ई–आर्थिक, काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको प्रचण्डको निजी सचिवालयले स्पष्ट पारेको छ ।
प्रकाशका नाममा विदेशी वैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएपछि प्रचण्डको निजी सचिवालयले खण्डन गर्दै उक्त कुराको स्पष्ट पारेको हो । गलत प्रचार गर्नेलाई कारवाही गर्न सरकारसँग माग गर्दै बैंक खाता र पैसा देखाउन सचिवालयले चुनौति दिएको छ ।
‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं ।’ प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको अपिलमा भनिएको छ, ‘परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’
अपिलको पूर्णपाठ यस्तो छ
आदरणीय जनसमुदाय,
यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ। क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्।
यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन्।
दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ। यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।
कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं। परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं।
यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।
२८ साउन, २०७६
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय।