२०८३ साउन ९ शनिबार

वित्तीय संस्थाका कर्मचारीको स्वास्थ्यलाई ध्यान दिन राष्ट्र बैङ्कको निर्देशन, कर्मचारीको सम्पूर्ण खर्च संस्थाले व्यहोर्नुपर्ने

ई आर्थिक    शुक्रबार, साउन ३० २०७७
2.7K
Shares
वित्तीय संस्थाका कर्मचारीको स्वास्थ्यलाई ध्यान दिन राष्ट्र बैङ्कको निर्देशन, कर्मचारीको सम्पूर्ण खर्च संस्थाले व्यहोर्नुपर्ने

ई–आर्थिक, काठमाडौं । बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारीमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले त्यस्ता संस्थालाई ध्यानाकर्ष गराउँदै निर्देशन दिएको छ । बढ्दो कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई कर्मचारीको स्वास्थ्यलाई ध्यान दिन निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई एक सर्कुलर जारी गर्दै कोरोना भाइरस सुरक्षा व्यवस्थापन समूह गठन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कोरोना भाइरस सङ्क्रमणको समयमा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नुपर्ने रकम सबै बैङ्कले नै बेहोर्न निर्देशन दिएको छ । साथै राष्ट्र बैङ्कले कोरोना भाइरसको जोखिम पछिल्लो समय बढ्दै गएकाले घरमै बसेर र आलोपालो कार्यालय गएर काम गर्ने व्यवस्था मिलाउन पनि जोड दिएको छ ।

कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख छ । सङ्क्रमितको सम्पर्कमा आएका वा कन्ट्याक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटल क्वारेन्टाइनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैङ्क तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने राष्ट्र बैङ्कको निर्देशनमा उल्लेख छ ।

अहिलेको जटिल अवस्थामा डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन निर्देशन दिँदै राष्ट्र बैङ्कले इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कंदा पीसीआर परीक्षण गराई रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैङ्क तथा वित्तीय संस्थाले गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

त्यस्तै दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाका बैङ्क तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन दिँदै बाँकी कर्मचारीलाई बैङ्क तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाई सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिन समेत राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

यसले जोखिम कम हुनुका साथै जोखिममा पर्नसक्ने कर्मचारीलाई राहत अनुभव हुने पनि राष्ट्र बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij