२०८३ साउन ९ शनिबार

पशुपतिनाथ मन्दिरभित्र १४२ किलो सुनको जलहरी निर्माण हुने, भक्तजनसँग चन्दा उठाउन सुरु

ई आर्थिक    बुधबार, फाल्गुन ७ २०७६
13.9K
Shares
पशुपतिनाथ मन्दिरभित्र १४२ किलो सुनको जलहरी निर्माण हुने, भक्तजनसँग चन्दा उठाउन सुरु

ई–आर्थिक, काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत संसारभरका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरी सुनको बनाइने भएको छ ।

शिवरात्रीको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माणका लागि १४२ किलो सुन जम्मा गर्न चन्दा उठाउने भएको छ । मंगलबार प्रकाशित एक सूचना अनुसार कोषले सम्पूर्ण हिन्दुको आराध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा जलहरी निर्माणका लागि चन्दा उठाउन आग्रह गरेको छ ।

नेपाली बृहत् शब्दकोशका अनुसार जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन्। हाल चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको छलफल तथा परामर्शपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा कोष पुगेको बताइएको छ। कोषका अनुसार सुन पवित्र तथा सर्वोत्कृष्ट धातु मानिने भएकोले सुनकै जलहरी बनाउने निर्णय भएको हो।

सूचना अनुसार न्यूनतम एक तोलादेखि अधिकतम एक किलोसम्म सुन वा सो बराबरको रकम दान गर्न सकिने बताएको छ। खरिद गर्न लाग्ने रकम उपलब्ध गराउने चन्दादाताको नाम दाताको इच्छा भएमा स्मारिकमा समेत प्रकाशन गरिनेछ ।

कोषले जलहरी निर्माण गर्दा २४ क्यारेटको सुन मात्रै प्रयोग गर्ने भएको छ । कोषले सुनको जलहरी निर्माण कार्यमा सम्पूर्ण हिन्दु धर्मालम्बी श्रद्धालु भक्तजनको भाव र श्रद्धासहितको सहभागिता जुटाइ जलहरी निर्माण गर्ने भएको हो ।

यस्तै, जलहरी निर्माणका लागि गोप्यदान गर्ने इच्छा हुने भक्तजनका लागि पशुपतिनाथ मन्दिरको प्रांगणभित्र एउटा र मन्दिरको पश्चिम गेटबाहिर १ गरी २ वटा दानपत्रको व्यवस्था गरिएको छ ।

कोष परिसरभित्रै कडा सुरक्षाबीच कालिगढले निर्माण गर्ने जलहरीलाई शिवलिङ्गको पीठिकामा भने भट्टहरूले नै जडान गर्ने बताइएको छ। सो कार्य गर्न भट्टहरूलाई आवश्यक तालिमको व्यवस्था मिलाइएको कोषले जनाएको छ।

कोषको अनुमानमा जलहरी उठेको भागमा १४ गेज मोटाइ भएको सुनको पाता प्रयोग गर्दा २९.१ किलो, बाहिर उठेको भागमा १६ गेज मोटाइ भएको सुनको पाता प्रयोग गर्दा १८.१ किलो, भित्र उठेको भागमा १६ गेज मोटाइ भएको सुनको पाता प्रयोग गर्दा १०.८ किलो खपत हुनेछ।

त्यसैगरि १४ गेज मोटाइ भएको जलहरी बनाउन ३४.६५ किलो, १६ गेजको नाग बनाउन २८.६१ किलो र छ गेजको नागकन्याको आकृति बनाउन ७.९ किलो सुन लाग्ने अनुमान गरिएको छ।

त्यसका अतिरिक्त कूल खपत हुने सुनको १० प्रतिशत अर्थात् झन्डै १२.९२ किलो सुन जगेडा स्वरूप रहने छ। आवश्यकताभन्दा बढी सुन प्राप्त भएमा पशुपतिनाथ मन्दिरको गजुर तथा बसाहा लगायतका मूर्तिमा रासायनिक प्रक्रियाले सुनको जलप लगाइने योजना छ।

विसं २०७७ को शिवरात्रीसम्म सुनको जलहरी निर्माण सम्पन्न गरिसक्ने कोषको लक्ष्य छ। कोषले नेपाल इनभेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंक गरी यी पाँच बैंकका विभिन्न खातामा रकम जम्मा गर्न सकिने तथा बेनामे तरिकाले दान गर्ने व्यवस्था समेत मिलाइएको कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij