ई–आर्थिक, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ का करिब ३ सय घर परिवारका सबै मानिसको परीक्षण गरिदैछ । एकै ठाउँमा धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उक्त स्थानका सबै घरपरिवारको स्थास्थ्य परिक्षण गर्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताएका छन् ।
सो नगरपालिकाको भुल्केको एक मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त वडाका सबै मानिसहरूको परीक्षण गर्न लागिएको सुवेदीले जानकारी दिए ।
त्यसैगरी कोरोनाभाइरस सङ्क्रमित बसेको उक्त मस्जिदमा बसेका अन्य र उनीहरूको सम्पर्कमा रहेका आसपासका बस्तीका करिब १५ सय मानिसको परीक्षण गर्नुपर्ने अवस्था रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए ।
त्रियुगा नगरपालिकाको वडा नं १, २, ३, ६ र १२ मा कोरोना सङ्क्रमितहरूको आवतजावत भएको देखिएको मेयर चौधरीले जानकारी दिए ।
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय विराटनगरले आवश्यकता अनुसार द्रुत तथा पीसीआर परीक्षणका लागि चिकित्सकसहितको टोली खटाइसकिएको जनाएको छ ।
स्थानीय प्रशासनले कोरोनाभाइरस सङ्क्रमित भेटिएको मस्जिदको आसपासका क्षेत्रमा मानिसको आवतजावतमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जनाएको छ ।
आफू, आफ्नो परिवार, समुदाय र आम नेपालीलाई कोरोना भाइरस संक्रमित हुनबाट बच्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने संक्रमित भेटिएका स्थान भुल्केका स्थानीय तथा मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले जानकारी दिए ।
आवत जावत हैन घरबाटै बाहिर निस्कन नदिएकाले भने जनजिवन केही कष्टकर बनिरहेको भण्डारीले बताए ।
मस्जिदमा भेटिएका सङ्क्रमितहरूको अन्य मानिससँगको सम्पर्क र उनीहरूको आउजाउको विवरण सङ्कलन गर्न थालिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताएका छन् ।
मस्जिदमा बसेका उनीहरूको द्रुत विधि वा आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर उनीहरूको स्वाब सङ्कलन गरी कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा भने सङ्क्रमण रहेको पोजिटिभ परिणाम आएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । त्यहाँ भएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
प्रारम्भिक विवरण अनुसार गत फागुनमै उनीहरू भारतको दिल्लीबाट जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए । त्यसपछि मोरङ्ग, सुनसरी, सप्तरी हुँदै उनीहरू उदयपुर पुगेको बताइएको छ ।
यसैबीच उदयपुरको चौदण्डीगढी नगरपालिकाको सिवाईमा पनि सुरक्षा निगरानी कडा गरिएको छ भने आवत जावतमा प्रतिवन्ध लगाइएको छ । भुल्केमा भेटिएका कोरोना संक्रमित उक्त स्थानमा पनि बसेको र केही भारतीय मुसलमान समेत अझै सिवाईमा पाहुना लागिरहेको हुनाले उक्त स्थानमा कडा निगरानी गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।