ई–आर्थिक, काठमाडौं । आफ्नो उच्च सैन्य अधिकारीलाई मारेको आक्रोसमा मध्यपूर्बी राष्ट्र ईरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर तोकेको छ । यो नेपाली १० अर्ब रुपैयाँ हुन्छ ।
बेलायती सन्चार माध्यम मिररका अनुसार हत्याको बदला लिने प्रतिज्ञा गर्दै ईरानीहरुले अमेरिकी राष्ट्रपतिको टाउकाको मोल तोकेका हुन । अमेरिकी सेनाको ड्रोन आक्रमणमा मारिएका इरानी जनरल कासिम सुलेमानीको अन्तिम संस्कारमा उपस्थित भाबबिह्ल आम इरानीहरुले ट्रम्पको टाउकाको मूल्य तोकेका थिए ।
जनरल सुलेमानीको दाह संस्कार टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारणका क्रममा इरानको आधिकारिक प्रसारकले प्रत्येक इरानी नागरिकले ट्रम्पलाई मार्न एक डलर जम्मा गर्ने घोषणा गरे । जम्मा गरिएको यो रकम अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेलाई दिइने घोषणा गरेको मिररले उल्लेख गरेको छ । सबैले एक–एक डलर जम्मा गरे ८ करोड ११ लाख ६० हजार डलर रकम उठ्ने छ । २०१७ को तथ्यांकअनुसार इरानको कूल जनसंख्या ८ करोड ११ लाख ६० हजार छ ।
‘इरानको जनसंख्या ८० मिलियन छ । इरानी जनसंख्याको आधारमा हामीले ८० मिलियन डलर डलर जम्मा गर्न चाहन्छौं । यो रकम ती व्यक्तिलाई पुरस्कारस्वरुप दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको अन्त्य गर्न सक्नेछन् ।’ जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा यस्तो घोषणा गरिएका मिररले जनाएको छ । इरानी कुद्स फोर्सका कमाण्डर मेजर जनरल सुलेमानी चार दिनअघि अमेरिकी आक्रमणमा मारिएका थिए ।
उनको शव आइतबार इरान पुगेको थियो । आइतबार तेहरानमा आयोजना गरिएको सुलेमानीको शवयात्रामा लाखौं ईरानी सहभागी भएका थिए । अहवाजबाट सुरुवात गरिएको शबयात्रामा लाखौं सहभागी ईरानीहरुले अमेरिका, इजरायल र साउदी अरबविरुद्ध नारा लगाए । इजरायल र साउदी इरानका क्षेत्रीय दुश्मन हुन् र उनीहरु पनि वर्षौंदेखि सुलेमानीको हत्या गर्न प्रयासरत थिए ।
सुलेमानीको पार्थिव शरीरसँगै इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका डेपुटी कमाण्डर अबु महदी अल मुहान्दिसको शव पनि इरान ल्याइएको थियो । उनको शव डीएनए परीक्षणको लागि ल्याइएको थियो । अबु महदी पनि अमेरिकी आक्रमणमा सुलेमानीसँगै मारिएका थिए । मुहान्दिस इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका सेकेण्ड इन कमाण्ड थिए ।
हत्याको उस्तै बदला लिने ईरानको चेतावानीले अमेरिकी राष्ट्रपति ट्रम्प आक्रोसित छन् । उनले ईरानले कुनै अमेरिकीबिरुद्ध आक्रमण गरे अति छिटो नै इरानलाई ध्वस्त पार्ने कडा प्रतिक्रिया दिएका छन् । आफ्नो टाउकोको मूल्य तोकिएपछि पनि उनले ट्वीट गर्दै इरानले अमेरिकी प्रतिष्ठान वा नागरिकलाई कुनै क्षति गरे तत्कालै डरलाग्दो आक्रमण गर्ने जबाफ दिए । यसपछि ट्रम्पले एकपछि अर्को गर्दै लगातार ट्वीट गरिरहेका छन् । उता इरानले पनि २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि शर्तको बन्धन अब आफूले नमान्ने घोषणा गरिसकेको छ । इरानको घोषणासँगै अमेरिकासँग उसको तनाव अझै बढ्ने अनुमान गरिएको छ ।

शुक्रबार अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेसँगै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको थियो । लगत्तै शनिबार र आइतबार राती इरानले लगातार बगदादमा अमेरिकी दूतावास र बलाद एयरबेसमा रकेट आक्रमण ग¥यो । यो आक्रमणपछि अमेरिका पनि आक्रोशित भयो र खुलेर मैदानमा आयो । अमेरिकी राष्ट्रपटि ट्रम्पले आफ्नो सेनाले ५२ इरानी बेसको पहिचान गरिसकेको बताउँदै इरानले अमेरिकालाई नोक्सान पुगाउने काम गरेमा यी ५२ वटै बेस उडाइदिने धम्की दिए ।
ट्रम्पको धम्कीसँगै इरान सक्रिय भएको छ । मध्यपूर्वमा इरान पनि कम शक्तिशाली छैन । मध्यपूर्वमा इरान समर्पित प्रोक्सी फोर्सले विनाश मच्चाउन सक्ने अनुमान गरिएको छ । यमनमा इरानलाई हुती विद्रोहीको समर्थन प्राप्त छ । यस्तै लेबनानमा हिजबुल्लाह र इराकमा शिया मिलिसियाले इरानलाई समर्थन गर्छन् । युद्धको स्थिति आउन लागेपछि युरोपेली संघ सहित कैयौं देशहरुले शान्ति बहालीको अपिल गरेका छन् । युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बरेलले शनिबार तनाव घटाउनुपर्नेमा जोड दिए । उनले दुवै देशसँग शान्ति बहालीको अपिल गरेका छन् ।