ई–आर्थिक, काठमाडौ । माघ १ गते नेपालमा माघे संक्रान्ति पर्बका रुपमा प्रख्यात छ । यो नेपालीहरुले बिशेष पर्बका रूपमा मनाउँछन् । खासगरी नेपालमा धार्मिक र सांस्कृतिकरुपले यो पर्ब मनाउने गरिन्छ । हिन्दू धर्मावलम्बीले माघे संक्रान्ति भनेर बिशेषरुपमा यो पर्ब मनाउँछन । उता थारू समुदायले माघ १ गतेलाई माघी पर्वको रुपमा मनाउने गर्छ । उक्त समुदायको लागि माघी पर्ब नयाँ बर्ष हो । काठमाडौं उपत्यकाको नेवार समुदाय यस पर्बलाई ‘घ्यो चाकु सन्हु’ भनेर मनाउने गर्छ ।
माघे सक्रान्ति पर्व मगर समुदायको पनि मुख्य पर्व हो । मगर समुदायले यस दिनमा चेलिबेटी पुज्ने गर्छ । माघे संक्रान्ति पर्बको परिचय भनेको परिकार नै हो । ठाउँ बिशेषमा बेग्ला बेग्लै परिकार खाने प्रचलन छ । उपत्यकामा चाकु, उसिनेको तरुल, तिलको लड्डु, पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ । पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाएर खाइन्छ ।
आजको दिन माटोमुनि फलेका बालीको रूपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लड्डु पनि खाने प्रचलन छ । हाम्रा धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकताअनुसार पनि निर्धारण गरिएको हुन्छ । आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषकतत्वसमेत पूर्ण गरिदिन्छ । अन्य समयको तुलनामा जाडो महिनाममा माघे सक्रान्तिमा खाइने तरुल, सखरखण्ड, घिउ चाकु लड्डु उपयोगी हुन्छ ।
भदौपछि सुरु हुने चिसो मौसम पुस माघमा उत्कर्षमा पुग्छ । माघको १ गते अर्थात् माघे सक्रान्तिको दिन धेरै जाडो हुन्छ । जाडोको वेलामा शरीरमा अन्यबेलाको तुलनामा मोटापोलिज्म धेरै हुन्छ र खाना रुच्ने हुन्छ । यसवेला हामीलाई छिटोछिटो भोक लाग्छ । यस्तो वेलामा तिलको लड्डु, तरुल, चाकु, सखरखण्ड जस्ता खाने कुराले शरीरलाई आवश्यक शक्ति दिन्छ र रोगसँग लड्ने शक्तिसमेत प्रदान गर्छ । यस पर्बमा खाइने केही परिकारका फाइदा यस प्रकार छन् :
तरुल
पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुने हुनाले यसलाई शक्तिवद्र्धक खानेकुराको रूपमा लिइन्छ । अन्य मौसमको तुलनामा जाडो मौसममा शरीरलाई न्यानो राखिराख्न धेरै शक्ति चाहिन्छ । जुन शक्तिको पूर्ति तरुलबाट पूरा हुन्छ । तरुण रेशादार खानेकुरा भएकाले पनि हाम्रो शरीरमा कब्जियतको समस्या कम गर्न सहयोग गर्छ । तरुलमा मानव शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरू म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि पनि पाइन्छ ।
यस्तै, तरुलमा पाइने सूक्ष्म पोषक तत्वले चिसोबाट बचाउन मद्दत गर्छ । तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै फाइदा गर्छ । साथै तरुलमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन सी, ई तथा बी क्यारोटिनले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ ।
यो क्यान्सरको कारक तत्वको रूपमा रहेका फ्री रेडिकल्ससँग लड्दछ । तरुल दमरोगीका लागि पनि फाइदाजनक हुन्छ । तरुललाई अफ्रिकातिर त प्रमुख खाद्यान्नकै रूपमा प्रयोग गरिन्छ । धेरैले तरुललाई चिसो खाद्यान्न्को रूपमा लिने गरेको पाइन्छ । हाम्रो शरीरमा चाहिने धेरै पोषण तत्वहरु तरुलमा पाइने भए पनि मधुमेहका बिरामीहरुले भने सकभर कम खाने गर्नुपर्छ । तरुलमा हुने चिनीको मात्राले मधुमेहका बिरामीहरुलाई भने फाइदा गर्दैन ।
चाकु
माघे सक्रान्तिमा खाइने अर्को खाने कुरा हो चाकु । सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ । चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ ।
खिचडी
माघे सक्रान्तिमा मासको दाल, घिउ र चामल मिसाइ पकाइएको खिचडी खाने चलन छ । खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग सन्चो हुन्छ ।
पिडालु र सखरखण्ड
आजकै दिन खाइने पिडालु, सखरखण्ड समेत शरिरको लागि अत्यन्तै पोषक तत्व भएको खाने कुरा हो । पिडालु र सखरखण्डमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, क्याल्सियम हुने भएकाले शरीरका लागि फाइदाजनक खानेकुरा हो ।
तिलको लड्डु
तिललाई हाम्रो देशमा तिललाई धार्मिक रुपमा पनि पवित्र अन्नको रूपमा लिइन्छ । तिललाई हामीले खान्छौं पनि र धार्मिक कार्यमा प्रयोग पनि गर्छौं । तर, ल्याटिन अमेरिका र अफ्रिकाका देशहरुमा तिललाई प्रमुख खानेकुराको रुपमा प्रयोग गरिन्छ । तिललाई अचारमा मिलाएर वा अन्य विभिन्न किसिमबाट खाने गरिन्छ । तिल खानको लागि जति स्वादिष्ट हो, त्यतिनै स्वास्थ्यको लागि फाइदाजनक खाद्य पदार्थ हो ।
तिलमा प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन बी बढी हुने हुनाले हाम्रो शरीरलाई धेरै उर्जा दिन्छ । तिल क्याल्सियम बढी हुने हुनाले गर्भवती महिलालाई धेरै फाइदाजनक छ । तिलमा हुने क्याल्सियमले बच्चालाई दूध चुसाउने महिलाहरूको लागिसमेत राम्रो हुन्छ । यस्तै तिलमा हुने क्याल्सियम हड्डीलाई बलियो बनाउने हुदाँ वहड्डीसम्बन्धी बिरामी भएकाहरुलाई समेत तिले फाइदा गर्न गर्छ ।
आयुर्वेदिक दृष्टिले हेर्दा तिलले खोकीलाई कम गर्छ । तिल ढिला पच्ने भएकाले शरिरलाई लामो समयसम्म शक्ति दिइन्छ । यसले शरीरको कमजोरीपना पनि हटाउँछ । तिल र तिलको तेल दुवै हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ । जाडोमा यसको अझ बढी महत्व हुन्छ । जाडोमा तिलको सेवनले शरीर तथा मस्तिष्क दुवैलाई फाइदा हुन्छ ।