२०८३ साउन १२ मंगलबार

युरोप–अमेरिकामा माहामारी भएको कोबिड–१९ सार्क मुलुकहरुमा सामान्य, किन ?

ई आर्थिक    सोमबार, चैत्र २४ २०७६
15.3K
Shares
युरोप–अमेरिकामा माहामारी भएको कोबिड–१९ सार्क मुलुकहरुमा सामान्य, किन ?

ई–आर्थिक, काठमाडौं । नेपालमा कोबिड–१९ को संक्रमण दोस्रो चरणमा प्रबेश गर्दा जम्मा नौ जनामा मात्र पोजेटिभ देखिएको छ । एक जना उपचारपछि घर फर्केका छन् भने बाँकी सामान्य अबस्थामा उपचार गराइरहेका छन् । यो रोगबाट कसैले जीबन गुमाउनु परेको छैन । एक अर्बभन्दा बढी जनसंख्या भएको भारतमा अहिलेसम्म ९९ जना मात्रको मानिसको ज्यान गएको छ भने ३ हजार ५ सय ८८ मानिसमा लक्षण देखिएको छ ।

नेपाल र भारत मात्र नभई कोबिड–१९ को सरुआत भएको मुलुक चीनका एकदमै नजिकका अन्य छिमेकी मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण निकै नै कम देखिएको छ । जबकि चीनसंग एकदमै टाढा दुरी रहेका धनी, शक्तिशाली र हरेक क्षेत्रमा अगुवाई गर्ने अमेरिकालगायतका पश्चिमी मुलुकहरुमा भने यो रोगले महामारीको रुप लिएको छ ।

चीनका छिमेकी दक्षिण एसिया मुलुकहरुमा यसको त्रास उत्तिकै रहे पनि संक्रमण भने तुलनात्मक रुपमा निकै नै कम छ । आइतबारसम्ममा सार्क राष्ट्रहरुमा १६० मानिसको मात्र ज्यान गएको छ भने करिब सात हजार मानिसमा संक्रमण भएको छ । पाकिस्तानका २ हजार ८ सय १८ मानिसमा संक्रमण हुदा ४१ मानिसको ज्यान गएको छ भने बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गएको छ ।

दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ भने १२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ ले पछिल्लो चरणमा अमेरिकासहित युरोपेली मुलुकहरुमा भयावह स्थिति उत्पन्न भएको छ । युरोपेली मुलुक इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजारभन्दा बढी सङक्रमित छन् । त्यस्तै स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजारभन्दा बढी सङक्रमित छन् । जर्मनीमा १ हजार ४४४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ३१३ जना नेदरल्यान्ड्समा १ हजार ६५१ जना र बेल्जियममा १ हजार २८३ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी सङक्रमित छन् । चीनमा भने ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् । नेपाललगायत गरिब तथा स्वास्थ्य क्षेत्रको राम्रो ब्यबस्था नभएका मुलुकहरुमा पश्चिमा समृद्धशाली मुलुकको तुलनामा संक्रमण कम हुनुको कारण यतिबेला निकै चर्चामा रहेको छ ।

अमेरिका र युरोपमा महामारीको रुप लिएको कोरोना नेपालमा किन भयाबह भएन ? यसबारेमा बिभिन्न धारणा आउने गरेको छ । यि मध्ये कतिपय धारणा अन्धबिश्वासी र अड्कलबाजी छन् भने कतिपय धारणा यथार्थसँग नजिक पनि पाइन्छ । यि मध्ये नेपाल र दक्षिण एसियाली मुलुकहरुको खानपिन संस्कृतिसँग जोडिएको धारणा निकै यथार्थपरक लाग्न सक्छ । अहिले महामारीको रुप लिएको पश्चिमी क्षेत्रको खानपिन र सार्क क्षेत्रको खानपिनमा निकै ठूलो अन्तर भएको जोकोहीले अनुभब गरेका छौं ।

अमेरिकालगायत पश्चिमा युरोपेली मुलुकहरु बढी मात्रामा प्याकेजिङ खानेकुरा खाने गर्छन । ब्यस्त जीबनशैलीका कारण एकै पटक धेरै खाना बनाएर फ्रिजमा राख्ने गर्छन र ओभनमा तताएर त्यसलाई हप्ता दिनभन्दा बढी प्रयोग गर्छन । यस्तो खानामा क्यालोरी त हुन्छ, भोक पनि मेटाउँछ तर शरीरलाई आवश्यक पर्ने रोग प्रतिरोधात्मक क्षमता भने निस्क्रिय भएको हुन्छ ।

बाहिरी हेर्दा मानिस निरोगी झै देखिए पनि यस्ता खानेकुराले शरीरलाई भने जति ताकत दिनुपर्ने हो दिन सक्दैन । अहिले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी देखिएको छ । अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता लागेको छैन । तर कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण भएको उपचारमा संलग्न चिकित्सकहरुले बताइरहेका छन् ।

पोषणबिद् डा. अरुणा उप्रेती हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न महामारी निम्त्याउने रोगसँग सजिलै लड्न सक्ने बताउँछिन् । उनका अनुसार प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । ‘हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । यसका लागि हाम्रा दैनिक खानेकुरा मुख्य स्रोत हुन ।’ उनी भन्छिन । उनका अनुसार बजारका भन्दा घरमै बनाएका ताजा खानेकुरामा बढी पौष्टिक तत्व पाइन्छ ।

खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने हुनाले स्वस्थ्य आहारविहार गर्नुपर्ने सुझाब दिदै पोषणबिद् डा. उप्रेती प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट , चिल्लो पदार्थ, भिटामिनहरुको मात्रा पु¥याएर सन्तुलिन भोजन गर्न सुझाब दिन्छिन । नेपाली र सार्क क्षेत्रका मानिसले दैनिक उपयोगमा ल्याउने प्राकृतिक खानेकुरामा अमला, कागती, किवी, जुनार, मेवा, हरियो तरकारी, सागहरु हुन । यि खानेकुरा भिटामिन सि प्रसस्त पाइन्छन । त्यस्तै सूर्यमुखीको बियाँ, ओखर, बदाम, एभोकाडो, ब्रोकाउली, पालुंगोमा भिटामिन ई पाइन्छ । यो पनि हामीले दैनिक प्रयोग गर्छौ ।

दूध, सखरखण्ड, पिस्ता, चना, केराउ, तोफु आल्मोन्ड, फर्सीको बियाँ, काजु, चना, टुसा उमारिएको गेडागुडी दही, चिज, गुन्द्रक, लसुन, अदुवा, बेसार हाम्रा दैनिक खानेकुरा हुन । हामीले दैनिक खाएका यि खानेकुरामा पोषिलो मात्र नभइ शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने खानेकुरा समेत हुन । नियमित यि खानेकुराका कारण पनि यो संक्रमणबाट केही जोगिएको हुनसक्छ । तर कोरोना भाइरसको हकमा यि कुरा प्रमाणित भएका छैनन् । खाली रोग प्रतिरोधी क्षमताका दृष्टिले मात्र यसो भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij