ई–आर्थिक, काठमाडौं । विश्वभर कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालले पनि केही कडिकडाई गर्ने घोषणा गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधवार २५ जनाभन्दा धेरै मानिस अब भेला नगर्न आह्वान गरेको छ ।
समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । ‘सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, पौडी पोखरी, डान्सबार आदि स्थलहरू आगामी वैशाख १८ गते (३० एप्रिलं) सम्म बन्द गर्ने निर्णय गरेका छौं’ उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने । यसको अनुगमन गर्न पनि निकायहरू तोकिएको उनले बताए ।
त्यसका साथै २५ जनाभन्दा धेरै भेला हुने कुनैपनि धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम पनि रोक्न निर्देशन दिइएको उनले बताए । ‘अत्यावश्यक काममा बाहेक बाहिर डुलफिर गर्ने काम पनि अब रोक्नुपर्छ भनेर हामीले ध्यानाकर्षण गराएका छौँ’ पोखरेलले भने ।
त्यसैगरी सरकारले ‘लकडाउन’ को पूर्वाभ्यास गरेको छ । बुधवार बसेको समितिको बैठकले कतिपय देशहरूबाट विमानबाट यात्रु आउनमा पनि प्रतिबन्ध लगाएको छ ।
‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू इरान, मलेसिया, दक्षिण कोरिया, जापान आदि देशबाट आउने वा ती देशलाई ट्रान्जिट बनाइ आउने सबै यात्रुहरू (नेपाली नागरिकसहित) लाई २० मार्च मध्यरातदेखि लागू हुनेगरी १५ एप्रिलसम्म आगमनमा प्रतिबन्ध लगाएका छौँ’ उनले भने । उक्त प्रतिबन्धको निर्णयसम्बन्धी सूचना सम्बन्धित निकायहरूमा पठाइने उनले बताए ।
नेपालमा हालसम्म करिब पाँच सयजनामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गरिएको विवरण आएका छन् । कतिपय विज्ञले यसलाई अत्यन्त न्यून सङ्ख्या भन्दै त्यसैले गर्दा सङ्क्रमण भएको नदेखिएको हुनसक्ने बताउँदै आएका छन् ।
त्यसबारे उपप्रधानमन्त्री पोखरेलले भने,‘हाम्रो उपकरण, जनशक्ति वा सामाजिक चेतनाको सीमाले गर्दा केही कमजोरी भएका होलान् । तर त्यसो भन्दैमा कुनै सङ्क्रमण नभेटिएकोमा चिन्ता प्रकट गरेको जस्ता टिप्पणी भएका छन् । उनले परीक्षण विस्तार गर्ने आवश्यकता महसुस भएको र अब सातवटै प्रदेशमा चाँडै त्यो सुविधा विस्तार गर्ने तयारी भइरहेको बताए ।
सरकारले हिडडुल लगायतका कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाए पनि कार्यन्वयन नहुने अनुमान लगाइएको छ । सचेतनाको जति नै आव्हान गरे पनि सर्वसाधरणले कार्यन्वयनमा वेवास्ता गरेको पाइन्छ । हात नमिलाउनु, अंकमाल नगर्नु, भिडभाडमा नहिड्नु, दिनहुँ सावुन पानीले हात धुनु जस्ता क्रियाकलाप गरेको पाइदैन् । यसले पनि नेपालमा समस्या भयावह हुने निश्चित देखिन्छ ।