काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज बिहीबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकै त्रममा केही दिनअघि १० दिन सिंगापुर बसेका थिए । १८ साउनमा सिंगापुर गएका उनी २७ साउनमा मात्रै स्वदेश फर्किएका थिए ।
स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी पुनः सिंगापुर गएका हुन् ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा।दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । “एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो ” डा।सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।
सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा।सिंहले जनाउनुभएको छ ।“प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिने भएको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकिकी हुन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर रहँदासम्म उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।