अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि त्यसको प्रभाव स्वतः परेको छ । जसका कारण सुनको भाउ अहिलेसम्मकै बढी पुगेको हो । आइतबार प्रतितोला ६५ हजार रुपैयाँका दरमा सुनको कारोबार भएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । ‘विभिन्न अन्तर्राष्ट्रिय तनाव र व्यापार युद्धका कारण लगानीकर्ताले सुनमा लगानी बढाउन थालेका छन्, चीन आफैँले पनि सुनको मौज्दात बढाउने घोषणा गरिसकेको छ,’ उनले भने, ‘यसरी सुनको माग अत्यधिक रूपले बढेसँगै भाउ पनि बढेको हो ।’
महिनामै साढे पाँच हजार भाउ बढ्यो
गत ८ जेठमा नेपाली सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यसको ठीक एक महिनापछि ८ असारमा सुनको भाउ प्रतितोला ५ हजार ६ सयका दरले बढेर ६५ हजार रुपैयाँ पुगेको हो । पछिल्लो एक सातामै सुनको भाउ प्रतितोला २ हजारले बढेको छ । १ असारमा प्रतितोला ६३ हजारमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले सुनको भाउ अझै अस्थिर हुन सक्ने बताए । ‘भाउ ह्वात्तै बढ्यो भनेर भटाभट भएको सुन बिक्री गर्ने र अझै भाउ बढ्छ भनेर सुन थुपारिहाल्नु ठीक होइन,’ उनले भने, ‘किनभने अन्तर्राष्ट्रिय विवाद, मनमुटाव तथा व्यापार युद्धहरूका कारण सुन र डलरको भाउ अस्थिर छ र अझै अस्थिर हुन सक्छ ।’ ६ वर्षअघि ०७० ताका सुनको भाउ अकस्मात् बढेर ६३ हजार ३ सयप्रति तोला पुगेको थियो ।
त्यसवेला विश्लेषकले सुनको मूल्य अझ बढेर ७० हजार नाघ्ने अनुमान गरेका थिए । तर, त्यसको विपरीत सुनको भाउ क्रमशः ४७ हजार ८ सयसम्ममा झरेको शाक्यले बताए । ‘त्यसवेला ग्राहक मात्रै होइन, व्यवसायीसमेत मारमा परेका थिए,’ उनले भने, ‘त्यसैले सुनमा संयमित भएर लगानी गर्नुपर्छ ।’ भाउ बढेको वेला हुन सक्ने कालोबजारी भने सरकारले रोक्नुपर्ने उनको भनाइ छ ।
भन्सारका कारण १ हजार भाउ बढी
सरकारले आगामी आव ०७६/७७ का लागि ल्याएको बजेटले सुनको आयातमा भन्सार बढाएका कारणसमेत नेपाली बजारमा सुनको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । नेपालमा भन्सार बढाएका कारण आन्तरिक बजारमा सुनको भाउ थप १ हजार बढी भएको अध्यक्ष महर्जनले बताए । ‘बजेटले प्रतिदश ग्राम सुनको भन्सार ८ सयका दरले बढाएको छ, पहिला दश ग्राम सुन आयातमा ४२ सय भन्सार लाग्थ्यो, अहिले ५ हजार पुगेको छ,’ उनले भने, ‘यसले गर्दा नेपाली बजारमा प्रतितोला थप ९ सय भाउ बढेको हो ।’
९ महिनामै २९ अर्बको आयात
बजार भाउ बढ्दै गए पनि नेपालमा सुनको माग भने घटेको छैन । सुनको आयात बढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ । चालू आवको १० महिनामा नेपालमा कुल २९ अर्ब ४ करोड रुपैयाँबराबरको ६ हजार ३ सय ४१ केजी सुन आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४ सय ७६ केजीले बढी हो । आव ०७४/७५ को १० महिनामा २५ अर्ब ६० करोड रुपैयाँबराबरको ५ हजार ८ सय ६५ केजी सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । कुल आयातमा सुनको हिस्सा २.४ प्रतिशत पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
नयाँ पत्रिकाबाट