२०८३ साउन १२ मंगलबार

नेपालकै पहिलो आधुनिक नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन आज

ई आर्थिक    सोमबार, साउन ११ २०८३
931
Shares
नेपालकै पहिलो आधुनिक नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन आज

काठमाडौं । नेपालकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

आज बिहान १०ः२५ बजे हुने उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तथा अन्य उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङमार्गभित्र सवारी चलाएर औपचारिक रूपमा आवागमनको शुभारम्भ गर्नेछन्।

पहिलो चरणमा अत्यावश्यक सवारीलाई मात्र अनुमति

उद्घाटनपछि सुरुवाती केही दिन सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालन गरिनेछ। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र प्रवेश दिइनेछ।

सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको परीक्षणपछि क्रमशः सबै वर्गका सवारीसाधनलाई सञ्चालनको अनुमति दिइनेछ। परीक्षण अवधिभर कुनै पनि सवारीसाधनबाट शुल्क नलिइने सडक विभागले जनाएको छ।

सुरुङ प्रयोग गरेपछि यस्तो हुनेछ शुल्क

कुल २,६८८ मिटर लामो सुरुङमार्ग नियमित सञ्चालनमा आएपछि सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ।

  • कार तथा भ्यान : काठमाडौं प्रवेश गर्दा रु ६५, बाहिरिँदा रु ६०
  • मिनीबस, ट्रक र टिपर : काठमाडौं प्रवेश गर्दा रु ११५, बाहिरिँदा रु ८०
  • ठूला बस तथा ट्रक : काठमाडौं प्रवेश गर्दा रु २६०, बाहिरिँदा रु २००

यी सवारीलाई प्रवेश निषेध

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने छैन। साथै पेट्रोल, डिजेल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीलाई पनि प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

अत्याधुनिक सुरक्षा प्रणालीसहितको सुरुङ

आयोजनामा मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुईवटा सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङबाट नियमित सवारी सञ्चालन हुनेछ भने आकस्मिक उद्धारका लागि छुट्टै उद्धार सुरुङ प्रयोग गरिनेछ।

जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस सुरुङमार्गमा सिसिटिभी निगरानी, दमकल सेवा, आकस्मिक उद्धार प्रणाली, सञ्चार सुविधा, सुरक्षा संयन्त्र तथा अक्सिजन आपूर्ति प्रणालीजस्ता आधुनिक सुरक्षा पूर्वाधार जडान गरिएको छ।

एक घण्टासम्म समय बचत हुने अपेक्षा

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर टुङ्गिन्छ।

यो सुरुङ सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो सडकको समस्या कम हुँदै यात्रु तथा सवारीसाधनले करिब एक घण्टासम्म यात्रा समय बचत गर्ने अपेक्षा गरिएको छ।

२७ अर्ब रुपैयाँको लगानी

सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब लगानी रहेको छ।

निर्माण कार्य सुरु गर्दा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारी तथा अन्य प्राविधिक जटिलताका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो। हाल सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्ति परिचालन भइसकेको छ भने विद्युतीय माध्यमबाट शुल्क भुक्तानी गर्ने व्यवस्था पनि मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij