ई आर्थिक, काठमाडौं । खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ।
यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ।
बीबीसीका अनुसार व्यास्प-७६बी नामले चिनिने उक्त ग्रहले आफ्नो माउतारालाई एकदमै नजिकबाट परिक्रमा गर्छ। दिउँसो यसको तापक्रम २,४०० डिग्री सेल्सीअस नाघ्छ। त्यो तापक्रममा धातुहरू पनि पग्लिन्छन्। उक्त ग्रहको रात्रिकालीन तापक्रम १,००० डिग्रीले घट्छ। त्यसो हुँदा पग्लिएका धातुहरू सङ्घनित हुन्छन् र वर्षाका रूपमा तल खस्छन्।
जिनिभा विश्वविद्यालयका डा. डाभिड एहर्न्राइशका अनुसार त्यो विचित्रको स्थिति हो। “पानीका थोपाको वर्षाको साटो फलामका थोपा बर्सिएको अनुमान गर्नुहोस्,” उनले बीबीसीलाई भने।
स्विट्जरल्यान्डका ती अनुसन्धानकर्ता र उनका सहकर्मीहरूले गरेको अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ। उक्त शोधमा अनुसन्धानकर्ताहरूले युरोपियन सदर्न अब्जर्भेटरीको चिलेस्थित भेरी लार्ज टेलिस्कोपमा भएको ‘एस्प्रेसो’ नामक नयाँ उपकरण प्रयोग गरी कसरी व्यास्प-७६बी को रासायनिक प्रकृतिको विस्तृत अध्ययन गरियो त्यसको वर्णन गरेका छन्।
हामीभन्दा ६४० वर्ष टाढा अवस्थित उक्त ग्रह आफ्नो माउताराको धेरै नजिकै छ। उक्त ग्रहलाई माउताराको परिक्रमा गर्न ४३ घण्टा लाग्छ। तारातिर सधैँ उही भागमात्र देखिनु उक्त ग्रहको अर्को चाखलाग्दो विशेषता हो। वैज्ञानिकहरूले त्यस्तो स्थितिलाई ‘टाईडल लकिङ’ अर्थात् ‘ज्वारबन्धन’ भन्छन्।
पृथ्वीको उपग्रह चन्द्रमा पनि त्यस्तै स्थितिमा हुन्छ। त्यसैले हामी सधैँ चन्द्रमाको एकातिरको भाग मात्र देख्छौँ। यसको अर्थ के हो भने व्यास्प-७६बी को तारोन्मुख भाग दनदनी बलिरहेको छ। त्यो गोलार्ध यति तातो छ कि त्यहाँ बादल विघटित हुन्छ र वायुमण्डलमा सबै अणुहरू टुक्रिएर परमाणुको रूपमा छरिन्छन्।
डा. एहरन्राइशको टोलीका अनुसार उक्त ग्रहको उज्यालो र अँध्यारो भागमा हुने तापक्रमको विशाल अन्तरले प्रचण्ड आँधी उत्पन्न हुन्छ। त्यस्तो आँधीको वेग १८,००० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ। एस्प्रेसो स्पेक्ट्रोमिटर प्रयोग गरेर वैज्ञानिकहरूले उक्त ग्रहमा साँझपख फलामको बाफ निस्किएको प्रमाण फेला पारे। तर बिहानीपख फलामको कुनै सङ्केत बाँकी देखिएन।
“हाम्रो अनुमान के छ भने ताराविमुख भागमा फलाम सङ्घनित भइरहेको छ। त्यो भागमा तापक्रम १,४०० डिग्री सेल्सीअस भए पनि फलामको बाफ सेलाएर बादल बन्न र सम्भवतः थोपाका रूपमा वर्षा हुन पर्याप्त छ,” डा. एहरन्राइशले भने।”ती थोपा वायुमण्डलका भित्री तहहरूसम्म खसेका हुन सक्छन् जुन हाम्रो उपकरणले पत्ता लगाउन सक्दैन।”
उक्त भीमकाय ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिको चौडाइभन्दा दुईगुना ठूलो छ। यूकेको नेतृत्वमा सञ्चालित व्यास्प टेलिस्कोप प्रणालीको नाम प्रयोग गरेर उक्त ग्रहलाई व्यास्प-७६बी भनिएको हो।
अनुसन्धान टोलीका एक सदस्य तथा वरिक विश्वविद्यालयका प्राध्यापक डन पोलाकोका अनुसार त्यस्तो अद्भुत संसारको परिकल्पना गर्न कठिन थियो।
डा. एहरन्रराइश चित्रात्मक उपन्यासका पारखी हुन्। उनले स्विट्जरल्यान्डका चित्रात्मक उपन्यासकार फ्रेडेरिक पीटेर्सलाई व्यास्प-७६बी को वर्णन गरिदिन आग्रह गरे। “प्रायः यस्ता खोजबारे हामी विस्तृत त्रि-आयामिक रचना देख्छौँ। सर्वसाधरणलाई ती वास्तविक चित्र हुन् कि कम्प्युटरबाट निर्मित चित्र भनेर छुट्याउन गाह्रो हुन्छ,” उनले भने। “तर केही रमाइलो थपेर हामीले कसैलाई झुक्याएका हैनौँ।”