२०८३ साउन ९ शनिबार

सांसदको गुनासो : मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम भयो, बाढीपीडितले राहत पाएनन्

ई आर्थिक    सोमबार, भाद्र ४ २०७५
2.1K
Shares
सांसदको गुनासो : मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम भयो, बाढीपीडितले राहत पाएनन्

काठमाडौँ, ४ भदौ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाउनुभएको छ ।

स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको उहाँहरुको गुनासो थियो ।

करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गर्नुभयो । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उहाँहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । यसरी ध्यानाकर्षण गराउनुहुनेहरूमा सांसद अमरेशकुमार सिंह, उमेश श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

सांसद गगन थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गर्नुभयो भने सांसद आशाकुमारी विक, कृष्णभक्त पोखरेलले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उहाँहरुले आरोप लगाउनुभयो ।

सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको तथा अन्य केही घाइते भएको, जिल्लाभर पहिरोले सयौँ नागरिक विस्थापित भए पनि राहत, पुनःस्थापना र क्षतिपूर्तिको नपाएकोमा गुनासो गर्नुभयो ।
सांसद सिंहबहादुर विश्वकर्माले वर्षाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका अन्तर्गत तादी खोलाको पुल बगाउँदा बिरामी बोकेको एम्बुलेन्स, विद्यार्थी तथा स्थानीय जनतालाई आवतजावतमा समस्या परिरहेको बताउनुभयो । उहाँले अरनिको राजमार्गसम्म पानीको सतह बढेर ठूलो धनजनको क्षति हुने खतरा देखिएको भन्दै बगेको पुलको सट्टामा शीघ्र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बेलीब्रिज राख्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रमेशजङ्ग रायमाझीले तराई–मधेशका किसानले खेतीपातीको समयमा कृषि मल नपाउँदा ठूलो मर्कामा परिरहेको भन्दै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनमा चिकित्सक तथा पत्रकारको असन्तुष्टि रहेकाले उनीहरुको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद बिन्दादेवी आले रानाले आउँदो भदौ १३ र १४ गते काठमाडौँमा हुने बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक)को चौथो सम्मेलन राष्ट्रियसभा गृहमा नगरी सरकारले अन्यत्रै गर्न लागेको सूचना प्राप्त भएको भन्दै त्यसबाट सरकारको ठूलो आर्थिक नोक्सानी हुनेतर्फ सचेत गराउनुभयो । उहाँले सो सम्मेलनमा नेपालको बढ्दो वैदेशिक घाटा र नेपाली वस्तुको भन्सार छुटको विषयलाई प्राथमिकताका साथ राख्न पनि सरकारसँग माग गर्नुभयो ।

सांसद खेमराज नेपालीले गत साउन २९ गते मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित जाँते माविको पिउने पानीमा विषादी हाल्ने दोषीको अहिलेसम्म पहिचान हुन नसक्नु दुःखद् रहेको बताउनुभयो । उहाँले सो घटनाका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्न पनि सरकारसँग माग राख्नुभयो । सांसद नेपालीले यातायात व्यवसायीको एकाधिकार अन्त्य भएको भनिए तापनि जनताले महसुस गर्न नसकेको उल्लेख गर्नुभयो । सांसद युटोल तामाङले गत वैशाख ३० गते मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितले हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij