सेयर लगानीकर्ता बताउने ४०–५० जनाको समूहले सोमबार आधा दर्जन धितोपत्र दलाल कम्पनीमा गएर सेयर कारोबार किन गराएको भन्दै धम्की दिने तथा भौतिक आक्रमणसमेत गरेको ब्रोकर कम्पनीले जनाएका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनले विज्ञप्ति जारी गर्दै केही व्यक्तिको समूहले सोमबार धितोपत्र व्यवसायीहरूको कार्यालयमा हुलहुज्जत गरी कारोबार रोक्न, भोलिदेखि कारोबार नगर्न, गरेमा भौतिक कारबाही गर्ने र सोको जिम्मेवारी स्वयं व्यवसायीले लिनुपर्ने धम्की दिएको जनाएको छ ।
एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “व्यवसायीका कर्मचारी र कार्यालयको भौतिक सम्पत्तिमाथि क्षति गर्ने, धम्क्याउने र हातपातसमेत गर्ने कार्य गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो निन्दनिय कार्यको हामी घोर भत्र्सना गर्दछौं ।” एसोसिएसनले नियमानुसार धितोपत्रको कारोबार गर्दै आएको र आगामी दिन पनि कारोबार गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
एसोसिएसनले यस्ता समूहबाट व्यवसायीहरूमाथि सांघातिक आक्रमण भई भौतिक तथा मानवीय क्षति हुनसक्ने भएकाले सुचारु रुपले कारोबार गर्न व्यवसायीहरूको मुख्य कार्यालय र शाखा कार्यालयमा शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिन सरकारसमक्ष अनुरोध समेत गरेको छ ।
सेयर लगानीकर्तालाई भौतिक आक्रमणको अवस्थामा पु¥याउने काम सरकारले गरेको हुनाले सरकार जिम्मेवार हुनुपर्ने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । “आन्दोलनको आयोजकले पनि दलाल कम्पनीमा गरिएको भौतिक आक्रमणको जिम्मेवारी लिनुपर्छ,” अर्यालले भने, “सेयर बजार सुधारका लागि आन्दोलन गरेका लगानीकर्ताले सेयर कारोबार नगर्ने भनेर लगानीकर्तालाई नै असर पार्नु ठिक भएन ।” आन्दोलनमा सेयर लगानीकर्ता संघको पनि नैतिक समर्थन भएको हुनाले नैतिक जिम्मेवारी लिने अर्यालको भनाइ छ । मंगलबार पनि दबाब समूहले ब्रोकर कम्पनी तथा लगानीकर्ताहरूलाई सेयर कारोबार नगर्न आग्रह गर्ने अर्यालले बताए ।
धितोपत्र दलाल कम्पनीलाई सेयर कारोबार गराउन अनुमति प्रदान गर्ने तर कारोबानर गराएबापत कार्यालयमा आक्रमण हुँदा नियामक निकाय धितोपत्र बोर्ड भने केही बोलेको छैन । आन्दोलनरत लगानीकर्ताले धितोपत्र दलाल कम्पनीमा भौतिक आक्रमणसमेत गरेको विषयलाई लिएर धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीसँग बारम्बार प्रयास गर्दा पनि सम्पर्क भएन ।
सेयर बजार अस्वभाविक रूपमा बढेको समयमा नियामक निकायले लगानीकर्तालाई संयम भई लगानी गर्न आग्रह गर्दा विरोध गर्ने लगानीकर्ता भने घटेको समयमा सुधारको माग राख्दै आन्दोलनरत छन् । सेयर बजार बढेको अवस्थामा बजार सुधारको बिर्सने तथा घटेको समयमा सेयर कारोबार नै गर्न नदिने तथा धितोपत्र दलाल कम्पनीमा आक्रमण गर्ने तथा धम्क्याउने जस्ता काम गर्दा लगानीकर्ताको हित संरक्षण नहुने ब्रोकर कम्पनीहरू बताउँछन् ।
बजार सुधारको माग लिएर गत सातादेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को गेट बाहिर लगानीकर्ताको एक समूह अनसनमा बसेका छन् । उनीहरूले सोमबारदेखि आमरण अनसनको पनि घोषणा गरेका छन् । समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिए । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार गम्भिर नभएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडासहित धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, बीमा समितिका अध्यक्ष डा. चिरञ्जिवी चापागाईं र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको बर्खास्तगीको मागसमेत गरेका छन् ।
मुद्रा र पूँजीबजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयद्वारा गठित उच्च स्तरीय अध्ययन समितिले यसै साता प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । तर, सेयर लगानीकर्ताहरूले सो समितिले पेश गर्ने प्रतिवेदनले आफूहरूको समस्या समाधान गर्न नसक्ने दावी पनि गरेका छन् ।
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समूहले सुरु गरेको आमरण अनसनसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरूले आमरण अनसनस्थलमा गई आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले दुई वामपन्थी दल मिलेर चुनावमा जाने निर्णय गरेदेखि सेयर बजारमा पतन शुरु भएको भन्दै बजारमा तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेसका प्रवक्ता शर्माले ऐक्यवद्धता जनाउँदै अर्थमन्त्री खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर अभिव्यक्ति दिनु नै गलत भएको बताए ।