राष्ट्रियसभा निर्वाचन आज
ई–आर्थिक, काठमाडौं । मुलुकका सातै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन आज हुँदैछ । आज (बिहीबार) बिहानदेखि कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार साँझ नै पुगिसकेका छन् ।
सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ। निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ।
उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् ।
निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।
निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ।
सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध गरिएको छ ।
मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ।
‘निर्वाचन जति स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ’, आयोगले स्मरण गराएको छ ।
निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नरगराउने कार्यमा सहयोग पुर्याउन मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायत सर्वसाधारण नागरिकसँग आयोगले आग्रह गरेको छ ।
५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो ।
एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा सरिता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।
जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।