ई–आर्थिक, बैतडी : भारतबाट केही दिन अघि आएकी बैतडी जिल्लामा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा मृत्यु भएकी ती युवती कोरोना भाइरसबाट भएको आशंका गरिएको छ । कोरोना भाइरसबाट उनको मृत्यु पुष्टि भए नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुग्ने छ । ८ जनाको भने यसअघि नै कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भइसकेको छ ।
पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
ती युवती दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी आएको स्थानीय प्रशासनको भनाई छ । मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको आशंका गरिएकी ती युवतीको परीक्षणको रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम र दाह संस्कार गरिने बताइएको छ ।