निगमप्रमुख पौडेलले सोमबार निर्णयमा हस्ताक्षर गरेसँगै कांग्रेस समर्थित कर्मचारी युनियनले मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने नेकपा समर्थित कर्मचारी संघका पदाधिकारीले स्वागत गरेका छन् । कर्मचारी सरुवाको जानकारी पाएपछि युनियन सम्बद्ध कर्मचारीले आइतबार साँझ नै केही पदाधिकारीको सरुवा रोक्का गरेको छ भने अन्यको सरुवा पनि रोक्ने गृहकार्य अघि बढाएका छन् । तर, सरुवाको निर्णय कार्यान्वयन गरेरै छाड्ने पौडेलको भनाइ छ । उनले सरुवा भएका कर्मचारी पुरानो ठाउँमा हाजिर नहुने व्यवस्था मिलाइएको बताए ।
३५ वर्षदेखि एउटै अड्डामा बस्नेको सरुवा
निगमको प्रशासन विभागअन्तर्गत पुस्तकालयमा ३५ वर्षदेखि कार्यरत देवीप्रसाद न्यौपानेको प्रधान कार्यालयमै रहेको आन्तरिक नियन्त्रण तथा अनुगमन विभागमा सरुवा भएको छ । ५औँ तहका पूर्वएमाले समर्थित कर्मचारी संघका अध्यक्ष प्रधान निगमभित्रको ट्रेड युनियनमा सबैभन्दा शक्तिशाली नेता भएकै कारण आफ्नो सरुवा रोक्दै आएका थिए । पुस्तकालयलाई निगमभित्र वितरण विभाग र खरिद विभागपछि तेस्रो बढी कमाउ हुने अड्डाका रूपमा लिइन्छ । हाल उनी नेकपा समर्थित कर्मचारी संघलाई चुनावमा जिताउँदै आधिकारिक ट्रेड युनियनको नेता बनेका छन् र सञ्चालक समिति सदस्य छन् । त्यस्तै १५ वर्षदेखि योजना महाशाखामा कार्यरत राजेन्द्र पुरीको पनि सरुवा भएको छ ।
तीन दशकदेखि कर्मचारी एकैठाउँमा
विनियमावलीअनुसार अधिकृतस्तर वा सोभन्दा माथिका कर्मचारी २ वर्ष र सहायकस्तरका कर्मचारी ५ वर्षभित्र अनिवार्य सरुवा हुनुपर्छ । तर, निगमबाट प्राप्त विवरणअनुसार विराटनगर डिपोमा टीकाप्रसाद राजवंशी, लक्ष्मीनारायण श्रेष्ठ, जगनाथ कोइराला क्रमशः ३१ वर्ष, ३४ वर्ष र २२ वर्षदेखि सरुवा नभई बसेका छन् । सो डिपोका १३ कर्मचारी सरुवाको सूचीमा छन् । त्यस्तै भैरहवा डिपोमा सीताराम महर्जन ३४ वर्षदेखि कार्यरत छन् । सो डिपोमा ६ कर्मचारी २० वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । उनीहरू सबै सरुवाको सूचीमा छन् । वीरगन्ज कार्यालयका दिनेशकुमार राउत कुर्मी ३२ वर्षदेखि त्यहीँ छन् । सिनामंगल डिपोका सीताराम काफ्ले र गोपालप्रसाद गौतम २५ वर्ष, शरणमान महर्जन ३० वर्ष, पूर्णप्रसाद खनाल २५ वर्षदेखि कार्यरत छन् । रवीन्द्रलाल सिंह, पूर्णबहादुर खड्का र रविनाथ थापा २० वर्षदेखि सरुवा भएका छैनन् । अमलेखगन्ज डिपोका १८ कर्मचारी सरुवा सूचीमा छन् । यी सबै कर्मचारी दोस्रो चरणमा सरुवा हुने निगमले जनाएको छ ।
ट्रेड युनियन नेताको सरुवा रोकियो
कर्मचारी युनियनका पदाधिकारीले दबाब दिएर आफ्नो सरुवा रोक्का गरेका छन् । स्रोतका अनुसार कांग्रेस समर्थित कर्मचारी युनियनको उपाध्यक्ष कमला न्यौपानेको सरुवा बदर गरिएको छ । उनी वितरण विभागका प्रबन्धक हुन् । यो विभागलाई निगमभित्रको सबैभन्दा कमाउ अड्डा मानिन्छ । त्यस्तै युनियनको महासचिव सन्दीप बरालको सरुवा पनि बदर गरिएको छ । छैटौँ तहका उनी सिनामंगलस्थित हवाईइन्धन डिपोमा साढे चार वर्षदेखि कार्यरत छन् ।
विनियमावलीअनुसार उनी २ वर्षमा सरुवा हुनुपर्ने थियो । युनियनका कोषाध्यक्ष गोविन्दमान डंगोल अर्थ विभागमा रहेको ७ वर्ष भइसकेको छ । ५ वर्ष मात्र बस्न पाउने नियमअनुसार उनको सरुवा गर्ने रोस्टरमा नाम राखिएको थियो । तर, आइतबार साँझ व्यवस्थापनलाई दबाब दिएर सरुवा बदर गरिएको छ ।
पाँचौँ तहका दीपेश रसाइली मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लेखाप्रमुख छन् । जबकि सो पदमा छैटौँ तहको कर्मचारी योग्य हुन्छ । पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रिझाएर उनी योग्यता नपुगेको पदमा बसेका छन् । ३ वर्षमा सरुवा हुनुपर्ने उनी त्यहाँ बसेको ५ वर्ष भइसकेको छ । यसपटक पनि युनियनको दबाबमा उनको सरुवा बदर गरिएको छ ।
नयाँ पत्रिकाबाट