२०८३ साउन ९ शनिबार

एसिया प्यासिफिक समिट : कार्यक्रम गैरसरकारी, पाहुना सरकारी

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०७५
3.7K
Shares
एसिया प्यासिफिक समिट : कार्यक्रम गैरसरकारी, पाहुना सरकारी

क्रिस्चियन धर्मप्रचारक संस्था आयोजक, सरकारको ५५ लाख खर्च हुँदै, ३५ सय सुरक्षाकर्मी परिचालन

योगेश ढकाल, काठमाडाैं : काठमाडौंमा शुक्रबारदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मप्रचारक संस्था हो । सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए । व्यापारमा समेत संलग्न उनले दशकौँदेखि धर्म प्रचार गर्दै आएका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले दुर्नाम वाटरगेट काण्डपछि राजीनामा दिने अवस्था आएपछि अमेरिकी चर्चका सदस्यहरू जम्मा गरेर मुनले वासिङ्टन डिसीमा तीन दिन धर्ना दिएका थिए । त्यसबापत उनले निक्सनबाट धन्यवाद पाएका थिए । ९२ वर्षको उमेरमा सन् २०१२ मा मुनको निधन भएको हो ।

सन् २००५ मै यो संस्था नेपाल आइपुगेको हो । नेपालका संस्थापक अध्यक्ष सुरेशराज आचार्य थिए भने अहिले एकनाथ ढकाल अध्यक्ष छन् । परिवार दलबाट दुवै संविधानसभामा प्रतिनिधित्व गरेका ढकाल मन्त्रीसमेत भएका थिए । यसपालिको संसदीय निर्वाचनअघि तत्कालीन एमालेमा पार्टी नै विलय गराएका उनको नाम समानुपातिक सूचीमा थियो । तर, महिला र जनजाति प्रतिनिधित्व गराउनैपर्ने एमालेको बाध्यताले ढकाल सांसद हुन पाएनन् ।

सांसद नभए पनि उनले यसपालि पनि राजनीतिक शक्ति देखाएका छन् । उनले सरकारी संयन्त्र प्रयोग गरेर विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको लाइन लगाइदिएका छन् । उनको धर्मप्रचारक संस्थाले गरेको कार्यक्रममा भाग लिन आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन सीधै प्रधानमन्त्रीको निमन्त्रणामा आएको पुष्टि भएको छ । त्यस्तै, अन्य नेताहरूलाई पनि राज्यको तर्पmबाटै आमन्त्रण गरिएको छ । यो सम्मेलनको खर्चको यकिन विवरण छैन । सम्मेलनका प्रेस संयोजक विष्णु निश्चलले १८ देखि २० करोड खर्च हुने बताए । सरकारको करिब ५५ लाख खर्च हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

सम्मेलनका पाहुनाको सुरक्षामा करिब ३५ सय सुरक्षाकर्मी खटिएका छन् । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दै छ । सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुनेछ । ‘एउटा पर्यटक आउँदा त सुरक्षा दिनुपर्छ भने भिआइपीलाई सुरक्षा दिने, सम्मान गर्ने कुरा सामान्य हो,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाइ छ ।

 कम्बोडियाका चुनावी तानाशाह हुन सेनलाई काठमाडौंमा भव्य स्वागत


गत जुलाईमा भएको संसदीय निर्वाचनमा हुन सेनले ८० प्रतिशत मत पाए । संसद्का १२५ मध्ये १०० सिट जिते । अत्यधिक मतका साथ उनी फेरि पनि निर्वाचित भए । किनकि, विपक्षी दललाई चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो । विरोधीहरूलाई हत्या गरेर, जेल हालेर र विदेश धपाएर गरिएको निर्वाचनको नतिजा पनि एकतर्फी भयो । यस्तै प्रायोजित निर्वाचनका आधारमा हुन सेन सन् १९८५ देखि कम्बोडियाको सत्तामा छन् ।

३३ वर्षदेखि शासनमा रहेका उनीभन्दा लामो समय सत्तामा रहेका ‘निर्वाचित’ नेता विश्वमा अरू कोही छैन । निर्वाचनको नाममा सत्तालाई कब्जामा राख्दै आएका उनी भ्रष्टाचार र मानवअधिकार हननका हिसाबले पनि विश्वमै दुर्नाम छन् । यसपालिको संसदीय निर्वाचनमा पर्यवेक्षकका रूपमा नेकपाका नेता माधव नेपाल कम्बोडिया पुगेका थिए । तर, यो निर्वाचनलाई संयुक्त राष्ट्रसंघले भने मान्यता दिएको छैन । नेपालमा भने हुन सेनले भव्य स्वागत पाएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन सेनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए भने सर्वसाधारणलाई ट्राफिक जाममा रोकेर उनलाई सोल्टी होटेल पु-याइएको थियो ।

संयोग अर्को के भने, आफ्नै अल्पसंख्यक सात लाख मुस्लिम नागरिकलाई देशबाहिर धपाएर विश्वकै आलोचनाको केन्द्रमा परेकी आङ सान सुकी पनि शान्ति सम्मेलनमा भाग लिन नेपाल आएकी छिन् ।

 यी भिआइपीलाई छ निमन्त्रणा 
नेपाल : प्रधानमन्त्री केपी ओली
फेडेरेसनका संस्थापक : डा. हक जा हन मुन
कम्बोडिया : प्रधानमन्त्री हुन सेन
कम्बोडिया : उपप्रधानमन्त्री प्राक सोखोन
म्यानमार : स्टेट काउन्सिलर आङ सान सुकी
फिलिपिन्स : उपराष्ट्रपति मारिया लियोनर
भानुआटु : मोसेस टाल्लिस
तुभालु : राष्ट्रप्रमुख लाकोबा इटालेनी
नौरु : राष्ट्रपति बारोन वाका
भारत : पूर्वप्रधानमन्त्री देवे गौडा
पाकिस्तान : पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी
कोलम्बिया : पूर्वराष्ट्रपति एन्ड्रेस पास्ट्राना
इरान : पूर्वउपराष्ट्रपति हसान घाफोरी
अफगानिस्तान : पूर्वउपराष्ट्रपति करिम खालिली

सम्मेलनमा ४५ राष्ट्रका १५ सय सहभागी
-७ जना : राष्ट्र/सरकारप्रमुख तथा उपप्रमुख
-५ जना : प्रथम महिला
-१० जना : पूर्वराष्ट्र/सरकारप्रमुख
-१ जना : उपप्रधानमन्त्री
-७ जना : मन्त्री
-५ जना : सभामुख/उपसभामुख

आयोजकले दिएको जानकारीअनुसार राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई सोल्टी होटेलमा बसोवासको व्यवस्था मिलाइएको छ । पूर्वराष्ट्रप्रमुख तथा पूर्वसरकारप्रमुख र सभामुख तथा सांसदहरूलाई द्वारिकाज होटेलमा राखिनेछ । भारतबाट आएका प्रतिनिधिलाई भने याक एन्ड यती होटेलमा राखिने आयोजकले जनायो ।

सम्मेलनमा राजनीतिकदेखि धार्मिक विषयसम्म छलफल हुँदै छ । सम्मेलनको मुख्य विषय ‘वर्तमान समयका गम्भीर चुनौतीहरूमाथि सम्बोधन : अन्तर्निर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ छ । फेडेरेसनले सरकारको समृद्धि नारालाई सम्मेलनले सहयोग गर्ने दाबी गरेको छ । उसले जलवायु परिवर्तन र काठमाडौं घोषणासहित विशेष उद्घोषपछि सम्मेलन समापन हुने जनाएको छ ।

शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij