ई–आर्थिक, काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको सेयर बाँडफाँड आज गर्ने भएको छ । आवेदक सबैले ५० कित्ता सेयर पाउने भएका छन् । बैंकले गरेको ‘प्रि–अलटमेन्ट’ अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने सबैले प्राप्त गर्ने भएका हुन् ।
५० कित्ता भन्दा बढि आवेदन दिनेमध्ये केहिले थप १० कित्ता प्राप्त गर्न सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआविएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले ‘प्रि– अलटमेन्ट’ को तथ्याङक धितोपत्र बोर्डमा पठाएको थियो । बोर्डले स्वीकृत गरे पछि कम्पनीले आज शुक्रवार विहान १० बजे बाँडफाँट गरिने भएको छ ।
बैंकले माघ दुई गतेदेखी ६ गतेसम्म सर्वसाधारण समुहको ८ करोड कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । बैंकले निष्काशन गरेको प्राथमिक शेयरमा १५ लाख २९ हजार ४६० जनाले आवदेन दिएका छन् ।
कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ ।