२०८३ साउन ९ शनिबार

डेढ महिनासम्म पनि निभेन मनाङको वनमा लागेको आगो

ई आर्थिक    मंगलबार, पौस २८ २०७७
8.7K
Shares
डेढ महिनासम्म पनि निभेन मनाङको वनमा लागेको आगो

तस्बिर: नवीन लामीछाने/रासस

मनाङ : हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रण बाहिर नै छ। हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन। तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्‍यो भन्ने लेखाजोखा छैन। आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ।

प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल डढेलोले सखाप बनाएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को संरक्षणमा रहेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताए ।

‘हाम्रो प्रयत्न छ । हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ । मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं। मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ,’ उनले भने, ‘अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ ।’

अर्का स्थानीय तथा यस क्षेत्रका सिएमसीका अध्यक्ष याद घलेले हिमाली क्षेत्रको जङ्गलमा लामो समयदेखि लागेको आगोबाट महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताए।

‘प्रशासन र जनप्रतिनिधिले पनि सहयोग गरेनन्, छिमेकी पनि मुकदर्शक बने,’ उनले भने ।

आगलागी भएको क्षेत्र जङ्गलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बा लगायत जडीबुटी पाउने गरिन्छ । आगलागी फैलँदै जाँदा नजिकैको ताचै गाउँ जोखिममा परेको छ। ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ। डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ ।

स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको बताउँछन् । सोमबार मात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधि आगलागी भएको क्षेत्रमा पुगेको छ।

आगलागीले मानव बस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले आफ्नो उपस्थिति देखाएको हो ।

स्रोतसाधन अभाव

स्रोतसाधन अभाव र भौगोलिक विकटताले आगो नियन्त्रणमा चुनौती थपिएको छ । स्थानीयवासी र सुरक्षा निकायले स्याउलाको प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

यसबाहेक सुरक्षा निकायसँग रहेको सामान्य साधनबाहेक अरू केही छैनन्। जसले आगो नियन्त्रणमा चुनौती थपेको छ ।

किन हुन्छ आगलागी ?

आगलागीका कारण महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने अवस्था आउँदा जैविक विविधतालाई समेत असर पर्ने देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का जिल्ला प्रमुख लेखनाथ गौतमले आगलागीबाट जैविक विविधतामा गम्भीर असर पुर्‍याउने बताए ।

हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन् । यसले जैविक विविधतालाई असर पार्छ उनको भनाइ छ ।

हिमाली जङ्गलमा जङ्गली जनावरको चोरी शिकारी, गुच्चीच्याउ र नयाँ घाँसका लागि आगलागी हुने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij