प्राधिकरण भित्रका दाबेदारको समेत दौडधुप र सबै शक्तिको प्रयोग जारी
कुलमानको पुनर्नियुक्ती आन्दोलन मत्थर भएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ती गर्ने सरकारी स्रोत बताउँछ
ई–आर्थिक, काठमाडौं । कुलमान घिसिङको कार्यकाल सकिए पछि खाली भएको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पाँच भाईले दौडधुप बढाइरहेका छन् । तीब्र जनआकांक्षाका बीच सरकारको नेतृत्वतहमा रहेका शिर्ष व्यक्तिहरुले कुलमानलाई ल्याउन नचाहेपछि ती पाँच भाईले आफूलाई नियुक्तिका लागि शक्तिकेन्द्रहरुमा दौडधुप बढाइरहेका हुन ।
उच्च सरकारी स्रोतका अनुसार प्राधिकरणको उक्त पदको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवाली, विद्युत विकास विभागका महानिर्देशक नविन राज सिंह, विद्युत प्राधिकरणका अर्थ विभागका डेपुटी म्यानेजिङ्ग डाइरेक्टर तथा हालका का.मु. कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका डेपुटी म्यानेजिङ्ग डाइरेक्टर हरेराज न्यौपाने, प्राधिकरणको इन्जिनियरिङ कम्पनीका यसअघिका प्रबन्ध निर्देशक हाल प्राविधिक हेर्ने डेपुटी म्यानेजिङ्ग डाइरेक्टर हितेन्द्र देव शाक्य र प्राधिकरणकै ट्रान्समिसन लाइन विभाग हेर्ने डेपुटी म्यानेजिङ्ग डाइरेक्टर बज्रभुषण चौधरी रहेका छन् ।
त्यस्तै संभावित उम्मेद्वारको रुपमा प्राधिकरणकै प्रशासन हेर्ने पूर्व नायब महाप्रबन्धक शान्तिलक्ष्मी शाक्यलाई पनि संभावित उम्मेद्वारको रुपमा हेरिन्छ । प्राधिकरणबाट अवकास पाइसकेकी उनी हाल सान्जेन जलविद्युत कम्पनीकी सञ्चालक छिन् । पहिला कुलमानले प्राथमिकता पाउनु पर्ने मान्यता राख्ने उनी कुलमानको विकल्पमा दाबेदासको रुपमा प्रस्तुत हुने गर्थिन ।
उनले हाल अन्य दाबेदारको तुलनामा खासै दौडधुप नबढाएको स्रोतले बताएको छ । शाक्य लगायत प्राधिकरणका सबै दाबेदार १२ औं तहका कर्मचारी हुन ।
अन्य पाँच जना दाबेदारले भने कार्यकारी निर्देशकका लागि शक्तिकेन्द्रहरुमा धौडधुप बढाइरहेको समाचार स्रोतले उल्लेख गरेकोे छ । ती शक्तिकेन्द्रहरुमा उनीहरुले आ–आफ्नो योजना लिएर धाइरहेका छन् । शक्तिकेन्द्रमा जाँदा केही उम्मेद्वारले योजना बाहेक आर्थिक प्रलोभनको प्रस्ताव समेत लिएर जाने गरेको स्रोत बताउँछ ।
ती उम्मेद्वार मध्ये अहिलेसम्म शुशिल ज्ञवालीकै संभावना रहेको स्रोतले जानकारी दिएको छ । ‘पार्टीपंक्तिको माथिल्लो दबाब पनि ज्ञवालीमै भएकाले प्रधानमन्त्री पनि उनलाई नै कार्यकारी निर्देशक बनाउने मोडमा हुनुहुन्छ कि जस्तो मलाई लागेको छ ।’ ओली निकट एक नेताले भने– ‘ज्ञवालीलाई यसअघि लगानी बोर्डमा लैजाने प्रयास थियो । तर उनलाई त्यहाँ नलगी विद्युतमा ल्याउने आश्वसन दिइएको थियो ।’
उनी नेकपाका एक प्रभावशाली नेताका नातेदार समेत भएको बुझिएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई पुनर्नियुक्ती दिंदा शक्तिकेन्द्रले घुस खान नपाउने भएपछि कानुनी अड्चनका बाहानामा उनलाई पुनर्नियुक्ति नदिएको चौतर्फी अनुमान लगाइदै आएको छ । यस्तो अवस्थामा भने ज्ञवाली बाहेक राम्रो खर्च गरेर आउन सक्ने अन्य उम्मेद्वारको संभावना पनि उत्तिकै रहने बताइन्छ । यस्तो मामलामा विद्युत विकास विभागका नविन राज सिंह अगाडी भएको प्राधिकरण बृतमा चर्चा चलेको छ । त्यसकारण प्राधिकरणमा उनको संभावना पनि उत्तिकै भएको बताइन्छ ।
त्यस्तै अर्का कार्यकारी निर्देशकका दाबेदार शाक्य प्रधानमन्त्रीका साला नाता पर्ने बताइन्छ । नेकपाबृतमा ‘राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे प्रवृति’ हाबी भइरहेकाले पनि उनको पनि उत्तिकै संभावना रहेको स्रोत बताउँछ ।
त्यसैगरी जेष्ठताका आधारमा हाल का.मु. कार्यकारी निर्देशक जिम्मेवारी पाएका कोइरालाले पनि कार्यकारी निर्देशकमा तीब्र इच्छा व्यक्त गरिरहेको प्राधिकरण स्रोतले बताएको छ । उनले पनि आफ्नो सबै शक्ति प्रयोग गरेर सो पदमा स्थापित हुने चाहाना राखेको सो स्रोतले उल्लेख गरेको छ ।
त्यसैगरी हरेराज न्यौपाने प्राधिकरणका लागि सबैभन्दा उपयुक्त पात्र भएको चर्चा प्राधिकरणमा चलिरहेको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालय जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनलाई ल्याउन प्राधिकरणका अधिकांश कर्मचारी समेतले जोडबल गरिरहेको बुझिएको छ । महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उनी ल्याउँदा कुलमानको अभाव नहुने प्राधिकरणको इन्जिनियरिङ विभागमा कार्यरत एक कर्मचारीले बताए । कर्मचारीहरुको जोडबलका साथै न्यौपाने आफैले पनि प्रयास गरिरहेको पनि उच्च स्रोतले जानकारी दिएको छ ।
त्यस्तै अर्का दाबेदार बज्रभुषण चौधरीले पनि कार्यकारी निर्देशकमा नियुक्तीका लागि आफ्नो सबै शक्ति प्रयोग गरिरहेको बुझिएको छ । उनले पनि शक्तिकेन्द्रहरुमा दौडधुपलाई तीब्र पारेकोे बताइन्छ ।
जनस्तरबाट कुलमानलाई नै पुन कार्यकारी निर्देशक बनाउन दबाव आएपनि सत्तापक्षका नेतृत्व तहले उनलाई नदोहो¥याउने पक्का भएपछि प्राधिकरणमा उनको संभावना लगभग न्युन हुँदै गइरहेको छ ।
अहिले कुलमान नियुक्तीका लागि आन्दोलन भइरहेकाले पनि आन्दोलनलाई गलाएर मत्थर भइसकेपछि मात्रै कार्यकारी निर्देशक नियुक्ती गर्ने सोचाईमा रहेको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । ‘अहिले लोडसेडिङ हुने समय होइन ।’ सो स्रोत भन्छ– ‘कुलमान नहुँदा पनि लोडसेडिङ नहुने रहेनछ भन्ने आम सर्वसाधारणलाई सन्देश दिएपछि कुलमान समर्थकको आन्दोलन मत्थर हुने बुझाई छ । यही रणनीति अनुसार केही महिना पछि कार्यकारी निर्देशक नियुक्ती गर्ने सोचमा बालुवाटार रहेको छ ।’
प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती विषयमा सत्तापक्षकै दुई धारको मत बाझिएकाले पनि प्राधिकरणमा लामो समय कामु कार्यकारी निर्देशकबाटै प्राधिकरण अगाडि बढ्ने संभावना पनि उत्तिकै रहेको नेकपाका एक प्रभावशाली नेताको ठहर छ । प्राधिकरणको विभागीय मन्त्री पूर्वमाओवादीको रहेको छ । विभागीय मन्त्रीले प्रस्ताव गरेको नामलाई प्रधानमन्त्रीले स्वीकृत गर्ने पक्षमा देखिदैनन् ।
विभागीय मन्त्रीको हैसियतले कार्यकारी निर्देशक नियुक्तीमा आफ्नो कुरा पनि लागू हुनु पर्ने पक्षमा उर्जामन्त्री बर्षामान पुन छन् । विवादित यो विषयलाई हेर्दा पनि कार्यकारी निर्देशकको नियुक्ती लम्बिने प्रष्टै देखिन्छ ।
उर्जामन्त्री पुनले गरेको प्रस्ताव प्रधानमन्त्रीले नमानेको र प्रधानमन्त्रीले ज्ञवाली–ज्ञवाली मात्रै भन्ने गरेको कुरा चित्त बुझाई नभएपछि प्रचण्ड सामु मन्त्री पुन झ्वाक्किएको समेत पूर्वमाओवादी स्रोतले बताएको छ । यो बिषयमा गुनासो पोख्न मन्त्री पुन अबेर राती प्रचण्ड निवास समेत पुगेका स्रोत बताउँछ । प्रधानमन्त्रीको यस्तो हस्तक्षेप अति भएको भन्दै मन्त्री पुनले प्रचण्डलाई गुनासो समेत गरेको ती स्रोतको भनाई छ ।