ई–आर्थिक, काठमाडौं । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाको अनुहार हेर्न लायक थियो । उनमा बिगतको जस्तो न चमकधमक थियो, न काबिल अर्थमन्त्रीको दम्भ नै । निन्याउरो अनुहारमा देखा परेका अर्थमन्त्री खतिवडा धेरै सवालजबाफ गर्ने मुडमा पनि देखिदैनथे । चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा कार्यक्रममा उनी बाघबाट बिरालोमा रुपान्तरित झै देखिन्थे ।
मलिन अनुहारमा उनले भने ‘बजेटको लक्ष्य नपुग्ने भयो । त्यसैले आज संशोधन गरिएको छ ।’ त्यसपछि उनले बजेटको आकार १० प्रतिशतले घटाएको घोषणा गरे । उनको घोषणा अनुसार अब बजेटको आकार १३ खर्ब ८५ अर्ब कायम भयो । सरकारले चालु आबमा वर्ष १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट ल्याएको थियो ।
समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले राजश्व लक्ष्यमा पनि धक्का लागेको जानकारी दिए । लक्ष्य अनुसार राजश्व संकलन नभएकाले यो पनि संशोधन गर्नुपरेको बताए । अब ९०.५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान रहेको उनले जानकारी दिए । यो वर्ष ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख राजस्व संकलनको लक्ष्य थियो । अब ८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलन गर्ने गरी लक्ष्य संशोधन भएकोे छ ।
राजश्व संकलन नहुनुको कारणमा उनले ब्यबसायीमाथि दोष थोपरे । नयाँ व्यवस्थामा व्यवसायीहरु ऋलमल देखिदा भन्सार राजश्व संकलन लक्ष्यमा पुग्न नसकेको उनको भनाई थियो । आर्थिक वृद्धिदरको लक्ष्यमा भने उनी मौन देखिए । तर यसपालीको आर्थिक बृद्धिदर पनि ६ प्रतिशत नकट्ने प्रक्षेपण भइसकेको छ । सरकारको लक्ष्य भने ८ प्रतिशत छ । प्रगतिमा उनले साउनदेखि पुससम्म चालु घाटा सुधार भएको बताए ।
त्यसैगरी विदेशी लगानी उत्साहप्रद रहेको र वित्तीय पहुँच बढेको कुरा पनि उनले प्रगतिको रुपमा ब्याख्या गरे । विप्रेषण १ प्रतिशतले मात्रै बढेको छ भने चालू खाता घाटा आधाले घटेको उनले जानकारी दिए । विदेशी विनिमय सञ्चिति सुधार भएर कर्जा र निक्षेप बढेको पनि उनले गर्ब मान्दै जानकारी दिए । नेप्से परिसूचक ८५ अंकले सुधार भएको पनि बताए । खतिवडाले फागुन मसान्तसम्म पनि सुरु नहुने आयोजनाका लागि बजेट नदिने घोषणा पनि गरे ।