ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सहि दिशामा चलिरहेको बताएका छन्।
कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले तथ्याङ्क हेरेर मात्रै अर्थतन्त्रको विश्लेषण गर्न आग्रह गरे। उनले १५ अर्ब पुँजी भएका बैंकले २/३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताएका हुन्। नाफा अर्बमा देखिए पनि प्रतिसेयर आम्दानी कम हुने बताए।
उनले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए। व्यापारघाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजस्व बढी उठाउनुपर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने बताए। त्यस्तै उनले नेपालको अर्थतन्त्र सहि दिशा र स्थायीमार्गमा अगाडि बढिरहेको दाबी गरे। उनले बैंक वित्तीय क्षेत्र तथा व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय आग्रह समतेत गरे।
उनले भने, ‘वैदेशिक रोजगारीमा जाने संख्या पनि घटाऊ, रेमिट्यान्स पनि एकदमै धेरै ल्याऊ, व्यापारघाटा एकदमै कम गर, राजस्व पनि एकदमै धेरै बढाइहाल, निक्षेपको ब्यज धेरै देऊ, कर्जाको ब्याज त्योभन्दा कम राख यस्ता कुराले हामी कहिल्यै पनि लजिकल टुंगोमा पुग्दैनौं।’
अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरे। उनले कृषि विकास बैंकले १० लाख भन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पष्ट हुने बताउँदै निजी क्षेत्रका बैंकहरुले पनि यस्तो कर्जा बढाउनुपर्ने बताए।
उनले नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय नै भएकाले त्यसमा सहयोग गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सहायोग गर्नेगरी ऋण लगानी गर्न आग्रह समेत गरे।
अर्थमन्त्री खतिवडाले नेपालको वित्तीय क्षेत्र दक्षिण एसियामै उत्कृष्ट भएको समेत बताए। उनले निष्क्रिय कर्जाको अवस्था पत्याउनै नसक्ने गरी तल रहेको उल्लेख गर्दै कर्जा प्रवाह गर्दा ज्ञान सीप भएका युवाहरुलाई अवसर दिन आग्रह गरे।
उनले वित्तीय क्षेत्रमा आएको प्रतिस्प्रधात्मक सुधारको अवस्था ले नै यस वर्ष सरकारले पनि तीनवटै सरकारी बैंकबाट उच्च लाभांश लिन पाएको समेत बताए।