ई–आर्थिक, सोलुखुम्बु । सोलुखुम्बुमा उडिरहेको कैलाश एयरको हेलिकोप्टरबाट जस्तापातासँगै घर निर्माण सामाग्री खसेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ दिङ्बुचे जाँदै गरेको हेलिकोप्टरबाट लुङदिङ भन्ने जङ्गलमा घर निर्माणका साम्राग्री खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टी गरेको छ ।
शनिबार बिहान साढे १० बजेतिर सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ खोला जङ्गलमा इको प्यानलको ३१ थान जस्तापाता र २ रोल म्याटिस खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
उक्त स्थानमा मानविय वस्ती नभएकाले कुनै भौतिक र जनधनको क्षति भने भएको छैन । तर प्रहरी भने अहिलेसम्म उक्त स्थानमा प्रहरी पुग्न सकेको छैन । उक्त एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।