२०८३ साउन ९ शनिबार

जोखिम व्यवस्थापन गर्न बैंकका योजना के छन् ?

ई आर्थिक    बुधबार, भाद्र ३ २०७७
12K
Shares
जोखिम व्यवस्थापन गर्न बैंकका योजना के छन् ?

अत्यावश्यक बैंकिङ सेवा नरोकियोस् भनेर राष्ट्र बैंकले बिजनेस कन्टिन्युटी मागे पनि धेरै बैैंकले बुझाएनन्

यज्ञ बञ्जाडे, काठमाडौँ : कर्मचारी नै कोरोना संक्रमित भएपछि गत साता एभरेस्ट बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालय दुई दिन बन्द गरियो । क्लियरिङलगायत महत्त्वपूर्ण काम अन्य स्थानबाट हुँदै आएकाले सेवा प्रवाह प्रभावित नभएको बैंकले दाबी गरेको छ ।

कर्मचारीमा कोरोना देखिएकै कारण आइतबारदेखि प्राइम बैंकको मुख्य कार्यालय बन्द गरिएको छ । परीक्षणका सबै रिपोर्ट आइनसकेको भन्दै बैंकले कहिलेसम्म मुख्य कार्यालय बन्द गर्ने भन्ने निर्णय गरेको छैन । ‘सबै कर्मचारीको रिपोर्ट आइसकेको छैन, रिपोर्ट कस्तो आउँछ त्यसका आधारमा मुख्य कार्यालय कति दिन बन्द गर्ने भन्नेबारे निर्णय गर्छौं,’ प्राइम बैंकका महाप्रबन्धक सञ्जीव मानन्धरले भने ।

कोरोनाको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम तीव्र छ । यही कारण बैंक तथा वित्तीय संस्थालाई वैकल्पिक योजना बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । तर कोभिड–१९ को सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकहरू कमजोर देखिएका छन् । अप्ठ्यारो परिस्थितिमा पनि अत्यावश्यक बैंकिङ सेवा नरोकियोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले बिजनेस कन्टिन्युटी प्लान (बीसीपी) बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । तर सोमबारसम्म धेरै बैंकले बीसीपी बनाएका छैनन् । विदेशी लगानी भएका र वित्तीय अवस्था राम्रो भएका केही बैंकमा उत्कृष्ट वैकल्पिक योजना रहेको बताइएको छ ।

कर्मचारीमा संक्रमण देखिए बैंककै खर्चमा सुरक्षित तरिकाले घर वा होटलमा आइसोलेसनमा राख्न पनि राष्ट बैंकले निर्देशन दिएको छ । यो विषयमा अपवादबाहेक कुनै पनि बैंकको होटलसँग छलफलसम्म नभएको सूचना राष्ट्र बैंकसमक्ष पुगेको छ । ‘सम्भावित जोखिम व्यवस्थापनमा बैंकको तयारी पर्याप्त भएन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘कुनै एक बैंकको मुख्य कार्यालय सिल गर्नुपरे अत्यावश्यक सेवा रोक्नुपर्ने अवस्था छ ।’ प्रायः बैंक तथा वित्तीय संस्थामा स्विफ्ट, क्लियरिङ, आईटीलगायत महत्त्वपूर्ण काम मुख्य कार्यालयबाट सञ्चालन हुँदै आएको छ । यसकारण बैंकको मुख्य कार्यालय ‘सिल’ गर्नुपर्ने अवस्था आए ती सेवा अवरुद्ध हुने सम्भावना बढी रहेको बताइएको छ ।

अप्ठ्यारो परिस्थितिमा पनि सेवा कसरी सञ्चालन गर्ने भन्नेबारे वैकल्पिक तयारी कस्तो छ भनेर राष्ट्र बैंकले बैंकहरूसँग सूचना मागेको छ । प्राप्त सूचनाका आधारमा बैंकहरूको तयारी पर्याप्त नभएको राष्ट्र बैंकको निष्कर्ष छ । ‘स्विफ्ट र क्लियरिङ सञ्चालन गर्न धेरै बैंकमा वैकल्पिक योजना देखियो,’ स्रोतले भन्यो, ‘तर स्विफ्ट सञ्चालन गर्ने वैकल्पिक योजना बहुसंख्यक बैंकसँग छैन ।’

कोभिड–१९ को सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकहरू लागिरहे पनि तयारी पर्याप्त नभएको राष्ट्र बैंक सुपरिभिजन विभाग प्रमुख मुकुन्दकुमार क्षेत्रीले बताए । ‘विदेशी लगानी भएका बैंकलगायत केही बैंकले बीसीपी बनाएका छन्,’ उनले भने, ‘तर, केही बैंकले अझै पनि छलफल गरिरहेको बताएका छन् ।’ कोभिडका कारण केही कार्यालय सिल गर्नुपर्ने अवस्था आयो भने अत्यावश्यक सेवा जारी राख्न बैंकहरूसँग केकस्तो योजना छ भनेर सूचना मागिएको उनले स्विकारे ।

कोभिडको जोखिम सुरु भएदेखि नै आफूहरूले बैंकहरूलाई बीसीपी बनाउन आग्रह गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘संघले सुरुमा तीन महिनाअघि नै यस्तो आग्रह गरेको थियो । त्यसपछि पनि पटकपटक सोही कुरा दोहोर्‍याइरहेका छौं,’ उनले भने, ‘आशा छ धेरै बैंकले बीसीपी बनाएका होलान् ।’ संघ नियामक निकाय नभएकाले बैंकको तयारीबारे जानकारी नभएको उनले बताए । आफू आबद्ध सानिमा बैंकको हकमा भने वैकल्पिक योजना तयार रहेको उनले दाबी गरे ।

बैंकले प्रदान गर्ने विभिन्न सेवामध्ये स्विफ्ट, क्लियरिङ, आईटी, ट्रेजरी, ट्रेड फाइनान्सलगायत सेवालाई महत्त्वपूर्ण मानिन्छ । यसकारण अप्ठ्यारो परिस्थितिमा पनि ती सेवा रोक्न मिल्दैन ।यसका लागि बैंक तथा वित्तीय संस्थाले एकभन्दा बढी स्थानबाट पनि ती सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउनुपर्छ । एक स्थानबाट मात्र ती सेवा सञ्चालन गर्दा कुनै कारणले सो स्थानबाट सेवा रोक्नुपरे सबै काम नै प्रभावित हुन्छ ।

राष्ट्र बैंकले भने बीपीसी बनाइसकेको प्रवक्ता गुणाकर भट्टको दाबी छ । ‘स्विफ्ट पनि दुई स्थानमा राखिएको छ, अरू कामका लागि पनि वैकल्पिक योजना बनेको छ,’ उनले भने । जोखिम व्यवस्थापनकै लागि वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा एक समिति गठन गरिएको पनि उनले जानकारी दिए । कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij