काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्थाका २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष भानुभक्त ढकालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । आ.ब. २०७४/७५ को प्रतिवेदन पेश गर्दै सभामा उहाँले समुदायका अति विपन्न महिलाहरुको आर्थिक तथा सामाजिक विकासका लागि लघुवित्त कार्यक्रम सञ्चालन गरेको र हालसम्म ३७५ केन्द्र निर्माण गरी ४ हजार २०६ सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

सभामा अध्यक्ष ढकालले यस वर्षबाट ‘रोयल डेरी’को नामबाट दुग्ध उद्योग सञ्चालन गर्ने जानकारी दिनुभयो । संस्थाले देशभरका कृषि सहकारी तथा कृषक समुहमार्फत उत्पादन भएका कृषि उपजको बजार व्यवस्थापन र वितरणका लागि काठमाडौंमा ‘रोयल कृषि सहकारी बजार’ स्थापना गर्ने योजना रहेको, कृषि पर्यटन, जलश्रोत र प्रशोधन सम्बन्धी उद्योगको सम्भाव्यता अध्ययन, प्रतिफल दिने उद्योग स्थापना गरिने समेत उहाँले जानकारी दिनुभयो । संस्थाले युवा तथा ज्येष्ठ सदस्य सहकारी क्लबको स्थापना, व्यवसायिक लगानीका लागि सदस्य समृद्धि कोष स्थापना र सामाजिक कार्यका लागि सामाजिक सेवा कोष स्थापना गरिने पनि सभामा जानकारी दिइयो । त्यस्तै संस्थाले सदस्य र संस्थाको सहभागितामा विभिन्न साझेदारी व्यवसाय गरिने पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी सदस्यहरुलाई स्वास्थ्य सेवा परीक्षणको व्यवस्था मिलाउने र यसै वर्षबाट एम्बुलेन्स सेवा र सदस्यको निधनमा राहत उपलब्ध गराउने व्यवस्था गर्न लागेको अध्यक्ष ढकालले सभामा जानकारी दिनुभयो ।
सभामा संस्थाका सचिव एवं प्रबन्ध निर्देशक सीताराम काफ्लले रोयलको स्थापनाकालको स्मरण गर्दै आफ्नो अध्ययन पूरा गरेपछि विदेशमा पलायन हुनुभन्दा स्वदेशमा नै रहेर रोजगारी सिर्जना र समुदायको समुन्नतिका लागि संस्था सुरु गरेको बताउनुभयो । धेरै सहकारी हुँदा सेवा र दिगोपनामा समस्या आउने भएकाले एउटै कार्यक्षेत्र भित्रका समान उद्देश्य भएका संस्थासँग बृहत्त एकिकरण गर्ने योजनालाई निरन्तरता दिने उहाँका भनाई थियो । सहकारीको बृहत एकीकरण अभियान अन्तर्गत संस्थाले यस अघि नै दुईवटा संस्थासँग एकिकरण गरिसकेको छ ।

संस्थाले काठमाडौं आसपासका ग्रामीण महिलालाई लक्षित गरी लघुवित्त कार्यक्रम शुरु गरिएको भन्दै प्रबन्ध निर्देशक काफ्लेले यसबाट आबद्ध सदस्हरुको जीवनस्तर उकास्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रोयल लघुवित्त कार्यक्रम नमुना बन्दै गइरहेको भन्दै यस कार्यक्रमलाई अझ् उदाहरणीय बनाउने अभियानमा संस्था लागेको जानकारी दिनुभयो ।

सभामा संस्थाका कोषाध्यक्ष कृष्णकुमार मगरले आव २०७४/७५ को लेखा प्रतिवेदन सभामा प्रस्तुत गनुभएको थियो । सभामा उहाँले गत आवको असार मसान्तसम्म शेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९०० पुगेको, निक्षेप संकलन ४९ करोड ८८ लाख ९५ हजार ९०५ पुगेको जानकारी दिनुभयो । साथै संस्थाले सोही अवधिमा ५१ करोड ४४ लाख ३२ हजार १२७ रुपैयाँ पु¥याएको सभामा उहाँले जानकारी दिनुभयो ।
संस्थाले चालु आबको अन्त्यसम्ममा संस्थाको कुल चुक्ता सेयर पूँजी ५ करोड ५८ लाख पु¥याउने, निक्षेप संकलन ९३ करोड १४ लाख पु¥याउने र ७१ करोड ८७ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

सभामा गत आवको मुनाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश दिने जानकारी पनि दिइएको थियो । सभामा उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट कारोबारी, ज्येष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

काठमाडौंको बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई आफ्नै भवनबाट आधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । यो संस्था सहकारी अभियानकै अग्रणी संस्थाको रुपमा स्थापित छ ।
‘अबको सहकारी सेवा गुणस्तरीय हुनुपर्छ’
साधारणसभाका प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ अबको सहकारी सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको सहकारी अभियानले विस्तारको विभिन्न चरण र क्रमहरु पार गरिसकेकाले अबको सहकारी सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

सभामा सेवामा विशिष्टिकरण ल्याउन सहकारीहरुबीच एकिकरण आवश्यक रहेको उहाँले औंल्याउनुभयो । मुलुकमा ३४ हजार भन्दा बढि सहकारी रहेकाले धेरै सहकारीबाट सदस्यले गुणस्तरीय सेवा पाउन नसक्ने हुँदा अब सहकारीहरुको जोड एकिकरणमै हुनुपर्ने उहाँको भनाई थियो । एकिकरण गर्दा सहकारीहरुको व्यवस्थापकीय क्षमतालाई आधार मानेर गर्नुपर्ने उहाँको सुझाब थियो । सहकारीमा आन्तरिक सुशासन सुदृढ बनाउन सुझाव दिँदै उनले ससानो पूँजी, सीप र क्षमतालाई प्रवद्र्धन गरी सदस्यहरुको समृद्धिका लागि सहकारीले लगानी गर्नुपर्ने बताउनुभयो ।
सभामा उहाँले सहकारी तीनवटै तहमा हस्तान्तरण भइसकेको र त्यसमा पनि स्थानीय तहको भूमिका मुख्य हुने हुँदा स्थानीय तहले अभियानको व्यवस्थापन र प्रवद्र्धनमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
नेपालको संविधानले विशेषतः राज्य पुनर्संरचना, संघीयता र सामाजिक विविधतालाई अंगीकार गरेको र सहकारीमा पनि तीनै वटा कुरा रहेको उनले उल्लेख गर्नुभयो ।
साधारणसभाका विशिष्ट अतिथि एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सहकारीले समाजलाई आर्थिक सामाजिक रुपमा माथि उठाउन सक्ने बताउनुभयो ।
सभामा मुक्तिनाथ विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत तथा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले सहकारीलाई उत्पादन र बजारिकरणसँग जोड्न नसके नेपालीको जीवनस्तर माथि उठ्न नसक्ने बताउनुभयो । महिलाहरुलाई आर्थिक तथा सामाजिक क्रियाकलापमा अगाडि नबढाए समाजको विकास नहुने भन्दै उहाँले सहकारीमार्फत लघुवित्तका कार्यक्रम सञ्चालन गरी महिलाहरुलाई उद्यमशील बनाउनुपर्नेमा उहाँको जोड दियो ।
नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन र ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण गर्न कृषि कम्पनी स्थापना गरेको उहाँले सो सभामा जानकारी दिनुभयो । खर्च गर्ने बानीलाई घटाउने र उत्पादनलाई बढाउने काममा सबै लाग्नुपर्नेमा उहाँले बताउनुभयो ।
सभामा मुक्तिनाथ विकास बैंकका सञ्चालक नारायणकुमार श्रेष्ठलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।