ई–आर्थिक, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति जारी गरिने भएको छ । नेपाल राष्ट्र बैंकको बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक उक्त नीति जारी गर्न लागेको हो । दिउँसो तीन बजे जारी गरिने उक्त नीतिलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
कोभिड प्रभावित ऋणीका लागि विशेष व्यवस्था ल्याउन लागिएको राष्ट्र बैंक स्रोतले उल्लेख गरेको छ । मौद्रिक नीतिमा कोभिड–१९ को असरले थला परेको अर्थतन्त्रमा सरोकारवालाहरूको मनोबल बढाउन विभिन्न राहत कार्यक्रम ल्याउन लागिएको स्रोतले बताएको छ ।
मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिने स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार कृषिमा १२ देखि १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र बाँकी अन्यमा गरी परिमार्जन हुँने भएको छ । कृषि कर्जाको नेतृत्व भने कृषि विकास बैंकले यसअघि नै गभर्नर महाप्रसाद अधिकारीले घोषणा गरिसकेका छन् । सो व्यवस्था समेत नीतिमा उल्लेख गरिने भएको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ ।
सेयर धितोमा प्रदान गरिने कर्जाको सीमा पनि हालको ६५ प्रतिशतबाट बढाइएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन आवश्यक व्यवस्था मिलाइने घोषणा पनि नीतिमा व्यवस्था गरिने भएको छ ।
कोभिडबाट प्रभावित ऋणीले साँवा र ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्म समयावधि पाउने भएका छन् । त्यस्तै कोभिड–को असरले प्रभावित ऋणीलाई कम, मध्यम र धेरै प्रभावित गरी तीन भागमा वर्गीकरण गरिने भएको छ ।
नीतिमा सोही वर्गीकरण अनुसार साँवा तथा ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्मको समयावधि दिन लागिएको छ । यसरी धेरै समयावधिको सुविधा पाउनेमा होटेल, एयरलाइन्स, पर्यटनलगायत कोभिडबाट बढी प्रभावित क्षेत्रहरु रहनेछन् ।
निजीक्षेत्रले बजेटमा व्यवस्था हुन नसकेको राहतको प्याकेज मौद्रिक नीतिबाट आउने आशा राखेका छन् । निजीक्षेत्रको पूर्ण मागलाई पनि पूर्णरुपमा नभए पनि आशिकरुपमा संबोधन हुने बताइएको छ ।