२०८३ साउन ९ शनिबार

पाँच महिनामा ६ हजार पर्यटक

ई आर्थिक    बुधबार, पौस ८ २०७७
3.5K
Shares
पाँच महिनामा ६ हजार पर्यटक

घर फर्किने नेपालीको संख्या १ लाख ५४ हजार २२१ जना

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये अमेरिकी नागरिकको संख्या अधिक छ ।

विभागका अनुसार पाँच महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् ।

चीनबाट सो अवधिमा ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् । टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

विभिन्न मुलुकबाट आउने पर्यटकका लागि सम्बन्धित देशको दूतावास एवं कूटनीतिक नियोगसँग समन्वय गर्नेहरू र डिप्लोम्याटिकलाई मात्र आगमन खुला गरेको छ

विमानस्थलबाट यो अवधिमा नेपाल आएका पर्यटक विगतका वर्षमा जस्तो मुलुकको पदयात्रा भ्रमण एवं विभिन्न पर्यटकीय गन्तव्य स्थलको भ्रमणमा गएका छैनन् । राजधानीको पर्यटकीय बजार ठमेलमा समेत यो वर्ष विदेशी पर्यटकको अनुहार देख्न मुस्किल परेको सम्बन्धित पर्यटन व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले नेपाल भ्रमणका लागि नभएर अन्य काम विशेष र डिप्लोम्याटिक तथा कूटनीतिक काममा आएकाले बजारमा चहलपहल नदेखिएको बताएका छन् ।

कोरोना प्रभावका कारण लामो समय बन्द रहेको नियमित व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सरकारले अहिले विभिन्न मुलुकबाट आउने पर्यटकका लागि सम्बन्धित देशको दूतावास एवं कूटनीतिक नियोगसँग समन्वय गर्नेहरू र डिप्लोम्याटिकलाई मात्र आगमन खुला गरेको छ ।

पछिल्लो समय भारतबाट काठमाडौंका लागि हवाई उडान सुचारु भएको छ । अहिले भारतबाट हवाई मार्ग हुँदै आउने भारतीय नागरिकलाई पर्यटकका रूपमा गणना गरिएको छ । सोही कारण आगामी दिनमा पर्यटक आगमन संख्या थप बढ्ने विभागको अनुमान छ ।

विभागका अनुसार सो अवधिमा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै घर फर्किने नेपालीको संख्या कुल १ लाख ५४ हजार २२१ जना रहेको छ । यसैगरी समीक्षा अवधिमा नेपालबाट ७८ हजार २३४ जना नेपाली हवाई मार्गबाट विभिन्न मुलुकतर्फ प्रस्थान गरेका छन् । यो अवधिमा ६१ हजार ३५१ जना पुरुष र १६ हजार ८७८ जना महिला हवाई मार्गबाट विभिन्न मुलुकतर्फ गएका छन् ।

बितेका पाँच महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी र विदेशी गरी कुल १ लाख ६० हजार ५ सय १ जना हवाई यात्रु नेपाल भित्रिएका छन् । यो अवधिमा सोही विमानस्थलबाट ८९ हजार ८९० जना विदेश प्रस्थान गरेका छन् ।

सरकारले बेलायतबाट नेपाल आउने हवाई यात्रुमाथि प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि हवाई यात्रु नल्याउन सम्बन्धित वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो ।

प्राधिकरणको यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ । पछिल्लो समय बेलायतमा दोस्रो चरणको कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झन्डै ५० वटा देशले बेलायतसँगको हवाई उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् । हाल बेलायतमा नयाँ भाइरस देखिएको र सो भाइरस पहिलेभन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

युरोपियन युनियनले बेलायतसँगको सिधा हवाई उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अब १ पुसयता नेपाल आएकाहरूलाई अनिवार्य रूपमा ७ दिन क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गरेपछि मात्र घर तथा आफ्नो गन्तव्य जान पनि आग्रह गरिएको छ ।

मंगलबार नेपाल आउन ट्रान्जिटमा रहने हवाई यात्रुहरूले समेत अब अनिवार्य रूपमा १० दिन होटल क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गरेर मात्र आफ्नो घर जानुपर्ने भएको  समाचार मधुजंग पाण्डेले आजको राजधानीमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij