२०८३ साउन ९ शनिबार

ठडिँदै उपत्यकाका सान

ई आर्थिक    शनिबार, साउन १० २०७७
10K
Shares
ठडिँदै उपत्यकाका सान

सम्पदा पुनर्निर्माण

शिवहरि घिमिरे, काठमाडौं । भूकम्पले क्षतिग्रस्त काठमाडौं उपत्यकाका सम्पदामध्ये तीनवटाको पुनर्निर्माण प्रक्रिया सुरुमा निकै विवादित बन्यो। रानीपोखरी, काष्ठमण्डप र धरहराको पुनर्निर्माण शैली, प्रविधि र निर्माण सामग्रीलाई लिएर निकै विवाद भयो। करिब चार वर्ष विवादमा परेपछि यी सम्पदाको अवस्था के होला भन्ने चिन्ता धेरैमा थियो। विवादबीच सुरु भएको पुनर्निर्माण कार्यले भने सोचेभन्दा राम्रो गति लियो। अबको एक महिनामा रानीपोखरी पुरानै स्वरूपमा तयार हुनेछ। काष्ठमण्डप पुनर्निर्माण हुन करिब तीन महिना लाग्नेछ भने धरहरा एक वर्षको हाराहारीमा सक्ने अनुमान छ।

भूकम्पले क्षतिग्रस्त घर तथा आवास पुनर्निमाण कार्यमा सन्तोषजनक प्रगति हासिल हुन नसके पनि उपत्यकाका ठूला सम्पदा पुनर्निर्माण कार्यले भने गति लिएको छ। विश्व सम्पदा क्षेत्रमा सूचीकृत थुपै्र सम्पदाको पुनर्निर्माण पूरा भइसकेको छ भने धरहरा पुनर्निर्माण ५० प्रतिशत सकिएको छ। पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रका थुप्रै सम्पदाले पुनर्निर्माण सकिएर पुरानै स्वरूप पाइसकेका छन्।

पुरातत्व विभागका अनुसार काठमाडौंको रानीपोखरी पुनर्निर्माणको ९० प्रतिशत काम सकिएको छ। रानीपोखरी पुनर्निर्माणको शैलीलाई लिएर सुरुमा विवाद भएपछि करिब तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो। त्यसलगत्तै रानीपोखरी पुनर्निर्माण थालिएको थियो। रानीपोखरी ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ। रानीपोखरी परिसरमा सौन्दर्यीकरणको काम पनि बाँकी छ। ‘ग्रन्थकुट’ शैलीअनुसार मन्दिरमा एक वा चारवटा प्रवेशद्वार राखिएका छन्। प्रवेशद्वारअघि दुईवटा खम्बा राखिएका छन्। पोखरीमा पानी अड्याउन सबैभन्दा तल कालीमाटी र बालुवा प्रयोग गरिएको छ। पोखरीको डिलको माथिल्लो भागमा पेटी लगाइएको छ। पोखरी निर्माण उपभोक्ता समितिका सचिव रोसनकाजी तुलाधरले पुनर्निर्माण तीन चरणमा बाँडिएको बताए। उनका अनुसार पार्क र मन्दिर बनाउन टेन्डर गरिएको छ भने पोखरीमा पानी भर्ने कामको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ।

पुनर्निर्माण थाल्नुभन्दा पहिले निकै विवादित बनेको काष्ठमण्डप र रानीपोखरीले मौलिक रूप केही दिनमै पाउने छन्। पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रका थुप्रै सम्पदाले पुनर्निर्माण सकिएर पुरानै स्वरूप पाइसकेका छन्।

काष्ठमण्डपको पनि दुई तलाभन्दा माथिको छाना बनाउने कार्य भइरहेको छ। झ्याल, ढोका र थामको काम सकिएको छ। बाँकी काम सकिन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ। पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार लकडाउनका बेला सम्पदाको धेरैजसो काम भएको थियो। लकडाउनका बेला पनि विश्वसम्पदामा सूचीकृत सम्पदा निर्माण नरोकिएपछि छिट्टै काम सम्पन्न हुन लागेको हो। उनले भूकम्पमा क्षति भएका नौ सय २० वटा सम्पदामध्ये चार सय ५२ वटाको पुनर्निर्माण सकिएको जानकारी दिए। समग्र पुनर्निर्माण कार्यको ४८ प्रतिशत प्रगति भएको उनको भनाइ छ। ‘रानीपोखरीको पिँधको काम सकिएको छ, अब पानी भर्ने काम बाँकी छ, हाल वरिपरि इँटा ओछ्याउने काम भएको छ, यो एक दुईदिनमै सकिन्छ,’ उनले भने, ‘त्यसपछि १५ दिन जतिमा बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सकिन्छ।’

गौतमका अनुसार यो वर्ष सम्पदा पुनर्निर्माण कार्य ७० प्रतिशत सक्ने लक्ष्य राखिएको छ। विभागले दुई वर्षमा सम्पूर्ण सम्पदाको पुनर्निर्माण सक्नेगरी काम अघि बढाएको जानकारी गौतमले दिए। हालसम्म ‘क’ वर्गमा परेका मुख्य सम्पदाको पुनर्निर्माण सकिएको उनको भनाइ छ। यसबाहेक स्वयम्भू, सोही क्षेत्रका गुम्बा, हनुमानढोका दरबार क्षेत्रमा रहेका साना मठमन्दिर, तलेजु मन्दिर, गद्दी बैठक, जागेश्वरी मन्दिरलगायतको पनि पुनर्निर्माण सकिएको छ। त्यस्तै नौ तले दरबार पुनर्निर्माण एक महिनामा सकिने विभागले जानकारी दियो।

भक्तपुरका कृष्ण मन्दिर, यक्षेश्वर मन्दिर, चाँगुनारायणलगायत महत्वपूर्ण सम्पदा ठडिएका छन्। हालसम्म सम्पदा पुनर्निर्माणमा चार अर्ब खर्च भइसकेको विभागले जनाएको छ।

पाटन दरबार क्षेत्रमा पर्ने, कृष्ण मन्दिर, चारनारायण, मणिमण्डप पाटी, सुन्दरी चोकलगायत मुख्य सम्पदाको पुनर्निर्माण सकिएको जानकारी काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी) का प्रमुख रोहित रञ्जितकारले दिए। उनका अनुसार हाल भीमसेन मन्दिरको पुनर्निर्माण भइरहेको छ। भाइदेग मन्दिर पुनर्निर्माण पनि तीव्र गतिमा भइरहेको उनले बताए। ‘अरू पुनर्निर्माण कार्य भन्न सकिन्न तर सम्पदा क्षेत्रमा भएको पुनर्निर्माण प्रभावकारी छ, ललितपुर क्षेत्रका लगभग सबैजसो सम्पदाले मूर्तता पाएका छन्,’ उनले भने।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij