दूधमा कोलिफर्म भेटिएपछि सम्बन्धित उद्योगलाई आवश्यक कारबाही प्रक्रिया सुरु भएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव योगेन्द्र कार्कीले जानकारी दिए । गर्मी मौसममा दूध फाट्छ भनेर सोडा मिसाउने प्रचलन छ ।

यो मौसममा कोलिफर्म पनि बढी नै देखिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले बताए । दूध उमालेर पिउने नेपालीको बानी भएकाले त्यस्तो दूध पिउँदा खासै असर नगर्ने उनको भनाइ छ । उनले भने, ‘कच्चा दूध संकलन, वितरण र पास्चराइजेसनको प्रक्रियासम्म आउँदा कोलिफर्म नस्ट नभई प्याकेजिङ भइरहेको हुन्छ । त्यसैले नियमित उमालेर पिउने गर्दा स्वास्थ्यलाई हानि गर्दैन ।’
काठमाडौं उपत्यकामा दैनिक करिब चार लाख लिटर दूधको खपत हुने नियमनकारी निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार दुग्ध विकास संस्थान (डिडिसी)ले सबैभन्दा धेरै एक लाख लिटर आपूर्ति गर्छ ।
तीन उद्योगको दूधमा कोलिफर्म भेटिएन
विभागको रिपोर्टअनुसार बालाजुमा रहेको सुलभ कृषक डेरीको सुलभ ब्रान्डका दूधमा भने कोलिफर्म भेटिएको छैन । २७ जेठमा उत्पादन भएको सुलभको रातो र निलो प्याकेटको दूध परीक्षण गर्दा कोलिफर्म नभेटिएको हो । त्यस्तै सोही दिन उत्पादन भएर गायत्री ब्रान्डमा बजार पुगेको खरिपाटी डेरी, भक्तपुरको दूधमा पनि कोलिफर्म भेटिएको छैन ।
डिडिसीकै उत्पादनमा कोलिफर्म
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)का सबै उत्पादनमा हानिकारिक कोलिफर्म भेटिएको छ । विभागको रिपोर्टअनुसार डिडिसीको काउ मिल्क, फुल क्रिम मिल्क, स्ट्यान्डर्ड मिल्क, एसटिडी मिल्क, टी मिल्कमा कोलिफर्म फेला परेको हो ।
दूध उमालेर पिउँदा कोलिफर्मले हानि गर्दैन
प्रह्लाद दाहाल, महासचिव, नेपाल डेरी एसोसिएसन
तीन वर्षअघि देखिएको समस्या अहिले फेरि औँल्याउने काम भएको छ । संसाभरका दूधमा कहीँ पनि शून्य कोलिफर्म हुन सक्दैन । त्यस्तै सबै प्रकारका कोलिफर्म हानिकारक हुन्छन् भन्ने पनि छैन । सरकारले कुन कोलिफर्म कति मात्रामा छ भन्ने पुष्टि गरेको छैन । आम नेपालीले उमालेर मात्र दूध उपभोग गर्ने भएकाले अहिले देखिएको कोलिफर्मले खासै समस्या हुँदैन । सरकार र निजी क्षेत्रले एक अर्कालाई दोष दिनेभन्दा पनि दीर्घकालीन समाधानको उपाय खोज्नु आवश्यक छ ।
अहिले देशभर ५–७ हजार ठाउँबाट दूध संकलन हुन्छ, तर करिब ५० ठाउँमा मात्र चिस्यान केन्द्र छन् । अहिले वर्षा लागेकाले बाटो हिलो हुने र छोटो बाटोसमेत दिनभर यात्रा गरेर उद्योगमा आउनुपर्ने अवस्था छ ।
सबै कोलिफर्म हानिकारक हुँदैनन्
डा. शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
कोलिफर्म मानिस तथा जनावरको दिसामा पाइने जीवाणु हो । यो जीवाणु बाहिरी वातावरणमा पनि पाइन्छ । सबै कोलिफर्म हानिकारक हुँदैनन् । कोलिफर्म ब्याक्टिेरियाका इ.कोलीलगायतका प्रजाति निकै हानिकारक हुन्छन् । त्यसले वान्ता गराउने, झाडापखाला लाग्ने, युरिन इन्फेक्सन गराउने गर्छ । दूधमा पाइएको कोलिफर्म हानिकारक हो–होइन त्यो पनि छुट्याइदिएको भए हुन्थ्यो । कोलिफर्म भन्नेबित्तिकै सबै हानिकारक हुन्नन् ।
नयाँ पत्रिकाबाट