ई–आर्थिक, काठमाडौं । ६२औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराकासाथ यो दिवस मनाइएको हो ।
नेपालमा विधिवत् सहकारी संस्था दर्ता सुरू भएको दिनलाई स्मरण गर्दै हरेक बर्ष चैत २० गते सहकारी दिवस मनाउने गरिन्छ ।
दर्ता भएको यस वर्ष पनि चैत्र २० गते दिवस मनाइएको हो । चितवनको बखानपुर बचत तथा ऋण सहकारी संस्था स्थापना भएको दिन पारेर प्रत्येक बर्ष चैत २० गते यो दिवस मनाउने गरिन्छ । उक्त दिन सहकारीहरुले ¥यालि, अन्तरक्रिया, छलफल, गोष्ठि स्वास्थ्य सिविर, रक्तदान, सरसफाई जस्ता कार्य गर्ने गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका साथै केन्द्रीय संघहरु, जिल्ला संघहरु र विषयगत जिल्ला संघहरुले आफ्ना सदस्यहरुलाई कार्यक्रममा सक्रिय सहभागिताको लागि अपिल गरेको थियो । सोही बमोजिम देशभरका लाखौं सहकारीकर्मी आफ्नो संस्थाको पोशाक, व्यानर सहित कार्यक्रममा उत्रिएका थिए ।
काठमाण्डौ, ललितपुर र भक्तपुरले साताव्यापी रुपमा कार्यक्रम गरेका छन् । प्रभातफेरी कार्यक्रममा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको छ ।
सहकारी महासंघको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो भने जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यतामा विशाल कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यसैगरी उपत्यकाका ललितपुर र भक्तपुरका जिल्ला सहकारी संघहरुले पनि ¥यालिसहितको कार्यक्रमको आयोजना गरेका थिए ।




