ई–आर्थिक, काठमाडौँ, २४ फागुन : भारतको पञ्जाब बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंक लिमिटेडले ‘मर्जर’मा जाने नजाने भन्ने निर्णय गर्न सकेको छैन ।
नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पूँ्जी वृद्धि वा बैंकहरु एकापसमा गाभिएर सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि साझेदारको खोजिमा रहेको उक्त बैंकले अहिलेसम्म निर्णय गर्न नसकेको हो ।
बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा त्यसका अध्यक्ष बि के श्रेष्ठले लक्ष्मी बैंक र नबिल बैंकसँग मर्जर वार्ता सफल हुन नसकेको बताउनुभयो ।
“मर्जरका निम्ति हाम्रो ढोका खुला छ”, उहाँले भन्नुभयो । केन्द्रीय बैंकको निर्देशनअनुसार जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी गरिएको उहाँले स्पष्ट पार्नुभयो ।