२०८३ साउन ९ शनिबार

पाँच ठाउँमा रेल सम्भाव्यता अभ्ययन गर्न एमओयू, मंसिर अन्तिमदेखि जनकपुर–जयनगर खण्डमा रेल चल्ने

ई आर्थिक    आइतबार, मंसिर २ २०७५
4.9K
Shares
पाँच ठाउँमा रेल सम्भाव्यता अभ्ययन गर्न एमओयू, मंसिर अन्तिमदेखि जनकपुर–जयनगर खण्डमा रेल चल्ने

कमला अर्याल, काठमाडौं ।  सरकारले नेपाल–भारत अन्तरदेशीय क्रस बोर्डर रेल मार्गको सम्भाव्यता अध्ययन गर्न पाँच स्थानमा भारत सरकारसँग समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेको छ ।

सरकारले न्युजलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–बर्दिबास, नौतनवा–भैरहवा र भारतको नेपालगन्ज रोड–नेपालगन्जमा रेल सम्भाव्यता अध्ययन गर्न एमओयू गरेको हो ।

एमओयू भएका मध्ये न्युजलपाइगुडी–काँकडभिट्टा ४६ किलोमिटर, जोगबनी–विराटनगर १८ किलोमिटर, जयनगर–बर्दिबास ६९ किलोमिटर, नौतनवा–भैरहवा १७ किलोमिटर र नेपालगन्ज रोड–नेपालगन्ज २२ किलोमिटर रहेको रेल विभागले जनाएको छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार एमओयू भएका मध्ये जोगबनी–विराटनगर खण्डमा रेल मार्ग निर्माण लगभग सकिन लागेको छ । त्यहाँ छिट्टै रेल सञ्चालन हुने भएको छ ।

यसैगरी, जयनगर–बर्दिबास खण्डको ३४ किलोमिटर रेल मार्ग निर्माण सम्पन्न भइसकेको छ । बाँकी तीनमध्ये नौतुनवा–भैरहवा तथा नेपालगन्ज रोड–नेपालगन्ज खण्डको फाइनल लोकेसन सर्भे गर्ने काम भइरहेको छ । सो सर्भे नेपालले आफ्नै लगानीमा गरिरहेको छ ।

मंसिर अन्तिमसम्ममा जनकपुरमा रेल आइपुग्ने

यही मंसिरको अन्तिमसम्ममा जनकपुरसम्म रेल आउने पक्का भएको छ । भारतका रेलमन्त्री सुरेश प्रभु तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट रेलको उद्घाटन गरेर औपचारिक रूपमा नेपालमा रेल सेवा सुरु गर्न लागेको विभागले जनाएको छ । भारत सरकारले पुरानो रेलमार्गको स्तरवृद्धिसहित जनकपुर–जयनगर–कुर्थासम्मको रेलसेवालाई २६ मंसिरमा हुने औपाचारिक कार्यक्रमपछि पूर्णता दिने भएको छ ।

सरकारले ७० किलोमिटर लामो जयनगर–जनकपुर–बर्दिबाससम्मको रेलमार्गमध्ये ३५ किलोमिटर निर्माण सकेको छ । जयनगर–कुर्थासम्म असोजभित्रै रेल सञ्चालन गर्ने योजना भए पनि निर्माण कार्य पूरा नभएकाले ढिलाइ भएको हो । सरकारले जयनगर–कुर्थासम्मको निर्माण कार्य सकेकाले सो खण्डको कुर्थासम्म रेलको डिब्बा ल्याएको थियो ।

प्रवक्ता चित्रकारका अनुसार जनकपुरको कुर्थासम्म रेल आए पनि तत्काल सर्वसाधारणले चढ्न भने पाएका थिएनन् । तर मंसिरपछि भने सर्वसाधारणले रेल चढ्न पाउने उनले बताए । अहिलेसम्म मालवाहक रेल मात्रै सञ्चालन भएका थिए ।

यसअघि जयनगरदेखि खजुरीसम्मको साढे ८ किलोमिटर खण्डको परीक्षण सुरु गरिएको थियो । त्यस्तै, रक्सौल हुँदै वीरगन्ज र काठमाडौं जोड्ने १३० किलोमिटर रेलमार्गको प्रारम्भिक अध्ययन पनि सुरु गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।

विभागका अनुसार रेल सञ्चालनका लागि रेलमार्ग तयार भइसकेको भए पनि नेपालसँग तत्काल रेल छैन । त्यसैले, भारतबाट चालक र ब्रोडगेज रेल भाडामा लिएर सञ्चालन गर्न लागिएको हो । भारतको १० अर्ब रुपैयाँ सहयोगमा जनकपुर–जयनगर खण्डको रेलमार्ग निर्माण भइरहेको छ । विभागका अनुसार १० वटा डब्बा तान्ने इन्जिनसहितको रेल भाडामा लिएर सञ्चालन गर्न लागिएको हो ।

नेपालसँग रेल सञ्चालनका लागि दक्ष जनशक्तिसमेत छैन । सरकारले आगामी डेढ वर्षभित्र नेपाली प्राविधिकहरुलाई रेल चलाउन सक्ने गरी तालिम दिई सक्षम बनाउने योजना बनाएको छ । सरकारले रेलको डिब्बा खरिदका लागि बजेटमार्फत ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले आगामी २० वर्षभित्र ४ हजार किलोमिटर रेल सञ्चालन निर्माण गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य पूरा गर्न आगामी १० वर्षभित्र १ हजार ५ सय किलोमिटर र आगामी ५ वर्षभित्र ७५० किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij