ई आर्थिक, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका छन् । राष्ट्रपति डुट्रेटले लुजोनको टापुमा लागु गरिएको एकमहिने लकडाउनका बेला हिंस्रक प्रदर्शनमा कोही उत्रिए तत्कालै गोली चलाउन प्रहरी र सेनालाई आदेश दिएका हुन् ।
“मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,” उनले टेलिभिजन सम्बोधनमा आदेश दिए । सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मेट्रो मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुट्रेटले यस्तो आदेश जारी गरेका हुन् ।
फिलिपिन्समा २३ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ । त्यस मध्ये ९६ जनाको मृत्यु भइसकेको छ । ३० जनवरीबाटै संक्रमणको पुष्टि भएको फिलिपिन्समा बन्दाबन्दी घोषणा गरिएको छ । फिलिपिन्समा १२ अप्रिलसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको छ ।
यो अवधिमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । तर, यसको विरुद्ध प्रदर्शन भए गोली चलाउन आदेश दिइएको अन्तर्राट्रिय मिडिया अलजजिरा तथा बीबीसीमा उल्लेख छ ।