२०८३ साउन ९ शनिबार

पश्चिम सेती नबनेपछि स्थानीयबासी निराश, किन बनेन पश्चिम सेती ?

ई आर्थिक    बुधबार, बैशाख १८ २०७६
5.8K
Shares
पश्चिम सेती नबनेपछि स्थानीयबासी निराश, किन बनेन पश्चिम सेती ?
डाेटी ।  जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ। कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो।

स्थानीय टेकबहादुर रोकायाले भने, “पश्चिमसेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाइन्छ, कसले बनाउने टुङ्गो नै लागेको छैन, नेताको मागी खाने भाँडो भयो पश्चिमसेती ।” निर्माणकार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना ‘एकादेशको कथा’ बन्नसक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन्।

यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिनेमात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपायलका काङ्ग्रेस नेता घनश्यामदत्त पाठकले बताए।

त्यस्तै आयोजनाको विषयमा कुनै टुङ्गो नलाग्दा आफूहरु दुःखी भएको डोटीको लाटामाडौँका स्थानीय प्रेमबहादुर बलायरले बताए। उनले भने, “परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, अहिलेसम्म सामान्यबाहेक केही काम भएको छैन, खै कहिले बन्ला, सपनामै रहने भो पश्चिमसेती।”

पश्चिम सेती बन्ने हल्ला शुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ, तर पश्चिमसेती बन्ने हल्ला हल्लामै मात्र सीमित छ। स्थानीयवासी ‘थ्री गर्जेज’सँगको प्रारम्भिक सम्झौतापछि पनि आयोजना सम्पन्न हुनेमा विश्वस्त हुननसकेको अर्का स्थानीय डिलबहादुर सिंहले बताए। उनले भने, “जतिपटक सम्झौता भयो, उतिपटक खारेज हुन्छ, के काम सम्पन्न होला र।”

निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम शुरु गर्नुपर्ने स्थानीयवासीको माग छ। पश्चिमसेती बन्ने हल्लापछि अहिले ड्यामसाइट तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोवार अधिक बढेको स्थानीयवासी बताउँछन्।

उता नेपाल सरकारले आफ्नै लगानीमा उक्त जलाशययुक्त पश्चिमसेती निर्माण गर्ने दावी गरे पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आर्दश गाउँपालिकाका नेविसङ्घका विद्यार्थी नेता गोविन्द खड्काले बताए। उनले भने, “सरकारले पश्चिमसेती बनाउँछ भन्नु मूर्खता हो, विदेशी ठूला कम्पनीले हात नहालुञ्जेल पश्चिमसेती बन्दैन।”

जलाशययुक्त पश्चिमसेती निर्माण गर्न चिनियाँ कम्पनी ‘थ्री गर्जेज’ तलारा आएर विभिन्न संरचना निर्माण गर्दा पश्चिमसेती बन्छ भनेर खुशी र ढुक्क भएका यहाँका स्थानीयवासी थ्री गर्जेजले पश्चिमसेती नबनाउने भन्दै आफ्ना उपकरण लगेर गएसँगै निराश बनेका हुन्। पश्चिमसेती जलविद्युत् आयोजनाका नाममा वर्षेनी डोटीलगायत सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताप्रति आक्रोशित हुन थालेका छन्। यहाँका स्थानीयवासी भन्छन्, “सक्छौ पश्चिमसेती बनाऊ, नसक्ने भए पश्चिमसेतीमा राजनीति नगर।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij