ई–आर्थिक, काठमाडौं । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । यो नीति बनेसँगै नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा निजी प्रयोजनका लागि जहाज खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
यो नीति सम्बन्धित सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको छ । मस्यौदाअनुसार अब निजी तथा तालिम प्रयोजनका लागि एक इन्जिन भएको वायुयानको आयात र सञ्चालन गर्न पाइने छ । यसका लागि वायुयान उत्पादन गर्ने संस्थाले तोकेको इन्जिन परफरमेन्स, नियामक निकायले जारी गरेका शर्त पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निजी प्रयोजनको लागि शर्त पुरा गरेर खरिद गरिने जहाज भाडामा अथवा व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन । त्यस्ता जहाजका लागि समेत हवाई उडान सुरक्षाका प्रावधान भने अन्य व्यवसायिक उडानसरह लागु हुनेछ ।
नीतिमा त्यस्ता जहाज आयत गर्दा १२ बर्ष पुराना जहाज आयात गर्न पाउने छैन् । यस्तो नीतिले नेपालको सबैभन्दा धनी बिनोद चौधरीजस्ता व्यक्तिहरुलाई निजी जहाज खरिद गर्न मद्दत पुग्छ ।