको छ।

कुखुराको संख्या सबैभन्दा धेरै प्रभावित भए पनि त्यसको आर्थिक हिस्सा तुलनात्मक रूपमा कम छ। यसको विपरीत संख्या कम भए पनि भैंसी, बाख्रा/च्याङ्ग्रा तथा गाईगोरुको आर्थिक मूल्य बढी भएकाले पशुधनतर्फको कुल क्षतिमा यी पशुको योगदान ठूलो देखिएको हो।

किसानको आम्दानी र उत्पादनमा दीर्घकालीन असर

बाढीबाट धान र तरकारी खेतीको उत्पादनमा भएको क्षति तथा ठूलो संख्यामा पशुपक्षी प्रभावित भएपछि कृषकको तत्कालीन आम्दानीसँगै आगामी उत्पादन चक्रमा समेत असर पर्ने देखिएको छ।

खेतीयोग्य जमिनमा क्षति पुग्नु, उत्पादन नष्ट हुनु तथा पशुधन गुम्नुले प्रभावित परिवारको जीविकोपार्जनमा थप चुनौती सिर्जना गरेको छ। कृषि तथा पशुपालनमा निर्भर परिवारलाई पुनःउत्पादनमा फर्काउन बीउ, मल, कृषि उपकरण, पशु तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ।

आरएनडिएन प्रतिवेदनले भोटेकोशी बाढीबाट कृषि तथा पशुपक्षी क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक अवस्था देखाएको हो। बाढीबाट प्रभावित नुवाकोट, धादिङ, रसुवा र गोरखाका स्थानीय तहमा कृषि क्षेत्रको क्षति ठूलो रहेकाले पुनःस्थापना र पुनर्निर्माणका लागि थप स्रोत तथा कार्यक्रम आवश्यक पर्ने देखिएको छ।

बाढीबाट भएको क्षतिको प्रभाव तत्कालीन उत्पादनमा मात्रै सीमित नरही किसानको आम्दानी, खाद्य उत्पादन र ग्रामीण अर्थतन्त्रमा समेत पर्ने भएकाले प्रभावित कृषि क्षेत्रको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij