२०८३ साउन ९ शनिबार

प्रकोप सुरु भएपछि हतार, तटीय क्षेत्रमा बाढीको त्रास

ई आर्थिक    बिहिबार, असार २८ २०७५
1.9K
Shares
प्रकोप सुरु भएपछि हतार, तटीय क्षेत्रमा बाढीको त्रास
जब असारमा आकाशमा बादल मडारिन थाल्छ, सरकारी र सरोकारवाला संस्था तात्न थाल्छन्, रोकथाम र नियन्त्रण कार्य सुरु गरिन्छ

असार २८, २०७५, बुटवल — वर्षभरि सरोकारवाला मौन हुन्छन् । सुक्खा लागेपछि प्रकोपपीडित पनि सेलाउँछन् । मनसुन सुरु नहुन्जेल प्रकोप र त्यसका हानिबारे चर्चा हुँदैन । जब असारमा आकाशमा बादल मडारिन थाल्छ, सरकारी र सरोकारवाला संस्था तात्न थाल्छन् । रोकथाम र नियन्त्रण कार्य सुरु गरिन्छ ।

पश्चिम नवलपरासीस्थित प्रतापपुर ८ फडकी टोलका बासिन्दा एक दशकदेखि बाढीपीडित छन् । सधैं वर्षामा बाढीले घर भत्काउँछ, अन्नपात बगाउँछ, जसोतसो ज्यान जोगाउँछन् । उनीहरूका लागि बाढीले विनाश गरेपछि खाद्यान्न बोकेर पुग्ने संस्थाको भर पर्नुको विकल्प छैन । स्थानीय ७० वर्षीय रामेश्वर चमार राति जाग्राम बस्छन् । बाढी पस्ने चिन्तामा हुन्छन् ।प्रकोप सुरु भएपछि गरिने यस्तो हतारले पीडा कम हुँदैन । वर्षा लागेपछि गरिएका रोकथाम र नियन्त्रण कार्य बाढीसँगै बगेर जान्छन् ।

‘उज्यालोमा बाढी पस्यो भने उद्धार छिटो हुन्छ,’ उनले भने, ‘तर, रातिमा डुबायो भने बालबच्चा र बस्तुभाउ जोगाउनै मुस्किल हुन्छ ।’ उनी फडकी टोलमा बसाइँ सरेर आउँदा डुबानको समस्या थिएन । नहर भएको, नजिकै खोला र उर्वर भूमि भएकाले ४० वर्षअघि यहाँ आएका थिए । खेतीपाती र मजदुरी गरेर परिवार पाल्दै आएका छन् । ०६३ सालमा पहिलोपटक बाढीले उनको घर र सम्पत्ति बगायो । त्यसयता बर्सेनि बाढी पस्न थालेपछि स्थानीय आतंकित छन् । जिल्लाका प्रतापपुर, सरावल, सुस्ता गाउँपालिका बाढी र प्रकोपको उच्च जोखिम क्षेत्र हुन् ।

तिनाउमा आएको बाढीले दुई वर्षअघि बुटवल–देवीनगर हुँदै मोतीपुर जोड्ने झोलुंगे पुल बगायो । स्थानीयका १५ घर बगे । सर्वस्व गुमाएपछि लामो समय उनीहरू सरकारी निकायमा राहतका लागि धाइरहे । कतैबाट सहयोग पाएनन् । चार वर्षअघि बाढीले बिनापाते, हात्तीसुढ, खयरघारी, प्रगतिनगरलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । तर, स्थानीयले राहत पाएनन् । यसपटक पनि वर्षा सुरु भइसक्यो । पानी पर्न थालेपछि तिनाउ किनारका बासिन्दा निदाउन छाडेका छन् । धनजन क्षति भएपछि मात्र राहत तथा उद्धार योजना बनाउने गरिएको छ । ‘असार लागेपछि बाढी रोक्छु भन्नु बजेट भ्याउने मेलो मात्र हो,’ प्रकोप व्यवस्थापन नागरिक अभियानका राष्ट्रिय अध्यक्ष जगन्नाथ कुर्मीले भने, ‘यो राहत दिने कार्यक्रम नै होइन ।’

तिनाउ र दानव नदी दोहनले गहिरिएका छन् । यसले कटान र डुबानको समस्या बढाएको छ । रोहिणी, डन्डा, पहिला, कञ्चन सालझन्डीलगायत खोलामा सधैं बाढी आउने र धनजनको क्षति हुने गर्छ । नदी व्यवस्थापन इन्जिनियर भरतप्रसाद सापकोटाका अनुसार चुरेबाट बग्ने खहरेले वर्षामा भेल लिएर आउने भएकाले खतरा छ । नदीजन्य पदार्थ निकाल्ने, नदी छेकेर बस्ती बसाल्ने, नदी उकास क्षेत्र तथा नहर अतिक्रमण गरेर घर बनाउने गरेकाले प्रभाव नघटेको हो । भरसक वर्षामा नदी किनारमा मान्छे बस्न नदिने गरी योजना बनाउनुपर्ने उनले बताए । रूपन्देहीमा १६ स्थानीय तह छन् । बुटवल, तिलोत्तमा, देवदह र सैनामैनामा चुरेबाट भेल लिएर आउने नदी तथा खोलाले कटान र डुबानको समस्या छ ।

बल्ल विपत् कोष
बाँकेमा गत वर्ष बाढीका कारण विस्थापितको जंगलमै बास छ । चार वर्षअघि घर गुमाएकाहरू राहतबाट वञ्चित छन् । यस वर्ष मनसुन सुरु भइसक्यो । स्थानीय प्रशासन हतारमा विपत् न्यूनीकरण तयारीमा जुटेको छ । तर, कार्ययोजना तयार छैनन् । यस वर्ष १५ हजार घरधुरीका ९० हजार सर्वसाधारण बाढी प्रभावित हुन सक्ने आकलनअनुसार विपत् व्यवस्थापन समिति तयारीमा जुटेको छ ।

यस्तो तयारीले तत्काल पीडितलाई ‘चिउरा भुजा’ बाहेक केही मिल्दैन । समितिले मनसुन पूर्वतयारी भन्दै उद्धार र खाद्यान्नमा जोड दिने गरेको छ । ‘क्षतिको पूर्वानुमान गरेर तयारी गरिरहेका छौं,’ आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी गौरी बुढाथोकीले भने, ‘हाम्रो पहिलो प्राथमिकता उद्धार र खाद्यान्न व्यवस्थापन हो ।’ यस वर्ष स्थानीय सरकारले विपत् व्यवस्थापन समिति गठन गरेर केही बजेट छुट्याएका छन् । विपत् व्यवस्थापन तथा जोखिम न्यूनीकरण ऐन, २०७४ कार्यान्वयन गर्न लागेको स्थानीय सरकारले जनाए ।

नरैनापुरले ३५ लाख, राप्ती सोनारीले ३५ लाख विपत् कोषका लागि छुट्याएका छन् । त्यस्तै खजुराले ५ लाख, बैजनाथले ३० लाख, डुडुवाले ३७ लाख ४० हजार, जानकीले २५ लाख, कोहलपुर नगरपालिकाले ४३ लाख र नेपालगन्ज उपमहानगरले १० लाख कोषमा राखेका छन् ।

तयारी परम्परागत
कपिलवस्तुमा प्रकोप न्यूनीकरणका लागि परम्परागत तयारी छ । जिल्ला विपत् व्यवस्थापन समितिले बैठक बसेर सतर्कता अपनाउने निर्णय गरेको छ । नदी र खहरेले डुबानको जोखिम छ । सीमामा भारतले निर्माण गरेका बाँधले पनि नेपाली भूभाग डुब्ने गर्छ । जोखिम हुँदा पनि त्यसले पुर्‍याउने हानिको विश्लेषण गरिएको छैन । असर पुग्ने क्षेत्र पहिचान गरिएको छैन । पुन:स्थापना योजना छैनन् । ‘हामी सतर्क छौं,’ प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, ‘सबै सुरक्षा निकायलाई अलर्ट गराएका छौं ।’ वाणगंगा, गुडरुङ, सुरई र चिरईको बाढीले खतरा छ । वाणगंगा किनारका दर्जनौं बस्ती जोखिममा छन् । पश्चिम नवलपरासीका तटीय क्षेत्रमा विपत् व्यवस्थापन पूर्वतयारी सुरु भएको छ ।

नारायणी तथा खहरेको बाढीले क्षति पुर्‍याउने सुस्ता, प्रतापपुर, पक्लिहवालगायत क्षेत्रमा जोखिम न्यूनीकरणका लागि तयारी भइरहेको छ । क्षति न्यूनीकरणका लागि नारायणीमा पानीको सतह मापन प्रविधि राखिएको छ । पानीको सतह ८ मिटरभन्दा बढी भएपछि साइरन बज्न थाल्छ । स्थानीय विपत् व्यवस्थापन समिति सहजकर्ता मन्सी गुप्ताका अनुसार पहिले बाढी आउने/नआउने थाहा नपाएर बढी क्षति हुन्थ्यो ।

अहिले पूर्वसूचना मिल्दा राहत महसुस भएको छ । बाढी आउने थाहा पाएपछि स्थानीय आफ्ना महत्त्वपूर्ण सामग्री, बालबच्चा र वृद्धवृद्धालाई समयमै सुरक्षित स्थलमा पुर्‍याउँछन् । बाढीले गत वर्ष ६ सयभन्दा बढी घर पूर्ण क्षति र ३० हजार परिवार प्रभावित भएका थिए । उद्धारका लागि आवश्यक सामग्रीको अभाव भएको जिल्ला प्रशासनले जनाएको छ । नारायणी आसपास क्षेत्र र खहरे तटीय क्षेत्रलाई उच्च जोखिममा राखेर रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

खर्च होइन, जम्मामात्रै
यहाँका १२ वटै जिल्लाको अभिभावक प्रदेश सरकार बल्ल विपत् सुरक्षा योजनाको तयारीमा छ । अहिलेसम्म जोखिम क्षेत्र पहिचान गरिएको छैन । तीन दिनअघि प्रदेशस्तरीय विपत् सुरक्षा गोष्ठी आयोजना गरेको आन्तरिक मामिला मन्त्रालयले एक साताभित्र विपत् सुरक्षा योजना बनाउने तयारी गरेको छ ।

‘अघिल्ला वर्षको अनुभवका आधारमा एक सातामा विपत् सुरक्षा योजना बनाएर राहत र सुरक्षाकर्मीलाई जोखिमयुक्त ठाउँमा पुर्‍याउने योजनामा छौं,’ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले भने । बिहीबार सरकारले प्राकृतिक प्रकोपपश्चातको राहत वितरणसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । त्यसमा प्रकोपबाट व्यक्तिको मृत्यु भएमा तत्काल राहत तथा क्षतिपूर्तिस्वरूप १ लाख रुपैयाँ उपलब्ध गराइने र घाइते भएकालाई समेत सरकारी अस्पतालमा सुरुको नि:शुल्क उपचारमा लागेको खर्च बेहोर्ने उल्लेख छ ।

निर्देशिका नबन्दासम्म यो समेत कार्यान्वयनमा आउने छैन । आन्तरिक मामिला मन्त्रालयका अनुसार प्रदेशका पाल्पा, प्यूठान, रोल्पा र रुकुम पहिरो तथा रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया बाढीको जोखिममा छन् । कार्यविधि नबनाउँदा प्रदेश ५ ले बनाएको १ करोड रकमको विपत् सुरक्षा कोषको रकम जस्ताको तस्तै छ । आन्तरिक मामिला मन्त्रालयका सचिव प्रेम भट्टराईले केही दिनमा कार्यविधि र निर्देशिका बनाएर रकम उपयोग गर्ने बताए ।

तटीय क्षेत्रमा बाढीको त्रास

भवानी भट्ट, कञ्चनपुर — गत साताको वर्षाले महाकाली नगरपालिका–१० आम्भोजको बहेती टोल डुबानमा पर्‍यो । घरभित्र पानी पसेपछि स्थानीयले छतमा रात बिताए । डुबान घटेपछि मात्रै घर पस्न पाए । महाकाली नगरपालिकाकै टापु मानिन्छ, जोगबुढा पारिको कुतियाकभर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीमा महाकालीको बाढीले बगाउँदै गरेको स्पर । तस्बिर : भवानीयहाँ पनि उस्तै समस्या छ ।महाकालीको बाढीले जोगबुढा नदीको निकास बन्द गर्दा यो बस्ती डुबानमा पर्छ ।

बर्सेनिको डुबान र कटानले स्थानीय पिरोलिएका छन् । बस्ती डुब्दा नजिकमा आश्रय लिन सुरक्षित ठाउँकै अभाव छ । आश्रय लिन भारतीय गाउँमा नगई सुख छैन । जोगबुढा नदीमा यसै वर्ष झोलुंगे पुल निर्माण भए पनि पुलको दुवैतर्फ डुबान हुने भएकाले वर्षातमा आउजाउ गर्न कठिन छ । महाकालीमा बाढी आउँदा कुतियाकभरवासीलाई जोगबुढाको पानी बस्तीमा पस्ने डरले सधैं तर्साइरहन्छ ।

महाकाली किनारमा निर्माणाधीन तटबन्धको काम सम्पन्न नभएकाले कहाँबाट नदीको भेल बस्तीमा पस्छ भन्ने चिन्ता सधैं रहन्छ । ‘हामी त जहिल्यै बाढीको त्रासमा हुन्छौं,’ महाकाली नगरपालिका–१० कुतियाकभरकी रीतु सिजापतिले भनिन्, ‘जोगबुढा र महाकाली दुवै नदीको बाढी बस्तीमा पसेपछि भाग्ने ठाउँ पनि हुँदैन ।’

यी दुई बस्ती मात्रै होइनन्, सिंगो महाकाली नगरपालिका डुबान र कटानको उच्च जोखिममा छ । गत वर्ष सम्पन्न तीनवटै तहको निर्वाचन प्रचारका लागि त्यहाँ पुग्ने उम्मेदवारसँग स्थानीयले महाकाली र जोगबुढा नदीमा स्थायी तटबन्ध निर्माणको माग राखेका थिए ।

वर्षाैं पहिले बनेको तटबन्ध पुरानो र जीर्ण भएकाले जतिबेला र जहाँबाट पनि महाकालीको भेल बस्तीमा पस्ने खतरा रहेको स्थानीयले बताए । ‘ठाउँ–ठाउँमा तटबन्ध जीर्ण छ, जतिबेला पनि भत्किन सक्छ,’ महाकाली नगरपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले भने, ‘जोगबुढातिर पनि त्यत्तिकै जोखिम छ ।’ जोगबुढा नदीका कारण बडुवाल टोल, कञ्चभोज र कुतियाकभर बर्सेनि डुबानमा पर्छन् । २०७० मा तटबन्ध भत्काएर महाकालीको बाढी साबिकका दोधारा–चाँदनी गाविसको बस्ती क्षेत्रमा पसेको थियो ।

त्यतिबेला धेरै परिवार विस्थापित भए । फेरि पनि त्यही अवस्था आउन सक्ने भन्दै स्थानीय चिन्तित छन् । महाकाली किनारमा तटबन्ध निर्माण सुरु भए पनि त्यो भरपर्दाे नभएको उनीहरूले बताए । ‘अहिले पनि तटबन्ध निर्माणको काम चलिरहेको छ,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘वर्षातमा निर्माण भइरहेको तटबन्ध कत्तिको दिगो र भरपर्दाे होला ?’

जनताको तटबन्ध कार्यालयले तटबन्ध निर्माण र मर्मतको काम गरिरहेको छ । वैशाखमै काम सकिनुपर्ने भए पनि बजेट अभावले काममा ढिलाइ भएको छ । झोलुंगे पुल नजिक जोखिम बढी भएकाले त्यहींबाट बाढी बस्तीमा पस्ने खतरा रहेको स्थानीयले बताए । ‘झोलुंगे नजिक जोखिम बढी छ,’ स्थानीय टेकबहादुर सुनारले भने, ‘यहाँबाट नदी बस्ती पसेमा सिंगो नगरपालिका डुबानमा पर्छ ।’

महाकालीवारिको भीमदत्त नगरपालिकाका ११, १२ र १३ नम्बर वडा पनि बाढीको उच्च जोखिममा छन् । महाकालीमा बाढी आउँदा यहाँका बासिन्दा त्रसित हुन्छन् । गत सोमबार र मंगलबार आएको बाढीले ओदाली नजिकै तटबन्धको स्पर बगाएपछि त्रास झनै बढेको छ । ‘समयमै मर्मत नगरिए यहींबाट बाढी बस्तीमा पस्ने खतरा छ,’ स्थानीय दीपक विकले भने, ‘तटबन्ध पुरानो भएकाले कटानको जोखिम छ ।’ उक्त क्षेत्रका केही ठाउँमा तटबन्ध निर्माण र मर्मतको काम चलिरहेको छ । वर्षातमा भइरहेको उक्त कामको गुणस्तरीयताप्रति स्थानीय विश्वस्त छैनन् ।

२०७० मा भीमदत्त नगरपालिकाको भुजेला, ओदाली र पिपरैया क्षेत्रमा महाकालीको बाढी पसेको थियो । तटबन्ध भत्काएर बस्तीमा पसेको बाढीले कैयौं परिवारको उठीबास भयो । खेतीयोग्य जमिन कटान गरेर बगर बनायो । त्यतिबेला भारतीय पक्षले पूर्वजानकारीबिना नै धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा रहेका ढोका खोल्दा ठूलो क्षति भएको थियो । गत साता पनि धौलीगंगाको बाँध खोल्ने सूचना पाउँदा नदी किनारका बासिन्दा निकै चिन्तित देखिए ।

प्रहरीले माइकिङ गरी सचेत रहन र सावधानी अपनाउन भनेको थियो । कतिपय तटीय क्षेत्रका बासिन्दा त त्यो राति निदाउनै सकेनन् । ‘धन्न केही क्षति भएन,’ स्थानीय दीपक थापाले भने, ‘अहिले ठूलो क्षति नभए पनि बर्खा बाँकी नै भएकाले बाढी बस्तीमा पस्ने खतरा टरेको छैन ।’

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij