ई–आर्थिक, काठमाडौ । आइतबार गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै ‘गणितले राजनीतिलाई निर्देश गर्दैन, बरु राजनीतिले गणितलाई निर्देश गर्छ’ भन्दै ट्वीट गरे । उनको यो ट्वीट प्रचण्ड–माधब नेपाल समूहप्रति परिलक्षित थियो । प्रचण्ड–माधब नेपाल समूहका बहुमत स्थायी समितिका नेताहरुले बैठकको माग राख्दै पार्टीमा निबेदन दिएका छन् । यसले ओलीमाथि बैठक राख्न दबाब छ । तर बैठकमा बहुमत सदस्यले आफ्नो राजीनामा माग गर्ने र त्यसले संकट आउने बुझेका ओली स्थायी समितिको बैठक टार्ने पक्षमा छन् ।
ओली अहिले सबै कमिटिहरुमा नराम्रोसँग अल्पमतमा परेका छन् । ओलीको यो धर्म संकट बुझेका बाँस्कोटाले बहुमतले माग गर्दैमा बैठक राख्न् ओली बाध्य छैनन् भन्ने आसयले यस्तो ट्वीट गरेका हुन । जतिबेला ओली कमिटिहरुमा ओली बहुमतमा थिए, त्यतिबेला उनी लोकतन्त्रमा अल्पमत बहुमतको अधीनस्त हुने हुदा ओली र कमिटिको निर्णय मान्न सबै बाध्यकारी हुनुपर्छ भनेर वकालत गर्थे ।
बिधान, नीति, पद्धति, सिद्धान्त आफ्नो पक्षमा भए स्वीकार्ने नत्र धोती लगाउने कुराको पैरवी गर्ने बाँस्कोटा सत्तारुढ नेकपाभित्र ओली समूह रक्षात्मक भएपछि सक्रिय हुन खोज्दैछन् । सक्रिय हुन खोज्दैछन् भन्नुको अर्थ उनी करिब दुई महिनाअधिदेखि गुमनाम बनेका थिए । लकडाउनले घर बसेका पनि होइनन् । किनकी लकडाउन सुरु भएको एक महिना मात्र हुदैछ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका बेला एक दलालसँग ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका थिए । उक्त प्रकरणले उनको राजनीति र सामाजिक बद्नामी भएपछि उनी बालकोट निबासकै चौघेरामा सीमित थिए । मन्त्री भएपछि प्रधानमन्त्री ओलीले उनलाई क्वाटर नभएको बाहानामा आफ्नो निजी निबास बालकोटमा राखेका थिए । अडियो सार्बजनिक भएपछि मन्त्रालयमा समेत आउन नसकेर बालुवाटारमा राजीनामा बुझाएर उतैबाट बालकोट पुगेका उनी राजनीतिक र सामाजिक कार्यक्रममा देखिन सकेनन् ।
उक्त काण्डले सरकार र नेकपाकै ठूलो बद्नामी भएपछि पार्टीभित्र र समाजमा छानबिन गरी कारबाही हुनुपर्छ भनेर ब्यापक दबाब आयो । यस्तो दबाबको बिच प्रधानमन्त्री ओलीले गोकुल निर्दोष रहेको भन्दै प्रकरणलाई चोख्याउन प्रयास गरे । प्रधानमन्त्रीको यस्तो अभिब्यक्तिले सरकार र नेकपाको झन ठूलो बद्नामी भयो । यसले गोकुलको भने मनोबल केही बढ्यो । त्यसको केही सातापछि अडियोको उक्त आवाज आफ्नो नभएको भन्दै उनले जिल्ला अदालतमा मुद्धा दायर गरे । उक्त मुद्धा अहिले त्यतिकै थन्किएको छ ।
आफूमाथि बिभिन्न अनुसन्धान गर्ने निकायबाट छानबिन हुन सक्ने डरले उनी अदालत पुगेको स्रोतले बताएको छ । अहिले छानबिनले गति नलिदा समाजमा बिभिन्न आशंंका उठेका छन् । छानबिन सुस्त भएपछि उनी बिस्तारै फेरि राजनीति र सामाजिक गतिबिधिमा सक्रिय हुन खोज्दै छन् । अब आम जनता र समाजबाट उक्त घटना बिस्मृतिमा पुग्न थालेको सोचेर उनले सक्रियता बढाएका हुन । त्यसो त कोरोना भाइरसको संक्रमण उनका लागि ठूलो बरदान नै साबित भयो । आम नागरिक र मुलुकले उक्त प्रकरणमा चासो दिरहेका बेला कोरोना भित्रियो ।
आम नागरिकको जीबन रक्षा पहिलो प्राथमिकतामा पर्न गयो र उनीहरुले आफू सुरक्षित हुनतिर ध्यान केन्द्रित गरे । यही बेला मुलुकमा लक डाउन भएको र बिश्वमा नै कोरोनाले मानब जाति संकटमा परेपछि साराको ध्यान यतातिर मोडियो । यो मारामारी अहिले पनि कायमै छ भने नेपालमा यस्को संक्रमण बढिरहेको छ । यसैले आम जनताले हिजोका प्रकरणतिर ध्यान दिन सकेका छैनन् भने आम सन्चार माध्यम पनि कोरोना माहामारीमै केन्द्रित छन् ।
एकातिर मुलुकको अबस्था यस्तो भएको र अर्कोतिर प्रधानमन्त्री ओली पार्टीभित्रको शक्ति सन्तुलन बिग्रिएर संकटमा परेपछि गोकुलले यो अबस्थालाई आफ्नो सक्रियता बढाउने अबसरका रुपमा प्रयोग गर्न खोज्दैछन् । गएको फागुन ८ गते सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल गोकुल बाँस्कोटालाई पदबाट वर्खास्त गरी घटनाबारे छानबिन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । यस्तै मन्त्री बाँस्कोटालाई नेकपाकै सांसदहरुले राजीनामा दिन सुझाव दिएका थिए ।