२०८३ साउन ९ शनिबार

३७ हजारमा जापानको नारिता : नेपाल एयरलाइन्स डुबाउने अर्को प्रपन्च, मन्त्री भट्टराई अयोग्य ठहरिए

ई आर्थिक    सोमबार, माघ २७ २०७६
6.4K
Shares
३७ हजारमा जापानको नारिता : नेपाल एयरलाइन्स डुबाउने अर्को प्रपन्च, मन्त्री भट्टराई अयोग्य ठहरिए

ई–आर्थिक, काठमाडौं । वाइडबडी र न्यारोबडी खरिदका लागि ३४ अर्ब रुपैयाँ ऋण लिएको नेपाल बायुसेवा निगमले किस्ताबापतको रकमसम्म तिर्न नसकेर ऋणदातालाई इन्तु न चिन्तु बनाइरहेको बेला पुनः अर्को गैरब्यबसायिक र हचुवा निर्णय गरेको छ । जापानको राजधानी टोकियो छेउकै बिमानस्थलको लागि एकतर्फी भाडा ३७ हजार मात्र निर्धारण गरेर निगमलाई थप उठ्नै नसक्ने गरी घाटामा लैजाने षडयन्त्र रचिएको छ । निगम ब्यापारिक संस्था हो र यसले पनि कमाउनुपर्छ, कमाएन भने संस्था उठ्नै नसक्ने गरी थलापर्छ भन्नेतिर सोच नै नबनाई निर्णय लिएको देखिन्छ ।

ब्यापारमा प्रतिश्पर्धा हुन्छ, प्रतिश्पर्धामा टिक्न नसक्ने कुनै पनि ब्यापारिक संस्था अहिलेको युगमा बाँच्न सक्दैनन् भन्ने नबुझ्ने निगममा कोही छैनन् । त्यसैले यो बुझेर निगमलाई समाप्त गर्नेगरी निर्णय गरिएको जानकारहरु बताउँछन् । अचम्म त के छ भने मुलुकद्वारा निकै आशा गरिएका बिभागीय मन्त्री योगेश भट्टराई यो प्रपन्चको साक्षी बनेर उभिए ।

निगमलाई डुवाएर राज्यको मातहातमा कुनै पनि सरकारी संस्थान टिक्दैनन भन्ने उदारहण दिन सक्रिय स्वार्थी केही ब्यक्तिहरुको जालोमा निकै काबिल हुन सक्ने अनुमान गरिएका मन्त्री भट्टराई कसरी फसे भन्ने बझिनसक्नु देखिएको छ । मन्त्री भट्टराईले निगमलाई अहिलेको प्रतिश्पर्धी युगमा प्रतिश्पर्धा गरेरै जोगाउनुपर्छ भन्ने सबैभन्दा बढी हेक्का राख्नुपर्ने हो । यस्तो सोच मन्त्रीमा नदेखिदा स्वार्थको गोटी बन्नु कुनै अचम्म नभएको स्रोत बताउँछ । मन्त्रीे भट्टराई धरातलीय यथार्थमा भन्दा सस्तो लोकप्रियतातिर लागेको स्रोतको भनाई छ । उनले सुरुमै जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेर आफ्नो अपरिपक्वता प्रदर्शन गरेका थिए । यो सस्तो लोकप्रियताबाहेक केही थिएन । एकातिर निगम डुब्यो भन्ने अर्कातिर यस्तो हचुवा र औचित्यहीन निर्णय गर्ने कुरा संगतिपूर्ण थिएन । उनको यो हचुवा निर्णयलाई सुरुमै निजी क्षेत्रले अस्वीकार गरिदियो ।

सरकारी निकाय भएकाले नेपाल एयरलाइन्स भने बाध्यतामा पर्न गयो । यो बाध्यता मात्र होइन, निगम डुवाउने उपयुक्त निर्णय पनि भएकाले स्वार्थी समूहले कार्यान्वयन गर्न हौस्यायो । यो निर्णयले निगमले घाटामाथि घाटा सहनुपरिरहेको छ ।

काठमाडौं–नारिता एकतर्फी भाडा ३७ हजार रुपैयाँ र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएपछि नेपाल एयरलाइन्सको भविष्यको बारेमा सर्बत्र चिन्ता देखिएको छ । यो भाडादरले निगमको स्थायित्वमा सुरुबाटै ठेस लाग्ने सरोकारवालाहरुको भनाई छ । यस रुटमा एयरवसको वाइडबडी जहाज ए ३३० जहाज उड्नेछ । यस विमानस्थलमा निगमले १९ फागुन (२ मार्च)मा पहिलो उडान गर्दैछ । अहिले नेपाल एयरलाइन्सले जापानको ओशाकामा उडान गरिरहेको छ । अब भने ओशाका उडान स्थगित गरी नारितामा शुरु हुने भएको हो ।

काठमाडौंबाट सातामा तीन दिन जापानका लागि सिधा उडान हुने तालिका बनाइएको छ । काठमाडौबाट सोमबार, बुधबार र शुक्रवार बिहान १ बजेर २५ मिनेटमा उड्ने तय गरिएको भने बिमानले सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्नेछ । सस्तोमा जापान उड्न पाइने भन्दै सेवाग्राही सन्तुष्ट देखिए पनि सुरुमै घाटा खाएर सेवा सन्चालन गर्नु उपयुक्त नभएको जानकारहरु बताउँछन् । यद्यपि निगमले यो भाडादरलाई प्रारम्भको प्रबद्र्धनात्मक भाडादर भनेको छ । तर जुनसुकै नाम दिइएता पनि यो भाडादरले निगमलाई सुरुदेखि नै ठूलै नोक्सानी ब्यहोर्नुपर्छ । अहिले नै निगम निकै ठूलोा घाटामा सन्चालन हुदै आएको छ ।

ब्यापार घाटा हुदा निगमले ऋणको मासिक किस्ता तिर्न नसकेको ६ महिना भइसकेको छ । ६ किस्ता बापत ४ अर्ब रुपैयाँ हुन आउँछ । किस्ता तिर्न नसकेपछि डेढ अर्ब ब्याजसमेतलाई साँवामा गाभिदिन आग्रह गर्दै केही दिनअघि मानत्र सहमतिका लागि निगमले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषबाट ऋण लिएको छ । निगमलाई दुवै संस्थाले वार्षिक १० प्रतिशत ब्याजका दरले १५ वर्षको अवधि तोकेर ऋण दिएका थिए । तर, व्यवस्थापनका कमजोरीका कारण समयमै ठूला जहाज उडाउन नसक्दा घाटामा गएर निगमले ऋणको किस्ता तिर्न सकेको छैन । यही ऋणको सावा ब्याजले निगम इन्तु न चिन्तु भएको छ । वाइडबडी जहाजको मात्रै चार किस्ता तिर्न सकेको छैन भने सञ्चयकोषलाई न्यारोबडी जहाजको दुई किस्ता तिरेको छैन ।

निगमले वार्षिक ब्याज नै ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी तिर्नुपर्छ । त्यस्तै प्रत्येक तीन महिनामा १ अर्ब १३ करोड रुपैयाँ किस्ता बुझाउनुपर्छ । निगमले सञ्चयकोषलाई वाइडबडीको १२ अर्ब र न्यारोबडीको १० अर्बसहित २२ अर्ब रुपैयाँको ब्याज र किस्ता तिर्नुपर्छ । त्यस्तै, नागरिक लगानीकोषलाई वाइडबडी खरिद गर्दा लिएको १२ अर्ब रुपैयाँ ऋणको ब्याज र किस्ता तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij