२०८३ साउन ९ शनिबार

फानी भारतको ओडिशामा, नेपालमा पनि बर्षा र हावाहुरी, नेपाल सरकारले भन्यो– ‘भोलीसम्म हेलिकोप्टर नचलाउनु’

ई आर्थिक    शुक्रबार, बैशाख २० २०७६
5.6K
Shares
फानी भारतको ओडिशामा, नेपालमा पनि बर्षा र हावाहुरी, नेपाल सरकारले भन्यो– ‘भोलीसम्म हेलिकोप्टर नचलाउनु’

ई–आर्थिक, काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको समुन्द्री तुफान फानी भारतको ओडिशा पुगेको छ। ओडिशामा तुफानका कारण करिब २०० किलोमीटर प्रतिघण्टाका गतिमा हावाहुरी चलेको छ भने भीषण वर्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यता नेपालमा भने यो फानी तुफानका रुपमा प्रवेश भने गर्ने छैन । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार एक सचेतना जारी गर्दै वर्षा र हावा हुरी चल्न सक्ने चेतावनी दिएको छ। महाशाखाले फानीको प्रभाव नेपालमा हावा हुरी र वर्षाका रुपमा पर्ने भए पनि तुफानकै रुपमा फानी नेपाल प्रवेश नगर्ने बताए । उनका अनुसार बंगलाको खाडीमा उत्पन्न भएको यो समुन्द्री तुफान ओडिशामा जमिनसँग ठोक्किएपछि यसको स्वरुप बदलिनेछ भने यसको गति पनि निकै कमजोर हुनेछ ।

फानीले सबैभन्दा धेरै प्रभाव ओडिशामा पार्ने अनुमान गरिएको छ । त्यसैल त्यहाँ रेल सेवा, वायु सेवा र समुन्द्री सेवा बन्द गरिएको छ। विद्यालयहरु पनि बन्द गरिएको छ । तटीय क्षेत्रका करिब ११ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यता नेपालमा सो तुफानको प्रभाव तुफानका रुपमा नभइ हावाहुरीका रुपमा पर्ने छ । चिसो हावा र आद्रता बढि भएको हावा नेपाल प्रवेश गर्ने र त्यसका कारण शुक्रबार सामान्य वर्षा हुने तथा शनिबार हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेको मौसम विद्ले जानकारी दिएका छन् । आइतबारदेखि भने नेपालको मौसम सफा हुने अनुमान गरिएको मौसमविद्को भनाई छ ।

फानी तुफानका कारण नेपालमा चिसो हावा प्रवेश गर्नेछ । यस्तै नेपाली वायु मण्डलमा रहेको तातो हावा र बंगलाको खाडीबट प्रवेश गरेको चिसो हावा एकआपसमा ठोक्किँदा चट्यांगको सम्भावना पनि हुने महाशाखाले अनुमान गरेको छ ।

‘आईतबारसम्म हेलिकोप्टर नचलाउनु’

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले मौसम बिग्रने सक्ने भएकाले शनिबारसम्म हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ ।

भारतमा आएको फानी चक्रवातका कारण पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भन्दै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सो अपिल गरेको हो । अपिलमा सो क्षेत्रमा अहिलेदेखि नै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरिएको छ ।

फानी चक्रवातको प्रभाव आइतबारसम्म रहने मौसम पूर्वानुमान विभागले जानकारी गराइसकेको छ ।

फानी चक्रवात प्रभाव सुरु भएसँगै अहिले काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij